डेभिड लिन्च र ध्यानको रचनात्मक शक्ति
चलचित्र निर्माणको क्षेत्रमा विश्वमा सबैभन्दा परिचित ठाउँं र मनोरञ्जनको केन्द्र हलिउडले विगत केही वर्षयता एउटा अर्को अलि फरक विषयमा समाचारहरूको ठाउँं ओगट्न थालेको छ। हलिउडमा नाम चलेका कलाकारदेखि लिएर निर्माता र निर्देशकहरूको पूर्वीय आध्यात्मिक संस्कारमा आधारित ध्यानको अभ्यास। कतिपय हलिउडका ‘सेलिब्रिटी’हरूले ध्यानलाई आफ्नो जीवनशैलीमा समावेश मात्र गरेका छैनन् कि ध्यानले हाम्रो शारीरिक, मानसिक, आध्यात्मिक र रचनात्मक शक्तिमा ल्याउने सकारात्मक परिवर्तनका बारेमा जनचेतना फैलाउन अभियान नै छेडेका छन्। तिनैमध्ये एक हुन् डेभिड लिन्च।
हलिउडको सिनेमा क्षेत्रमालिन्च प्रसिद्ध नाममध्ये एक हो। सन् १९४६ मा जन्मिएका लिन्च अमेरिकी चलचित्र निर्देशक, निर्माता, चित्रकार, कलाकार, संगीतकार र लेखक पनि हुन्। बहुमुखी प्रतिभाका धनी लिन्चका सिनेमाहरूले चलचित्र जगत्मा अत्यन्तै प्रतिष्ठित मानिने विभिन्न पुरस्कार प्राप्त गरिसकेको छ। अंग्रेजी भाषाको सर्वोत्कृष्ट फिल्मका रूपमा उनका चलचित्रहरू क्यान्स फिल्म फेस्टिवल, पाल्मे डोर र भेनिस फिल्म फेस्टिभलहरूमा प्रदर्शन भइसकेका छन्। सन् २००७ मा लोकप्रिय बेलायती पत्रिका द गार्जियनले विश्वभरका चलचित्र समीक्षकहरूको छलफलबाट निकालेको निष्कर्षका आधारमा लिन्चलाई डेभिड लिन्च वर्तमान समयको सबैभन्दा महत्वपूर्ण फिल्म निर्देशक भनेर घोषणा गरेको थियो। फिल्म समीक्षकहरूको अर्को एउटा समूह आधुनिक अमेरिकी फिल्म निर्माणमा ‘रेनेसां म्यान’ अर्थात्अद्वितीय सिर्जना क्षमता भएको मानिस भनेर घोषणा गरेको थियो। उनका फिल्मी कृतिहरूलाई सिनेमाको
इतिहासमा ‘पहिलो लोकप्रिय अतियथार्थवादी’ अभियानका अग्रदूत भनेर पनि नामाकरण दिइएको छ।
सन् १९७३ देखि लगातार हरेक दिन ध्यानको अभ्यास गर्ने गरेका आजको दिनमा सम्भवतः ध्यानको आध्यात्मिक अभ्यास र सिर्जनात्मक शक्तिबीचको सम्बन्धबारे विश्वव्यापी वकालत गर्ने सेलेब्रिटीमध्ये एक हुन्। हुन त डेभिड लिन्चबाहेक हलिउडका परिचित हस्तीहरूमा जुलिया रोबर्ट्स, एक्स–म्यान सिरिजका अभिनेता ह्यू ज्याक्मान, अन्जेलिना जोली, रोबेर्ट डाउनी जुनियर, म्याडोना, नाओमी वाट्सलगायत धेरै ध्यानलाई आफ्नो दैनिक जीवनको अभिन्न अंग बनाएका छन्। ध्यानको सन्दर्भमा लिन्चले एकपटक भनेको भनाइले उनले ध्यानलाई कति गम्भीरतापूर्वक लिएका रहेछन् भन्ने स्पष्ट पार्छ। ‘ध्यान भनेको सोचभन्दा पर शुद्ध चेतनाको स्रोतमा भित्रैबाट सम्पूर्ण रूपमा डुबुल्की मार्नु हो। यसले हाम्रो चेतनाको क्षितिजलाई फराकिलो बनाउँछ र जब तपाईं यो अनुभूतिबाट बाहिर निस्कनुहुन्छ। तपाईं आफूलाई ऊर्जाशिल र जीवनका लागि उत्साहले भरिएको पाउनुहुन्छ।’
सन् १९७३ देखि आजपर्यन्त दिनमा दुईपटक २० मिनेट ध्यानको अभ्यास गर्न नछुटाएका लिन्चले भनेका छन्। उनी थप्छन्,‘ध्यानको अनुभव मेरा लागि यति सुन्दर छ, यो शक्तिशाली, अनन्त, अमर, अपरिवर्तनीय र असीम पनि त्यत्तिकै छ।’ विश्व सिनेजगत्कै सिर्जनशील अन्वेषकमध्येको एक मानिएका लिन्च ध्यानको अभ्यासले हामीभित्रको रचनात्मक शक्तिलाई बाहिर ल्याउन मद्दत गर्ने बताउँछन्। लिन्च आफ्नो अद्वितीय सिर्जनशील क्षमता अनन्य भएको तर्कलाई अस्वीकार गर्छन् र हरेक मान्छेमा सुषुप्त अवस्थामा रहने गरेकोमा ध्यानको अभ्यासले त्यो शक्ति सतहमा ल्याउन सहायक हुने विचार राख्छन्।‘ट्रान्सेन्डेन्टल ध्यान’का नियमित अभ्यासकर्ता लिन्च आफ्नो अभ्यासका क्रममा जति आफूभित्रको चेतनाको जति गहिराइमा पुग्यो। त्यति नै आफूभित्रको रचनात्मक स्रोत समाउन सक्ने उनको बुझाइ छ। अंग्रेजी शब्द ‘ट्रान्सेन्ड’बाट आएको शब्दावली ‘ट्रान्सेन्डेन्टल ध्यान’को मिल्दोजुल्दो अर्थ ‘ज्ञानातीत ध्यान’ हुन्छ। जसको सुरुआत भारतीय गुरु महर्षी महेश योगीले सन् १९५५ मा गरेको मानिन्छ।
छोटकरीमा टीएम भनेर चिनिने ‘ट्रान्सेन्डेन्टल ध्यान’ महर्षी महेशले आफ्ना गुरु ब्रह्मानन्द सरस्वतीबाट सिकेका हुन्। भागवत गीता, बौद्ध परम्परा र वेदान्त दर्शनबाट प्रेरित टीएम ध्यान पतन्जलीको योगसूत्रमा आधारित छ। सन् १९६८ मा लोकप्रिय बेलायती सांगीतिक समूह द बिटल्स भारतको ऋषिकेशस्थितमहर्षि महेश योगीको आश्रममा ट्रान्सन्डेन्टल मेडिटेसन (टीएम) प्रशिक्षण कोर्समा भाग लिन आएपछि विश्वभरका सञ्चारमाध्यमको ध्यान तानेको थियो। बिटल्सले लागूपदार्थको निर्भरता त्यागेर त्यो समयको विश्वकै सबैभन्दा प्रसिद्ध सांगीतिक समूहको ऋषिकेश यात्रा र महर्षी महेश योगीसितको संसर्गले पश्चिममा पूर्वीय आध्यात्मिकता र ध्यानको अभ्यासका बारे सोच बदल्न र ध्यानकोे सकारात्मक पक्षलाई स्विकार गर्न ठूलो भूमिका खेलेको थियो। त्यसमध्ये एक थिए, डेभिड लिन्च। ध्यान जस्तो आध्यत्मिक अभ्यास र मान्छेको रचनात्मक शक्तिबीचको सम्बन्धबारे सकारात्मक विचार राख्ने र यो विषयको वकालत गर्नेमा लिन्च एक्लै पक्कै छैनन्।
सन् २०१७ मा हार्वर्ड विश्वविद्यालयले गरेको एउटा अध्ययनअनुसार गुगल, गोल्डम्यान स्याक्स र मेडट्रोनिकजस्ता अग्रणी कम्पनीले आफ्ना कार्यकारी र कर्मचारीहरूमा ध्यानको अभ्यासले शान्त र स्थिर मात्र नभै तनाव घटाउन उपयोगी भएको रचनात्मक शक्ति पनि वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको थियो। जुन हार्वर्डको बिजिनेस रिभ्युमा पढ्न सकिन्छ। कामको प्रकृति रफ्तारले बदलिँदै गरेको आजको वास्तविकतामा समस्याहरूको समाधानको खोजी र नयाँ अन्वेषणहरूलाई अँगाल्न १० मिनेटको ध्यान अभ्यासले सम्भावनाका नयाँ ढोकाहरू खोल्न सहयोग गर्ने रिपोर्टमा उल्लेख छ। बालबालिकामाझ अति लोकप्रिय मिकी माउस र डोनाल्ड डकको रचनाकार कम्पनीवाल्ट डिस्नेले आफ्ना कर्मचारीका लागि कार्यस्थलमै ध्यानको प्रावधान गर्ने नीति अंगीकार गर्यो। परिणामहरू सकारात्मक भएको तथ्य सार्वजनिक गर्यो। ध्यान अभ्यासमा भाग लिएका कर्मचारीको सिर्जनशिलतामा उल्लेखनीय वृद्धि भएको समस्याहरूको समाधान गर्ने क्षमता पनि बढेर गएको वाल्ट डिज्नीको निष्कर्ष रह्यो।
प्रविधिको संसारमा आजको दिनमा नयाँ–नयाँ आविष्कार र वैज्ञानिक चमत्कारहरू हुने ठाउँं अमेरिकाको सिलिकन भ्यालीलाई लिऔं। आईफोन र म्याक कम्प्युटर उत्पादन गर्ने एप्पल, सामाजिक सञ्जाल फेसबुक र सर्च इन्जिन गुगलको मुख्यालय रहेको सिलिकन भ्याली विश्वको नवीनताका लागि केन्द्रको रूपमा चिनिन्छ। आफ्नो आविष्कारले आईफोन, फेसबुक र गुगलले जस्तै कुनै दिन प्रविधिको संसारमा क्रान्ति ल्याओस् भन्ने महत्वाकांक्षी सपना बोकेर सिलिकन भ्यालीमा दिनदिनै सिर्जनशीलहरू पुग्छन्।रेनेसां युगमा इटालीको फ्लोरेन्सजस्तै आधुनिक समयको सिर्जनशील र नवप्रवर्तनको केन्द्र सिलिकन भ्यालीका कम्पनीहरूले ध्यान सत्र र ध्यानका गुरुहरूसित ध्यानका रिट्रिटहरू अब नियमित प्रकृयाजस्तै भइसके। सिलिकन भ्याली नजिकैको सान फ्रान्सिस्को सहरबाट सुरु भएको सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक र प्रमुख कार्यकारी ज्याक डोर्सेले वार्षिक रूपमा १० दिने विपश्यना ध्यान गर्ने गरेको २०१८ मा सार्वजनिक गरेको थियो। ट्रान्सेन्डेन्टल ध्यानमा आफूलाई दिइएको मन्त्रमा एकाग्र भएर गरिन्छ तर बौद्ध परम्परामा आधारित आर्य मौनसहितको ध्यान विपश्यना अझै कठिन मानिन्छ।
तरआफूमा रचनात्मक शक्ति र सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने धेरैको अनुभव छ।रचनात्मक प्रतिभाको दुर्लभ क्षमता केही सीमित व्यक्तिहरूमा प्राकृतिक उपहारका रूपमा मात्र हुन्छ भन्ने परम्परागत सोच संसारभर पाइन्छ। हिंसात्सक प्रवृत्ति,बिध्वंसात्मक मानसिकता, दुव्र्यसनीजस्ता नकारात्मक जीवनशैलीलाई ध्यान र योगजस्ता आध्यात्मिक अभ्यासहरूले मानिसलाई सहयोग गरीसही मार्गमा हिँड्न सहयोग गरेको सुनेदेखेकै छौं। विज्ञान र प्रविधिले अधिकांशको जीवनलाई सहज र केही हदसम्म बिलासितापूर्ण बनाएको आजको यथार्थभित्र हामीमध्ये धेरैलाई आधुनिक बन्ने होडमा धेरै किसिमका तनाव थपिदिएको छ। जस्तै कोरोना महामारी। जीवनमा अप्रत्यासित रूपले कोरोनाले दिएको पीडा र अनिश्चितताको कालो बादलको कुनै लेखाजोखा नै छैन। कतिपयले कोरोनाको यो असामान्य अवस्थामै ध्यानको अभ्यासभित्र स्थिर आश्रय भेटाएको हामीले सुन्यौं र देख्यौं।
वर्तमान समयको सबैभन्दा लोकप्रिय पुस्तकहरूको रचना गर्ने इजरायली इतिहासकारयुवल नोह हरारी हुन् या लिन्कडइन सामाजिक सञ्जालका प्रमुख कार्यकारी जेफ वेइनेर, अमेरिकी टेलिभिजनकी प्रसिद्ध प्रस्तोता ओप्रा विन्फ्रेदेखि कलाकार क्याटी पेरी सबैले आफ्नो व्यावसायिक जीवनको सफलता र सिर्जनशिलतामा ध्यानको हात रहेको बताएका छन्। डेभिड लिन्चले आफ्नै उदाहरणमार्फत आफ्नो लगभग पचास वर्षको दैनिक अभ्यास र लिन्चको सिर्जनशील क्षमतामा ध्यानले पारेको सकारात्मक प्रभावबारे संसारलाई बुझाउन् प्रयत्न गर्दैछन्। ध्यानको माध्यमले आफ्नो जीवनमा आएको अकल्पनीय सकारात्मक परिवर्तनले प्रेरित लिन्च अहिले आफ्नै गैरनाफामूलक संस्था डेभिड लिन्च फाउन्डेसनमार्फत विश्वभर ससाना बालबालिकाहरूलाई ध्यानको प्राचीन अभ्यास सिकाउँदैछन्। विज्ञान र स्नायुचिकित्साले पनि हरेक दिन नयाँ नयाँ प्रमाणसहित ध्यानभित्रको रचनात्मक शक्तिलाई पुष्टि गरेको वास्तविकताभित्र सत्यता त पक्कै होला।