२ बुद्धका मूर्ति स्थापना

२ बुद्धका मूर्ति स्थापना

बुटवल : कपिलवस्तुमा जन्मिएका दुई बुद्धको प्रतिमा स्थापना गरिएको छ। कपिलवस्तुको गोटिहवामा क्रकुछन्द बुद्ध र निग्लिहवामा कनकमुनि बुद्धको पूर्णकदको मूर्ति स्थापना गरिएको हो। कपिलवस्तुमा जन्मिएका यी बुद्धको पूर्णकदको सालिक संसारमै पहिलो पटक बनाइएको हो।

शाक्यमुनि बुद्धका कैयौं मूर्तिहरू विश्वभर छरिए पनि यी बुद्धको मूर्ति बनेका थिएनन्। लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक स्थललाई पर्यटकीय गन्तव्य बनाउने योजनासहित दुई बुद्धको मूर्ति स्थापना गरेको हो। बुद्धमूर्ति स्थापना भएका स्थानमा बगैंचासमेत निर्माण गरिएको छ। 

प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्रालयले निग्लिहवामा मूर्तिसहित पार्क निर्माणका लागि ८७ लाख खर्च गरेको छ। मूर्तिकार गोविन्दप्रसाद चौधरीले पित्तलको मूर्ति बनाएका हुन। कनकमुनि बुद्ध मूर्तिको मूल्य १६ लाख ५० हजार रहेको छ।

प्रदेश सरकारले निग्लिहवाको अशोक स्तम्भ नजिकै पर्यटकीय पार्क निर्माण गरेर मूर्ति स्थापना गरेको हो। अरौराकोटमा बनेको सो पार्क निर्माणमा ७१ लाख ५५ हजार खर्च गरिएको छ।

 

कपिलवस्तु बौद्ध स्मारकको खुला संग्रहालय रहेको र यसको प्रवद्र्धनका लागि दुई बुद्धहरूको मूर्ति स्थापना गरिएको उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले बताइन्। ‘प्रदेश सरकार, पुरातत्त्व विभाग, स्थानीय सरकार सबै मिलेर यसको उत्खनन र विकासमा काम भइरहेका छन्, उनले भनिन्,– ‘यी पुरातात्त्विक क्षेत्रमा पर्यटकको चहलपहल बढाउने योजना प्रदेश सरकारको छ।’

निग्लिहवामा भाँचिएको अवस्थामा अशोक स्तम्भ रहेको छ। सोही प्रमाणका आधारमा यो क्षेत्रमा कनकमुनि बुद्ध जन्मिएको भनिएको हो। अहिले अशोक स्तम्भबाहेक निग्लिहवामा कुनै हेर्न लायक क्षेत्र नभएपछि पार्कसहित मूर्ति निर्माण भएको छ। कपिलवस्तु वन डिभिजन कार्यालयले दुवै स्थानमा २२ जातका बिरुवा रोपेर बगैंचा निर्माण गरेको छ। 

बौद्ध धर्मग्रन्थमा उल्लेख गरिएका २८ बुद्धमध्ये शाक्यमुनि अन्तिम बुद्ध हुन्। क्रकुछन्द २५औं र कनकमुनि २७औं बुद्ध मानिन्छन्। बुद्धहरूका सम्बन्धमा स्वयं गौतमबुद्धहरूले नै चर्चा गरेका प्रसंग त्रिपिटकहरूमा पाइन्छ। कनकमुनि बुद्धको नाम मौर्य सम्राट् अशोकले राखेको अभिलेखसहितको स्तम्भ निग्लिहवामा छ। अशोक ईशापूर्व २४९ मा प्राचिन कपिलवस्तु आएका थिए। गोटिहवामा शिलास्तम्भ रहे पनि त्यसमा अभिलेख छैन्। बौद्ध अध्ययताका अनुसार चिनियाँ यात्री फाहियान र ह्वेनसाङले त्यो क्षेत्रलाई क्रकुछन्द बुद्धको जन्मस्थल भनेर आफ्नो यात्रा वृत्तान्तमा उल्लेख गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दुवै मूर्तिको शनिबार अनावरण गरेका हुन्। मुख्यमन्त्री पोखरेलले प्रदेशको दीर्घकालीन आर्थिक विकास पर्यटन र उद्योग क्षेत्र भएको भन्दै पर्यटकीय क्षेत्रलाई मनमोहक बनाउन सरकारले काम गरिरहेको बताए। ‘स्थानीयमा जागरुकता आयो भने मात्रै यी पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन हुन्छ, उनले भने,– ‘संरक्षण गर्ने, प्रवद्र्धन गर्ने र लाभ लिने काम नै स्थानीयस्तरबाट हुनुपर्छ।’

दुई बुद्धको मूर्ति स्थापनाले प्राचिन इतिहासको खोजी हुने र पर्यटक विकासमा योगदान पुग्ने विश्वास प्रदेश सरकारले गरेको छ। कपिलवस्तुमा गौतमबुद्ध स्थल तिलौराकोट, कुदान, गोटिहवा, निग्लिहवासहितका स्थानलाई विशेष महत्त्व दिएर पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइएको छ। कपिलवस्तुमा मात्रै पुरातात्त्विक महत्वका दर्जनौं स्थानहरू रहेका छन्। तिलौराकोटबाहेक अन्य स्थलको उत्खनन् भने हुन सकेको छैन।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले बुद्ध स्थलहरूको पहिचान, उत्खनन, प्रवद्र्धन र बौद्ध शिक्षाको विकासमा सबैले जोड दिनुपर्ने बताउँछन्। ‘बुद्धले दिएका पञ्चशीलको मात्रै अवलम्बन भए यी स्थलहरू संरक्षित हुन्छन, शान्ति प्राप्ति हुन्छ, उनले भने। मूर्ति स्थापनामा बौद्ध भिक्षु र लामाहरूले मन्त्रोच्चारण गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.