अब स्वदेशी ऊनबाट पस्मिना उत्पादन

अब स्वदेशी ऊनबाट पस्मिना उत्पादन

बेनी : नेपाली उद्योगीहरुले स्वदेशी ऊन प्रसोधन गरेर पस्मिना उत्पादनको तयारी गरेका छन् । उद्योगीहरुले पस्मिना बनाउन च्याङग्राको भुवा (ऊन) खरिद गर्न थालेपछि मुस्ताङका कृषकमा खुसीयाली छाएको छ । 

नेपाल पस्मिना उद्योग संघले लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा च्याङग्राको भुवा संकलन केन्द्र स्थापना गरेर ऊन खरिद गर्न थालेको छ । खेर गइरहेको च्याङग्राको ऊनको सदुपयोग, कृषकले आम्दानी र पस्मिनाको कच्चा पदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

नेपाल पस्मिना उद्योग संघले स्वदेशी कच्चा पदार्थ (ऊन प्रसोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न चराङमा भुवा (ऊन) संकलन केन्द्र स्थापना गरेको जनाएको छ । संघका अध्यक्ष धनप्रसाद लामिछानेले मंगोलीया र चीनबाट ल्याउने कच्चा पदार्थको विकल्पमा नेपालकै भुवा प्रसोधन गरेर धागो उत्पादन गर्न लागिएको जानकारी दिए । 

‘स्वदेशी ऊन प्रसोधन गर्न काठमाडौंमा नेपाल फाइबर प्रोसेसिङ उद्योग खोलेका छौं,’ उनले भने, ‘चराङमा संकलन केन्द्र खोलेर ९० लाख रुपैयाँको दुई हजार किलोग्राम ऊन खरिद गरिसकेका छौं ।” 

लामिछानेको नेतृत्वमा संघका उत्सव खनाल, बिजु शाक्य, भिम शेरचन र इञ्जिनियर बिबेकानन्द मिश्रको टोली दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधी र च्याङग्रापालक कृषकहरुसँग अन्तरक्रियाका साथै भुवाको सम्भाव्यता अध्ययन गरेर काठमाडौ फर्किएको छ । 

मनाङमा भुवाको सम्भाव्यता अध्ययनका लागि प्रतिनिधि पठाएको संघले लगत्तै डोल्पा, मुगु, हुम्ला लगायत जिल्लामा जाने जनाएको छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङग्राको ऊन प्रसोधन गरेर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । 

नेपालबाट वार्षिक तीन अरब रुपैयाँको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । पस्मिना उद्योगी समेत रहेका इञ्जिनियर मिश्रले मुस्ताङको भुवा प्रसोधन गर्न सकेमा तीस प्रतिशत भुवाको धागो आयात घटाउन सकिने बताए । 

‘परम्परागत र अव्यवस्थितरुपमा संकलन गरिएको मुस्ताङको भुवा प्रसोधन गर्दा ३० प्रतिशत प्रयोगयोग्य हुने देखिएको छ,’ ‘च्याङग्रापालन र भुवा संकलनलाई आधुनिक र ब्यवस्थित बनाउने हो भने गुणस्तर बढाउन सकिन्छ ।’ 

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले ऊन निकाल्ने गरेका छैनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशत ऊन संकलन गरेपनि बजार नपाउने समस्या थियो । तिब्बती सिमा कोरला नाकामा अन्तरदेशीय ब्यापार मेला हुँदा चिनियाँ ब्यापारीले सामानसँग ऊन सतही गरेर लैजान्थे । 

कोरोनाका कारणले पछिल्लो दुई वर्षयता ब्यापार मेला नहुँदा करोडौ मूल्यको ऊन बिक्री हुन नपाएको बिषयमा अन्नपूर्ण पोष्ट डटकममा केही समय अघि समाचार प्रकाशन भएपछि उद्योगीहरु त्यहाँ गएका हुन् ।

कृषक ट्यासी बिष्टले खेर गइरहेको ऊनले उचित मूल्य र बजार पाएकोमा खुसी व्यक्त गरे । लोमान्थाङका कृषकहरुको ऊन बजारीकरण गर्न त्यहाँ अर्को संकलन केन्द्र बनाउने तयारी भएको छ । कृषकले केन्द्रमा ल्याउने ऊन संकलन गरेर संघले खरिद गरि काठमाडौ लैजाने सम्झौता भएको छ । 

प्रतिकिलो अप्रसोधित ऊनको सदरदर मुल्य चार हजार पाँच सय रुपैयाँमा खरिद गर्ने संघले जनाएको छ । बैशाख–जेठ महिना च्याङग्राको शरिरबाट ऊन निकाल्ने याम हो । मासुका लागि प्रसिद्ध हिमाली च्याङग्राको छाला र मल पनि बिक्री हुन्छ । पस्मिना उद्योगी उत्सव खनालले च्याङग्राको संख्या बढाउन, हिउँदमा आहाराको ब्यवस्थापनका लागि घाँस खेती, भण्डारण र महामारीबाट बचाउन खोपको ब्यवस्थापन गर्नुपर्ने बताए । 

च्याङग्राको ऊन पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक च्याङग्रा पालेका छन् । 

यसैबीच उपल्लो मुस्ताङका कृषकहरुले बिश्व बैंकको सहयोगमा नेपाललाई मासु र दूधमा आत्मनिर्भर बनाउन सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना (एनएलएसआइपी)को अब्यवहारिक कार्यबिधीका कारण सो परियोजनाको सुबिधाबाट बञ्चित भएको गुनासो गरेका छन् । हिमाली क्षेत्रका च्याङग्रापालक कृषकहरुलाई समेट्ने गरी कार्यविधि संसोधन गर्नुपर्ने कृषक पासाङ बिष्टले बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.