सेटिङमै सारियो इटहरीको यातायात कार्यालय

सेटिङमै सारियो इटहरीको यातायात कार्यालय

इटहरी : इटहरीस्थित यातायात कार्यालयको भवन सेटिङमा सारिएको छ । केही साताअघि अन्नपूर्ण पोस्ट्ले सेटिङमा कार्यालय सार्न लागिएको खुलासा गरेको थियो ।

इटहरी ८ स्थित रोहितकुमार चौधरीको घरमा लाइसेन्स हेर्ने यातायात कार्यालय सार्न चलखेल भएको समाचार प्रकाशित भएको थियो ।

समाचारमा उल्लेख गरेकै घरमा मासिक ७५ हजार रुपैयाँ तिर्ने गरी कार्यालय सारिएको छ । अहिले कार्यालयको सवारीचालक अनुमतिपत्रसम्बन्धी सबै काम उक्त कार्यालयबाट भइरहेको कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार कार्यालयले भाडाको घर खोज्दै जेठ ११ गते जारी गरेको सूचनाअनुसार चारवटा घरका लागि आवेदन दिइएको थियो । सोमध्ये घरभाडादेखि प्राविधिक उपयुक्तता सबै हेरेर अहिलेको घर छानिएको हो । यो सबै काम सेटिङमा गरिएको स्रोतको भनाइ छ ।

सोही घरमा यातायात कार्यालय सार्ने गरी सूचना प्रकाशन गरिएको थियो । सो समयमा उक्त घर निर्माणाधिन थियो । सूचनामा दिइएको विवरण र उक्त निर्माणाधिन घरको विवरण मिलेपछि र स्थानीयले समेत यातायात कार्यालय यही सर्दैछ भन्ने जानकारी दिएपछि सेटिङ भएको खुलेको थियो ।

प्रकाशित सूचनामा तोकिएका जटिल शर्तहरु पूरा भएको घर कतै पाउन मुस्किल पर्छ । सूचनाअनुसार महेन्द्र र कोशी राजमार्गमा नपर्ने र चोकबाट दुई किलोमिटरको दुरीमा पर्ने, ८ कठ्ठा क्षेत्रफल जग्गामा घेराबारा लागेको, भुँइतलामै मात्र कम्तिमा ४१०० स्क्वायर फिट क्षेत्रफलमा १५ कोठे भवन भएको, प्यासेज ७ फिट चौडा हुनुपर्ने, सकेसम्म झ्यालबाटै सेवा दिन सकिने हुनुपर्ने, कम्तिमा ६ वटा ट्वाइलेट, बाथरुम भएको हुनुपर्ने शर्तहरु उल्लेख थियो ।

त्यती मात्र होइन, लिखित परीक्षा दिनका लागि ६० फिट लम्बाइ र १५ फिट चौडाइ भएको परीक्षा हल पनि हुनुपर्ने भनिएको थियो । यस्तै २० फुटको बाटो हुनुपर्ने र कार्यालयबाहेक थप दुई कठ्ठा जग्गा पार्किङको लागि उपलब्ध हुनुपर्ने उल्लेख थियो । तर यति धेरै शर्तसहितको बनिबनाउ घर पाउन अहिले पनि असम्भव छ ।

तर, त्यही अनुसारको घर उक्त सूचना प्रकाशित हुनुभन्दा ५ महिनाअघिदेखि इटहरी ८ स्थित रोहित चौधरीको जग्गामा बनिरहेको थियो । कार्यालयले सूचना प्रकाशनपछि नयाँ घर फेला नपर्दै एक महिनाभित्र कार्यालय घर सर्ने जानकारीसमेत त्यतीबेलाका घरबेटी दिनेश भट्टराईलाई दिइसकेको थियो । 

यसअघि बसेको घर राजमार्गको छेवैमा परेको र दुर्घटनाको जोखिममा रहेको भन्दै सार्नैपर्ने निष्कर्ष निकालिएको थियो । कार्यालय सार्ने निष्कर्षअघि नै इटहरी ८ स्थित अहिलेको ठाउँमा भवन बनाउने र त्यही भवनलाई नै कार्याँलयको लागि छनोट गर्ने गरी सुचना निकाल्ने गरी सेटिङ भएको थियो । 

यातायात कार्यालयका प्रमुख सापकोटा भने आरोपको खण्डन गर्छन् । उनले पहिले राजमार्ग छेउको कार्यालय बस्न अनुपयुक्त भएको र जोखिम पनि बढेपछि र प्रदेश मन्त्रीले पटकपटक सार्नुपर्छ भनेपछि आफूहरुले पनि सूचना निकालेको बताउँछन् ।

यता यातयात कार्यालय प्रदेश प्रमुख भीम गौतम पनि सोही घर छनोटमा पर्नुलाई संयोग मात्र मान्छन् । तर यातयात सार्नको लागि बहालवाला प्रदेश मन्त्री अम्बिरबाबु गुरुङ, कार्यालयका प्रदेश प्रमुख भीम गौतम र कार्यालय प्रमुख सापकोटासमेतको संलग्नता रहेको बताइएको छ । 

यसअघि पनि मन्त्री गुरुङ राज्यमन्त्री हुँदा अहिलेकै प्रदेश प्रमुख गौतमको सिफारिसमा झापामा निजी निजी सेन्टरमा ट्रायल गर्ने गरी निर्णय भएको थियो । सरकारी संरचना हुँदा हुँदै विभिन्न बहाना झिकेर निजी सेन्टरलाई महँगो भाडा तिर्ने गरी जिम्मा दिने कार्यमा गुरुङ र गौतमको संलग्नता रहेको चर्चा चलेको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.