मोबाइल फोनको लतले एक्लिंदै बालबालिका

मोबाइल फोनको लतले एक्लिंदै बालबालिका

गलेश्वर : म्याग्दीको बेनी नगरपालिका–७ का दिपेन पुन निद्राबाट बिउझिँने बित्तिकै टेबुलमाथिको मोबाइल हातमा लिन्छन्। मोबाइलको स्क्रिन हेरेर उनको दैनिकी सुरु हुन्छ। कक्षा ६ मा पढ्ने १२ वर्षीय पुनले मोबाइलमा के हेर्छन् त्यो त परिवारलाई पत्तो हुँदैन। उनले मोबाइल नपाउञ्जेलसम्म रिसाउने, झर्किने र खानै नखाइदिने गर्छन्। जसले गर्दा उनको परिवार पनि तनावमा रहनुपर्छ। 

अनलाइन क्लासको बहानामा बालबालिका एक्लिंदै गएका र उनीहरुको आनिबानीमा नकारात्मक परिवर्तन देखा पर्न थालेपछि अभिभावक चिन्तित बनेका छन्। 

'अहिले अनलाइन क्लासका नाममा मोबाइल, ल्यापटप र कम्प्युटरमा बालबालिका व्यस्त हुने गरेका छन्, न बोलाएको सुन्छन्, न समयमा खाना खान्छन्, अनलाइन क्लासमा पनि ज्वाइन नभएको भनेर विद्यालयबाट अभिभावकलाई फोन आइरहन्छ', बेनी मङ्गलाघाटका अभिभावक तिलबहादुर पुनले भने। 'बिहान उठ्नसाथ मोबाइल नहेरी अरु कुनै काम गर्न मान्दैनन्।', बेनी नगरपालिका–४ सिगाका अभिभावक  मोहन पौडेलले भने,  'न बाबाआमा, न साथी सङ्गती, मोबाइल पाएपछि अरु कोही पनि चाहिंदैन, यस्तो पाराले त कसरी बनाउँछन् खै आजभोलिका बालबालिकाले राम्रो भविष्य?', पौडेलले चिन्ता व्यक्त गरे।

पौडेलको जस्तै चिन्ताले अहिले अधिकांश अभिभावक पिरोलिएका छन्। अनलाइन कक्षाको नाममा बिहान उठेदेखि राति ११/१२ बजेसम्म बालबालिका मोबाइल र ल्यापटपमा घोप्टिने गर्न थालेपछि अभिभावकले आ–आफ्ना बालबालिकाप्रति निगरानी त बढाउन थालेका छन् तर परिणाम भने झन विपरीत प्राप्त भइरहेको अभिभावकको गुनासो रहने गरेको छ।

'बिहानदेखि रातिसम्म नै मोबाइलमा व्यस्त हुन थालेपछि मैले तीन दिनसम्म बच्चाको निगरानी गरें, अनलाइन क्लासमा ज्वाइन नै नभइ, पब्जी र अरु नानाभाँतिका खेल पो हेर्दोरहेछ', बेनीका अभिाभवक सुमन सापकोटाले भने, 'त्यसपछि सम्भाइबुझाइ गर्दा उल्टै खानै खान मानेन, रिसाउने,झर्किने पो गर्न थाल्यो।'

म्याग्दीका प्रायः सबै अभिभावक मोबाइल फोन र इन्टरनेटले आफ्ना छोराछोरी कस्तो बाटोमा लाग्ने हुन् भन्ने कुराले चिन्तित छन्। कोरोना सङ्क्रमणका कारण भौतिकरुपमा उपस्थित भई विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएपछि विद्यालयले अनलाइन क्लास सञ्चालन गर्ने गरेका छन्। तर, अधिकांश बालबालिकालाई अनलाइन क्लास मोबाइल खेलाउन पाइने गतिलो बहाना बनेको छ। 

सुरु सुरुमा बालबालिकालाई भुलाउन मोबाइल दिने गरेका अभिभावक पनि मोबाइलबिना अहिले बस्नै नसक्ने भएपछि तनाबमा छन्। पछिल्लो समय अभिभावकको  मनमा एउटै मात्रै प्रश्न उठ्न थालेको छ–बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने?

ज्यामरुककोटकी लक्ष्मी सुवेदीले  छोरी सानो छँदा घरधन्दा भ्याउनुपर्ने अवस्था भएकाले मोबाइल खेलाउन दिएर भुलाउने गर्थे। विस्तारै विस्तारै छोरीलाई मोबाइल खेलाउने बानी भयो। अहिले मोबाइल भएपछि आमाबुबा, साथीभाई नै भुल्ने र कोठाबाट बाहिर निस्कन नमान्ने जस्ता क्रियाकलाप गर्न थालेपछि आफू आजित बनेको लक्ष्मीले सुनाए।

बालबालिकामा विकसित हुँदै गएको एकलकाँटे प्रवृत्तिको असर दीर्घकालसम्म पर्ने भएकोले यसतर्फ अभिभावक सचेत रहनुपर्ने समाजशास्त्री तथा बाल मनोविज्ञानका जानकारको राय रहेको छ। पछिल्लो समय अभिभावकको व्यस्त जीवनशैली र प्रविधि प्रयोगका कारण बालबालिका समाजमा घुलमिल हुन नचाहने, एकान्तमा बस्न रुचाउने जस्ता आनीबानी बढ्न थालेको बालरोग चिकित्सक  डा मीना शाक्यले बताए। मोबाइल फोन भेटेपछि घण्टौंसम्म एक्लै बस्ने, कोसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने जस्ता संस्कार बालबालिकामा हराउँदै गएको अभिभावकको गुनासो छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.