पहिरोले राहुघाट निर्माण प्रभावित
बेनी : सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित म्याग्दीको राहुघाट जलविद्युत आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ। रघुगंगा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदुर, यातायात र ढुवानीका साधन आवत–जावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो।
बुग्लमा करिब तीन सय मिटर सडक पहिरोले पुरेको छ। आयोजना व्यवस्थापक राज बिष्टले पहिरोका कारण गत असार महिनादेखि रोकिएको बाँध र अडिट १ बाट सुरुङ निर्माणलाई अझै सूचारु गराउन नसकेको बताए। ‘अधेरीखोलाको अडिट २ पुग्ने पहुँचमार्ग एक महिनापछि मर्मत गरेर दुई तर्फ सुरुङ निर्माण सूचारु गराएका छौ,’ उनले भने ‘बर्खा नरोकिएसम्म बुग्लको पहिरोमा सडक मर्मत गर्न सक्ने अवस्था छैन्।’
ठेकेदारले बाँधमा जग्गा व्यवस्थापन र पहिलो नम्बरको अडित खनेर सुरुङ निर्माणको तयारी गरेको थियो। बुग्लको पहिरोले तुदी हाइड्रोपावरद्धारा सञ्चालित ४८ मेगावाटको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह निर्माण पनि रोकिएको इञ्जिनियर नरोत्तम कार्कीले बताए।
पिप्लेको बगैंचास्थित आउटलेट निर्माणस्थलमा सक्रिय भएको पहिरोका कारण तिल्केनीचौरमा राहुघाटको विद्युतगृह निर्माणलाई समेत प्रभावित बनाएको छ। नेपाल विद्युत प्राधिकरणको शत प्रतिशत शेयर लगानीमा विं.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग विं.स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चार वटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) को ब्रेक थ्रु गरेको छ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको व्यवस्थापक बिष्टले बताए। ४५ महिनाको ठेक्का सम्झौताको म्याद यहि भदौ महिनामा सकिदैछ। _20210819043649.jpg)
ठेकेदार कम्पनीले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा राहुघाट निर्माणमा ढिलासुस्ति भएको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसीले बताए। प्राकृतिक विपद र कोरोना (भाइरस)को महामारीलाइृ ठेकेदारले ढिलाइको कारण दावी गरेको छ। इलेक्ट्रोमेकानीकल तर्फ २०७६ कार्तिक महिनामा सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग सम्झौता भएको थियो।
बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका- ३ को तिल्केनीचौरमा विद्यूतगृह निर्माणका लागि प्रारम्भिक चरणको काम गरेको छ। पावरहाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ। बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ। छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म एक हजार ५०० मिटर निर्माण सकिएको छ।
पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएको छ। अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो।
सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो। एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरि हाल विस्तृत डिजाइङको कार्यलाई अन्तिम चरणमा पुर्याएको छ।
राहुघाटबाट उत्पादन हुने विद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार वटा टावर तयार भएको छ।
प्रतिक्रिया दिनुहोस !