पेरूसँग कोलम्बिया स्तब्ध
रियो दी जेनेरियो : कोलम्बिया कोपा अमेरिका फुटबलमा पेरूसँग स्तब्ध बनेको छ। प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा पेरूले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो।
सोमबार बिहान भएको खेलमा पेरूलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गरे। अर्को गोल पेरूले कोलम्बियाबाट आत्मघाती रूपमा उपहार पाएको थियो। कोलम्बियाका एर्री मिनाले आफ्नै पोस्ट्मा गोल गरेका थिए। कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्।
खेलको १७औं मिनेटमा पेनाले गोल गर्दै पेरूलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ५३औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा फर्काएका थिए। त्यसपछि ६४औं मिनेटमा कोलम्बियाका एर्री मिनाले आत्मघाती गोल गरेपछि पेरू २–१ ले विजयी भयो।
यस जितसँगै समूह ‘ए’ मा रहेको पेरूले दुई खेलमा तीन अंक जोडेको छ। पेरू समूहको तेस्रो स्थानमा छ। कोलम्बियाले भने तीन खेलमा चार अंक जोडेको छ। पहिलो हार बेहोरेको कोलम्बिया दोस्रो स्थानमा छ। यसअघिका दुवै खेलमा जित निकालेको ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा छ।
यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। भेनेजुएलाका एडसन क्यास्टिलो र रोनाल्ड हर्नान्डेजले एक÷एक गोल गरेका थिए। यस्तै इक्वेडरका इडुअर प्रिसिडो र गोन्जालो प्लाटाले एक÷एक गोल फर्काए।
बराबरीसँगै चौथो स्थानको भेनेजुएलाले तीन खेलबाट दुई अंक जोडेको छ। पुछारमा रहेको इक्वेडरले दुई खेलमा एक अंक मात्रै जोड्न सकेको छ।
प्रतिक्रिया दिनुहोस !