रोकिएन कालीगण्डकी दोहोन

रोकिएन कालीगण्डकी दोहोन

बेनी : म्याग्दीको बेनी -१ मा कालीगण्डकी नदीमा अवैध दोहन र बालुवा चोरी रोकिएको छैन। आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो ।

सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णय विपरित अवैधरुपमा कालीगण्डकीबाट बालुवा उत्खनन् भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।  

प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, शसस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मंगलबार उत्खनन् भइरहेको बगरको अनुगमन भएको थियो । अवैध नदी दोहनले नगरपालिकाको लाखौं आयस्रोत गुमेको छ । तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ । 

सरकारले असारदेखि भदौसम्म नदी उत्खनन् गर्न रोक लगाएको छ । हालै सर्वोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गर्न नपाउने फैसला गरेको छ । ‘ठेक्का सम्झौता बिनै डोजर लगाएर खोलामा स्पर बनाएर बालुवा उत्खनन् गरेको भेटियो,’ प्रजिअ अधिकारीले भने, 'कारबाहीका लागि सिफारिस गर्छौ ।'

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बगरबाट बालुवा उत्खनन्मा प्रयोग भएका चारवटा एक्साभेटरका धनी र उत्खननमा संलग्नलाई प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको बताए । ‘एक्साभेटर र थुपारेको बालुवा जफत गरेर कारबाहीका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिकामा पठाउँछौ,’ उनले भने ।

ढोडेनी खोला र कालीगण्डकीको दोभानस्थित म्याग्दीको भूगोलमा पर्ने ढोडेनी खोला भन्ने ठाउँमा बागलुङतर्फबाट डोजर ल्याएर करिब १०० टिप्पर बालुवा निकालेका छन् । ढाडेनीखोलाभन्दा करिब ८०० मिटरमाथि सारेमारेको झोलुङ्ग नजिकै पनि करिब दश दिनदेखि डोजर प्रयोग गरेर बालुवा निकालिरहेका छन् । 

त्यहाँ करिब ३० टिपर बालुवा थुपारिएको छ । दिउँसो नजिकैको जंगलभित्र लुकाएर राख्ने डोजर बिहान र साँझमा बगरमा लगेर बालुवा निकाल्ने गरेका स्थानीयले बताए । आनन्दबगरमा दुईवटा डोजर प्रयोग गरेर दुई सय टिपरभन्दा बढी बालुवा निकालेर थुपारेका छन् । 

ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन् गर्न नपाउने कानुनी व्यवस्था छ । आनन्दबगरका हर्कबहादुर क्षेत्रीले सडक र खेलमैदान निर्माण गर्न व्यक्तिगत जग्गाभित्र पर्ने बगरमा कालीगण्डकीले बगाएर ल्याएको बालुवा निकालेको बताए । 

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले असार १ गतेदेखिनै बगर उत्खनन् गर्न रोकिएको बताए । प्रहरीले नियन्त्रणमा लिएर बुझाएमा कारबाही प्रक्रिया अघि बढाउने उनले बताए । 

ढाडेनीखोलामा कालीगण्डकीले सयौं रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । कालीगण्डकीमा भएको अनियन्त्रित र अव्यवस्थित नदी दोहनका कारण सारेमारे र ढोडेनीको बीचमा रहेको जंगल पहिरो गएर सखाप भएको छ । 

ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर गरिएको उत्खनन्ले कालीगण्डकी पारी पर्वतको जलजला गाउँपालिकाको फर्सेमा कटानको जोखिम बढाएको नाग्लीबाङका वडा अध्यक्ष हरिविकास जिसीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.