संसारेखोलामा मोटर पुल निर्माणको काम सकियो
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभीर–रिमा–काफलडाँडा–राम्चे–नागी सडकअन्तरगत संसारेखोलामा मोटर पुल निर्माणको काम सकिएको छ।गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका–७ र ८ को सिमानास्थित संसारे खोलामा १६ मिटर लामो पुल निर्माण गरेको हो । कार्यालयका प्रमुख नवराज पौडेलले ८.४ मिटर चौडाई भएको मोटर चल्ने पुल निर्माण भएको जानकारी दिए ।
‘२०७८ साउन ४ गतेसम्मको म्याद थियो,’ उनले भने ‘हस्तान्तरण हुन बाँकी रहेपनि निर्धारित समयभित्रै पुल निर्माण सकिएको छ ।’ २०७६ फागुनमा रायमाझी–हिमालयन जेभीले दुई करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
संसारेखोलामा पुल निर्माण भएपछि महभीर–रिमा–काफलडाडा–राम्चे–नागी सडकमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने अन्नपूर्ण – ८ का वडा अध्यक्ष खम गर्बुजाले बताए ।
मोटर चल्ने पुल नहुँदा यसअघि बर्खामा बाढी आउँदा संसारेखोलामा सवारी साधन आवतजावत बन्द हुन्थ्यो । राम्चेका बासिन्दालाई गाउँपालिकाको केन्द्र पोखरेबगर जान जाउन, खाद्यान्न, निर्माण सामग्री ढुवानी र आलु लगायत कृषि उपज निकासी गर्न सहज भएको छ ।
पूर्वाधार विकास कार्यालयमार्फत म्याग्दीमा थप चार वटा मोटर चल्ने पुल निर्माणाधिन छन् । मालिका गाउँपालिकाको दरबाङदेखि सिरदी हुँदै निस्कोट र मंगला गाउँपालिकाको अर्मन जोड्ने सडक अन्तरगत म्याग्दी खोलामाथि ४० मिटर लामो ट्रस प्रबिधिको पुल निर्माण गर्न चार करोड ४५ लाख रुपैयाँमा प्रदिप–जुम्ली जेभीले ठेक्का लिएको छ ।
मालिका गाउँपालिका–७ बिम र धवलागिरी गाउँपालिका–६ मराङको सिमाना भएर बग्ने अर्गला स्थित मराङ खोलामा निर्माणाधिन मोटरेबल पुलको ४० प्रतिशत भौतिक प्रगति भएको छ । २५ मिटर लामो आरसिसी टिबिएम प्रबिधिको पुल निर्माणका लागि सन २०२० को मार्च १२ मा फेवा–साबित्रि जेभीले दुई करोड ७२ लाख रुपैयाँमा ठेक्का लिएका थियो ।
मालिका–७ भारवाङ र धवलागिरी–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल निर्माण कार्यको ६५ प्रतिशत भौतिक प्रगति भएको पुर्बाधार बिकास कार्यालयका इञ्जिनियर सन्तोष अर्यालले बताए । भारवाङको पुल निर्माणका लागि २०७६ असारमा देव एण्ड सायर बिएन जेभीले छ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
यसैगरी दरवाङ–धारापानी–ताकम–मुना सडक अन्तरगत गत वर्ष ठेक्का सम्झौता भएको दाङखोलाको मोटर चल्ने पुलको पुनःडिजाइन गरेर निर्माण सुरु गर्ने तयारी भएको छ । सम्झौता हुँदाको बर्ष दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको दाङखोलाको मोटरेबल पुल निर्माण स्थलमा २०७७ बर्खाको बाढीले क्षति पुर्याएपछि रिडिजाइन र भिओ तयार गरि निर्माण सुरु गर्ने तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस !