जाजरकोटमा 'तपाईको मास्क खोई?' अभियान सुरु
जाजरकोट : कोरोना संक्रमणको लहर फेरी बढेपछि जाजरकोटमा ‘तपाईको मास्क खोई’ अभियान सुरु गरिएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको संयोजनमा खलंगामा सोमबारदेखि यो अभियान सुरु भएको हो ।
अभियानमा स्वास्थ्यकर्मी, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी, आमा समुह, उद्योगी, यातायात व्यवसायी लगायतले सहभागिता जनाएका छन् । सबैलाई अनिवार्य रुपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले प्रदेश जिल्ला सदरमुकाम खलंगा केन्द्रित गरी अभियान थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले मास्क लगाउन अटेर गर्ने, मास्क बिनै भीडभाडमा जाने प्रवृत्ति बढेकाले सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताए ।
अभियानमा मास्क नभएकालाई निःशुल्क वितरण गर्ने तथा बिना मास्क हिँडडुल गर्नेलाई भने सय रुपैयाँ जरिवाना तिराउने गरेको छ ।
यस्तै मुख्य बजार, भीडभाड हुने क्षेत्रमा माइकिङ गर्दै सचेतनामूलक सन्देश सुनाउने गरिएको छ । प्र.जि.अ देवकोटाले चाडपर्व नजिकिँदै गरेकाले थप सतर्कताको जरुरी रहेको बताए ।
'सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सके निषेधाज्ञा गर्नुपर्ने अवस्था रहँदैन्, एक जनाको लापरवाहीले समाज नै सङ्क्रमित हुने हुँदा व्यापक जनचेतना फैलाउन जरुरी छ', उनले भने, 'यस्तो महामारीमा आमनागरिक अनुशासित भएमा रोकथाम तथा नियन्त्रणमा धेरै मद्दत पुग्दछ ।'
यस अभियानमा विभिन्न संघ संस्थाको पनि महत्वपुर्ण भुमिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस !