हिलपार्कमा विशाल बुद्ध

हिलपार्कमा विशाल बुद्ध

बुटवल : लुम्बिनी आसपासको क्षेत्रलाई बौद्ध संस्कृतिमय बनाउने लक्ष्यसहित बुटवलमाथिको हिलपार्क डाँडामा झण्डै एक अर्ब लागतमा विशाल बुद्ध मूर्ति स्थापना गर्ने योजना अघि बढेको छ। 

लुम्बिनीसँग बुटवल र आसपासको क्षेत्रलाई जोड्न र रुपन्देही क्षेत्रलाई नै बुद्धमय बनाउने योजनासहित बुद्ध मूर्ति निर्माणको परिकल्पना गरिएको हो।

बुटवल माथिका दुई पहाडमा केबलकार निर्माण सुरु भइसकेका छन्। तीन पहाडमध्ये हिलपार्कमा बुद्ध मूर्ति तथा नुवाकोट र बसन्तपुरमा केवलकारमार्फत पर्यटक पुर्‍याउने योजना छ। ध्यानकेन्द्र सहितको बुद्ध मूर्ति अवलोकनमा दैनिक तीन हजार पर्यटक आउने अपेक्षा गरिएको छ।

लुम्बिनी परिपथसँग जोडिने गरी ३५ मिटर अग्लो बुद्ध मूर्ति बनाउने योजना अगाडि सारिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। योजनाको डीपीआर निर्माण भइसकेको भन्दै सुवेदीले कोरोना महामारीका कारण अरू प्रक्रियामा केही बिलम्ब भएको बताए।

यो बुद्ध मूर्तिका लागत ८६ करोड ८० लाख ९२ हजार २ सय ८८ रुपैयाँ छ। पार्कको दोस्रो ब्लकमा तीन तले ‘मंक रेसिडेन्स’ अर्थात् भिक्षुगृह बनाइनेछ। यसको अनुमानित लागत ३ करोड ६७ लाख ३४ हजार ८ सय ७ रुपैयाँ रहेको छ। 

पार्कको तेस्रो ब्लकमा एक तले क्याफेटेरिया र चौथोमा एक तले शौचालय बनाइनेछ। यी दुई संरचनाको अनुमानित लागत क्रमशः ६७ लाख १४ हजार ६ सय ४३ रुपैयाँ र  ३२ लाख ५८ हजार १ सय ८८ रुपैयाँ रहेको छ।

यी बाहेक पार्कमा टेलिकम्युनिकेसन, सरसफाइ तथा ढल प्रणाली, पानी आपूर्तिलगायतका संरचना बन्नेछन्, जसको अनुमानित खर्च ४ करोड ८९ लाख १ हजार ३ सय ४७ रुपैयाँ छ। बुद्ध पार्कको निर्माण सम्पन्न भएपछि दैनिक नियमित रूपमा हुने पूजाआजा, ध्यान तथा मेडिटेसनको साथै अवलोकनका लागि आउने आगन्तुकहरूसमेत गरी दैनिक करिब तीन हजारभन्दा धेरै मानिसको आवत–जावत हुने उपमहानगरको आँकलन छ। 

बुद्ध मूर्ति निर्माणको अध्ययनमा ललितपुरको मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्टले काम गरिरहेको छ। कन्सल्टेन्सीका अनुसार बौद्ध दर्शनका विज्ञ डा.विजयराज बज्राचार्य र देश विदेशमा बुद्धका प्रतिमा र अन्य विभूतिहरूका समेत मूर्ति बनाएर ख्याति कमाएका मूर्तिकार राजकुमार शाक्यको राय तथा सल्लाहमा बौद्ध मान्यता अनुसारको प्रतिमा निर्माण गर्न डीपीआर बनाइएको हो। बुद्धका प्रतिमा कहीँ पनि आफूखुसी निर्माण गर्न र राख्न पाइँदैन। उपमहानगरले भने बौद्ध मान्यताअनुसारका सबै प्रक्रिया पूरा गरेर परिपक्व काम गरेको छ। 

पाँच वर्षभित्र निर्माण सक्ने योजना बनाइएको छ। संघीय सरकार र प्रदेश सरकारले यो योजनामा काम गर्ने गरी तयारी भएको छ। तीनवटै सरकारको योजनामा बुटवलको ड्रिम प्रोजेक्ट तयार हुने उपमहानगर प्रमुख सुवेदीले बताए।

परामर्शदाताले दिएको दुई विकल्पमध्ये पहिलोमा बुद्धप्रतिमाको अनुहारमा मात्रै सुनको जलप लगाउन सकिन्छ। दोस्रोमा भने प्रतिमाको पूरै भागमा सुनको जलप लगाउन सकिन्छ। आयोजनाका उपलब्ध हुने स्रोत सुनिश्चिततालाई हेरेर आयोजनाको कुन विकल्पमा जाने भन्ने निधो गरिने उपमहानगरका प्रमुख सुवेदीको भनाइ छ। 

बुटवललाई बुद्धावलीको ऐतिहासिक क्षेत्र मानिन्छ। बुद्धावलीको पहिचान बढाउने प्रयास स्वरूप हिलपार्कमा बिग बुद्धपार्क बनाउन लागिएको हो। यसका साथै बुटवलले सडकको बीच डिभाइडरहरूमा सुरक्षा प्रवन्धसहित ससाना बुद्ध प्रतिमा राख्ने तयारी गरेको छ। बुद्ध र लुम्बिनी पर्यटकीय हिसाबले ‘क्यास’ गर्न सकिने, पर्यटन उद्योगको केन्द्र र ऐतिहासिक पुँजी भएको र बुटवलको ऐतिहासिकता लुम्बिनीसँग सीधा जोडिएकाले बुद्धमूर्ति बनाउने योजना प्रस्ताव गरिएको नगरप्रमुख सुवेदी बताउँछन्।

अहिले तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले सडकमा बुद्ध मूर्ति राखेका छन्। यसो गर्दा लुम्बिनी क्षेत्र आसपास सबै बुद्धमय हुने र पर्यटक आकर्षित हुने विश्वास स्थानीय सरकारको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.