मध्यपहाडी लोकमार्ग : म्याद थपिन्छ, काम सकिदैन
कुश्मा : राष्ट्रिय गौरबको मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डको काम अझै सकिएको छैन । पटकपटक थप गरिएको म्याद गुज्रदै गएपनि काम भने नसकिएको हो । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार अबको २ महिनाभित्र काम सकिने भएको छ ।
पर्वत खण्ड अन्तर्गतको २५ किलोमिटर मध्ये ९ किलोमिटर पुर्ण रुपमा सम्पन्न भइसकेको छ । बाँकी रहेको १६ किलोमिटर मध्ये १२ किलोमटरमा बेस बिच्छ्याइसकेको र अब ४ किलोमिटरमा दुवै काम गर्न बाँकी रहेको आयोजना प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।
असार मसान्तमै सकिनुपर्ने काम भएपनि निरन्तरको वर्षाका कारणले प्रभावित भएको र अबको दुई महिना भित्र पुरै काम सम्पन्न भएर आयोजनालाई बुझाउने उनले बताए ।
पर्वत खण्डमा पर्ने कास्कीको नयाँपुलदेखि पर्वतको मालढुंगा सम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लामा कन्ट्रक्सनले पाएको थियो । सुस्त गतिमा भएको काम, कोरोना संक्रमणले पटकपटक भएको निषेधाज्ञा लगायतका कारणले निर्धारित समयमा काम हुन नसकेको हो । अब भने अधिकांश काम सकिएको र जम्मा १० प्रतिशत जति मात्र काम बाँकी रहेकाले २ महिनाभित्र पूर्णरुपमा सम्पन्न हुने आयोजना प्रमुख मरासिनीले जानकारी दिए ।
उनका अनुसार मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोविल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायतका ठाउँमा कालोपत्रेको काम समेत सम्पन्न भइसकेको छ । मोदी गाउँपालिकामा पर्ने पातीचौर बजार र कुश्मा बजारको चाल लेन सडक समेत सम्पन्न भइसकेकाले अन्य काम तोकिएको मितिमै सम्पन्न हुने अपेक्षा गरिएको मरासिनीले जानकारी दिए ।
सदरमुकाम कुश्माबजार र मोदी गाउँपलिकाको पातीचौरमा चार लेनमा सडक बिस्तार गरिएको हो । कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाले निर्माण कार्य नरोकिए पनि पछिल्लो समय निरन्तरको वर्षाले समसया भएको कार्यालयले जनाएको छ ।
कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार भएपनि अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिएको छ । २०७५ वैशाखदेखि सुरु भएको पर्वत खण्ड विस्तारको काम गएको २०७७ सालको भदौमा सकिनुपर्ने हो ।
कोभिडका कारण भएको लकडाउनले रोकिएपछि आयोजना कार्यालयले नौ महिना समय थप गरेको थियो । थप गरिएको समयमा समेत काम नसकेपछि पुन असोज समान्त सम्मको समय दिईएको आयोजना प्रमुख मरासिनीले जानकारी दिए ।
मध्य पहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टे खोला सम्मको खण्डको काम गत वर्षनै सकिएको हो । गत असार २२ गतेको बाढिका कारण यो खण्ड निर्माणको जिम्मा पाएको लामा कन्ट्रक्सनका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुलाई बगाएर वेपत्ता बनाएपछि केहि दिन काम प्रभावित भएको थियो । वेपत्ता बनेका मध्ये थारुको शब चितवमा भेटिएको थियो भने आचार्यको अवस्था अझै अज्ञात रहेको छ ।
प्रतिक्रिया दिनुहोस !