जबरजस्ती करणीको झुठा जाहेरी दिँदा...

जबरजस्ती करणीको झुठा जाहेरी दिँदा...

पोखरा : त्यस दिन दिउँसो ४ बजेतिर प्रहरी कार्यालयमा फोन आयो। प्रहरीलाई एक महिलाले रुँदै भनिन्, ‘ममाथि जबरजस्ती भयो।’ प्रहरी तत्काल उनको घर पुग्यो। महिलाले आफूलाई जबरजस्तीको प्रयास गरेको आरोप लगाएका पुरुषलाई पक्राउ गर्‍यो। प्रहरीमा ती महिलाको जाहेरी पनि पर्‍यो। प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा हाल्यो। ती आरोपित पुरुषलाई अदालतले अनुसन्धानका लागि कारागार पनि पठायो। 

२०७६ साल असार २४ गते त्यसरी पक्राउ परेर जेल गएका पुरुष भने त्यसै साल कात्तिकमा छुटे। यो साता भने ती महिलालाई पक्रेर प्रहरीले जेल पठाएको छ। भएको के थियो भने अदालतले ती महिलाले पुरुषविरुद्ध झुठा जाहेरी दिएको ठहर्‍याएको थियो। उनको जाहेरीको आधारमा जेल परेका ४९ वर्षे पुरुष अदालतको २०७६ साल कात्तिक ४ गतेको निर्णयपछि छुटेका थिए। महिला आफ्नै घरतिर थिइन्। गत महिना, असार २८ गते भने प्रहरीले उनलाई पक्रेको हो। 

कास्की अदालतका न्यायाधीश काजीबहादुर राईको इजालासले ती महिलालाई एक महिना कारागार सजायको फैसला सुनाएको थियो। फैसलापछि महिला फरार सूचीमा थिइन्। प्रहरीले फरार सूचीका प्रतिवादी खोज्ने क्रममा पक्रेर उनले भुक्तान गर्न बाँकी रहेको जेल सजायका लागि जेल पठाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवा हमाल बताउँछन्।  

सर्वाेच्च अदालतबाट जारी विशेष प्रकृतिका मुद्दाहरूको कारबाही गोपनियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका २०६४ अनुसार ती जाहेरवाला महिलाको वास्तविक नाम अदालतको फैसलामा उल्लेख छैन। परिवर्तित भनेर ‘पोखरा ११२’ नाम दिइएको छ। 

पोखरा ३२ खुदीखोला बस्ने ती महिलाले गरेको चरित्र हत्या, दोष लगाउने कार्य औचित्यपूर्ण नदेखिएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ (क) बजोजिम कैद सजाय ठहर भएको थियो। २०७४ मा बनेर २०७५ सालदेखि लागू भएको फौजदारी संहिताले गम्भीर प्रकृतिका कतिपय विषयमा झुठा मुद्दा लगाए मुद्दा लगाउनेलाई नै सजाय हुने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार महिलालाई १ महिना कारागार सजाय भएको हो। 

सुरुमा ती महिलाले पोखरा ३२ सुकुम्बासी टोलका एक पुरुष आफ्नो डेरामा आई जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिइन्। डेरामा निदाइरहेको बेला कोठामा छिरेका ती पुरुषले हात समाई लछारपछार गरी आफूलाई जबरजस्ती तान्न खोज्दा फुत्किएर भागेको र बुट्टे कुर्थाको बायाँसाइडसमेत च्यातिएको बयान महिलाले प्रहरीलाई दिएकी थिइन्। तर, पछि तिनै महिलाले अदालतमा बकपत्र गर्दा भने आफ्नो लुगा त्यसअघि नै काम गर्दा च्यातिएको र ती पुरुषले आफूमाथि कुनै जबरजस्ती नगरेको बताएकी थिइन्। आफू आवेशमा आएर आफ्नै श्रीमान्का चिनजानका ती पुरुषलाई झुठा आरोप लगाएको महिलाले अदालती बकपत्रमा स्वीकार गरेको न्यायाधीश राईले गरेको फैसलाको तथ्य खण्डमा उल्लेख छ। 

‘म कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा प्रतिवादीले अत्यधिक रक्सी सेवन गरी आई दाइदाइ भनी बोलाएकाले मैले दाइ छैन तपाईं जानुहोस् भन्दा निज नमानी दाइलाई निकाल भनी ढोकामा नै बसिरहकाले आवेशमा आई प्रहरीलाई खबर गरेको एवं काम गर्दा च्यातिएको कुर्थासमेत दिई पठाएको हुँ, निजले मलाई करणी गर्ने आसयले जबरजस्ती मलाई हातमा समाती लछारपछार गरी खाटमा लगेका होइनन्,’ भनी महिलाले प्रतिकुल (होस्टाइल) बकपत्र गरेकी थिइन्। 

आरोपित पुरुषले भने ती महिला आफूले चिनेजानेका व्यक्तिकै श्रीमती भएको अदालतमा बताएका थिए। उनले त्यस दिन उनको घर गई दाइ–दाइ भनेर बोलाएको स्वीकारेका थिए। तर, जबरजस्ती करणी प्रयास नगरेको पनि प्रष्ट पारेका थिए। 

झुठा मुद्दा लगाउने महिलालाई सजाय ठहर्‍याउँदै न्यायाधीश राईले गरेको फैसलामा भनिएको छ, ‘यस किसिमको कार्यलाई निरुत्साहित गरी सचेत गराउन एवं सवक सिकाउन भए पनि त्यस्ता व्यक्तिलाई न्यून हदसम्म भए पनि प्रचलित कानुनमा व्यवस्था भएबमोजिम सजाय गर्नु सर्वांगीण दृष्टिकोणले मनासिब देखिन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.