क्रसरको आडमा ठेक्काबिनै नदी दोहन
बेनी : बेनी नगरपालिका–५ बगुवाखोलामा क्रसर उद्योगको आडमा मापदण्डविपरित ठेक्का सम्झौताबिनै नदीजन्य पदार्थको दोहन भएको छ । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले सञ्चालन गरेको जिसी क्रसर उद्योगले नगरपालिकासँग ठेक्का सम्झौता बिनै म्याग्दी नदीमा एक्साभेटर प्रयोग गरेर बर्खामा बालुवा निकालेको हो ।
आइतबार साँझ जिसस प्रमुख देबेन्द्र केसी, प्रजिअ गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङ सहभागी नदीजन्य पदार्थको जिल्ला अनुगमन समितिले क्रसर उद्योग र परिसरको नदी बगरको अनुगमन गरेको थियो ।
प्रनाउ राइले क्रसर उद्योग परिसरमा म्याग्दी नदीको किनारमा खोला थुनेर स्पर बनाइ थिग्राउने बालुवा ठेक्का सम्झौताबिनै मापदण्डविपरित उत्खनन् गरेको भेटिएको बताए । ‘त्यहाँ बालुवा निकाल्न नगरपालिकाले ठेक्का लगाएको छैन् । बर्खामा निकाल्नै पाइँदैन्,’ उनले भने, ‘क्रसरको आडमा नदी दोहन, चोरी, तस्करी भएको भेटियो ।’ म्याग्दी नदीको बगरमै रहेको उद्योग परिसरमा हजारौ घनमिटर बालुवा थुपारेको छ ।
टोलीले क्रसर परिसरमा बालुवा लिन गएको ग १ त ७११८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कागजात सहित ट्याक्टर धनीलाई प्रहरी कार्यालयमा हाँजिर हुन निर्देशन दिएको छ । सरकारले असार, साउन र भदौ महिनामा नदीजन्य वस्तु उत्खनन्मा रोक लगाएको छ ।_20210809073205.jpg)
नगरपालिकाले पनि असार १ गते सुचना जारी गरेर नगर क्षेत्रमा बगर उत्खनन् गर्न रोक लगाएको छ । सर्वोच्च अदालतले कालीगण्डकी नदीको बगरबाट उपकरण प्रयोग गरेर उत्खनन् गर्ने कार्य बन्द गराउन आदेश दिएको थियो ।
स्थानीय तहसँग ठेक्का सम्झौता बिना नदीजन्य वस्तुको उत्खनन् र निकासी गर्न पाइँदैन् । पालिकासँगै मजदुर लगाएर नदीजन्य वस्तु उत्खनन् गर्ने सम्झौता गरेका व्यवसायीहरुले डोजर लगाएर निकाल्ने गरेको भेटिन्छ । अनुगमनमा सहभागीका अनुसार जिसी क्रसर उद्योग परिसरमा थुपारिएको बालुवा एक/दुई दिन अघि खोलाबाट निकालेको देखिन्छ ।
भिरमुनीको पौलत्स्य मावीको जग्गामा मापदण्डविपरित राजनीतिक शक्ति र पहुँचको आडमा चलिरहेको सो उद्योग २०७४ देखि नविकरण पनि भएको छैन् । प्रजिअ अधिकारीले थुपारिएको बालुवाको बारेमा थप अनुसन्धान गरेर प्रतिवेदन बुझाउन प्रहरीलाई जिम्मेवारी दिएको बताए ।
दुई हप्ताअघि बेनी नगरपालिकाको १ नम्बर वडामा पर्ने आनन्दबगर, सारेमारे र ढाडेनी खोला स्थित कालीगण्डकी नदी बगरबाट ठेक्का सम्झौता बिनै सरकारको निर्णय र अदालतको आदेश बिपरित उत्खनन गरिएको बालुवा जफत गरि लिलामी, उत्खनन्मा प्रयोग भएका तीनवटा एक्साभेटर र एकवटा ट्याक्टरलाई जरिवाना तिराउन नगरपालिकालाई सिफारिस गरेको थियो ।
नगरपालिकाले साउन २५ गतेसम्मको म्याद राखेर तीन ठाउँमा उत्खनन् गरिएको बालुवालाई करिब १८ लाख रुपैयाँ न्युनतम मूल्य कायम गरि लिलाम गर्न सुचना निकालेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुबेदीले प्रहरीको प्रतिवेदन र अुनगमन समितिको सिफारिसको आधारमा नगरपालिकाले निर्णय लिने बताए।
उद्योगका सञ्चालक नारायण जिसीले सिडियो र डिसएपीले पूर्वाग्राही हिसाबले रिसीइबी साध्न दु:ख दिने नियतले अनुगमनको बहनामा उद्योगमा गएको र व्यवसायीहरुमाथि ज्यादती गरेको प्रतिक्रिया दिए ।
‘मैले बर्खाअघिनै नगरपालिकाले ठेक्का लगाएको ठाउँबाट कर तिरेर निकालेर बालुवा राखेको छु । अहिले निकालेको छैन् । क्रसरमा अनलोड गर्ने एउटा ब्याकुहोलोडर मात्रै छ । त्यहाँ भएका दुईवटा डोजर बिग्रिएका छन्,’ उनले भने ‘प्रजिअले कार्यालय परिसरमा नौ लाख रुपैयाँ बजेट आएको निर्माणको काम सित्तैमा गराउन प्रस्ताव गर्नुभएको थियो । हामी निर्माण व्यवसायीहरुले नमानेपछि असारको अन्तिममा हतार हतारमा कोटेशनमा काम गराउनुपरेको रिस पोख्न खोज्नुभएको हो । प्रहरीले पनि हामी व्यवसायीहरुप्रति राखेको अपेक्षा पुरा नगरि दिएपछि ठेक्का लगाएको ठाउँमा मनोज कार्कीले मजदुर लगाएर निकालेको बालुवा ढुवानी गर्न गएको ट्याक्टर समातेर दु:ख दिएका थिए ।’
प्रतिक्रिया दिनुहोस !