रुकुम पश्चिममा अनिश्चितकालीन निषेधाज्ञा
![रुकुम पश्चिममा अनिश्चितकालीन निषेधाज्ञा](https://annapurnapost.prixacdn.net/media/albums/musikot_20210817083151_RU2y7X4NAk.jpg)
जाजरकोट : रुकुम पश्चिममा अनिश्चितकालका लागि निषेधाज्ञा थप भएको छ । यसअघि पटकपटक समय तोकेर थप गर्ने गरिएकामा यो पटक भने अनिश्चितकालका लागि निषेधाज्ञा थप गरिएको हो ।
जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको र संक्रमण दर फेरि पनि बढ्न थालेको भन्दै जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीएमसी) को निर्णय समेतका आधारमा जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने जनाएको छ ।
जिल्लामा गत वैशाख १९ गते देखि निषेधाज्ञा जारी छ । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै लामो समय देखि निषेधाज्ञा जारी रहेपनि जिल्लामा कोरोना नियन्त्रणमा आउन सकेको छैन् । अहिले पनि जिल्लामा १ सय ७ जना कोरोनाका संक्रिय संक्रमित छन् । पछिल्लो समय जिल्लामा संक्रमित थपिने क्रम बढ्दै गएको छ ।
अर्को सूचना नभएसम्मका लागि निषेधज्ञा थप गरिएको डिसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । जिल्लामा साउन ७ गतेदेखि निषेधाज्ञा खुकुलो पारिएको थियो । सार्वजनिक यातायात, व्यापार व्यवशाय लगायत लगभग धेरै क्षेत्र खुलिसकेका छन् । अब पनि सोही अनुसार निषेधाज्ञा जारी रहने गैह्रेले बताए ।
अहिले निषेधाज्ञा खुकुलो रहेको र कोरोना संक्रमण दर बढ्दै गएमा निषेधाज्ञामा कडाइ गरिने उनको भनाइ छ ।
विद्यालय खोल्न नपाइने
जिल्लामा अहिले तत्काल विद्यालय भने खोल्न पाइने छैन् । विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
त्यस्तै व्यापार, व्यवसाय बेलुकी ८ बजेसम्म मात्र संचालन गर्न पाइने आदेशमा उल्लेख छ । मेला, महोत्सव, सभा, सम्मेलन गर्न पाइने छैन् भने २५ जनाभन्दा कमको उपस्थितिमा कुनै कार्यक्रम गर्नु परेमा स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णपालना गर्न आदेशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)