छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो। 

मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।

सडक विस्तारका क्रममा पहिराले क्षति पुर्‍याएको जग्गा जमिनको क्षतिपूर्ति र जोखिममा परेका बस्ती संरक्षण माग गर्दै काभ्रेका बासिन्दाले सडक मर्मत र निर्माणमा अवरोध गरेका थिए। म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले आयोजनाले सडक विस्तारका क्रममा क्षति पुगेको जग्गाको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने र जोखिममा परेका बस्ती संरक्षण गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको बताए।

मुस्ताङका प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन, प्रजिअ श्रीनाथ पौडेल, म्याग्दीका प्रजिअ गणेशबहादुर अधिकारी, सेनानी केशव सिलवाल, प्रनाउ राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ, राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत महेश गुरुङसहितको उपस्थितिमा शुक्रबार काभ्रेमा छलफल भएको थियो।

पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका स्थानीयवासी खड्क खत्रीले बताउनुभयो। जग्गाको क्षतिपूर्तिका लागि तत्कालै प्रक्रिया अघि बढाउने र बर्खालगत्तै संरक्षणको काम गर्ने सडक आयोजनाले प्रतिबद्धता जनाएको छ। 

बेनी–जोमसोम सडक अवरुद्ध हुँदै म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाका स्थानीयवासी समस्यामा परेका थिए। आवतजावतका लागि गाडी परिवर्तन गर्नुपर्ने झन्झट थियो। ढुवानी र निकासी ठप्प बनेको थियो। बिरामीलाई अस्पताल लैजान समस्या भएको थियो।

मर्मतपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम सडक पहिराका कारण पटक–पटक अवरुद्ध हुँदा सास्ती भएको छ। म्याग्दीको राहुघाट, बेगखोला, रुप्सेखोला र काभ्रेभिरमा सडक अवरुद्ध हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.