रसुवाको जिल्ला अस्पतालमा प्राविधिक नहुदाँ कार्यालय सहयोगीले गर्छन् एक्सरे
रसुवा : रसुवा जिल्ला अस्पतालमा डिजिटल एक्सरे उपकरण नहुँदा पेट तथा छातीको उपचारमा समस्या उत्पन्न भएको छ । पुरानो प्रविधिको म्यानुअल एक्सरेको फोटो प्रष्ट नहुने हुदाँ शरीरका भित्री भागमा हुने रोग छिटो पहिचान गर्न कठिन हुने गरेको छ। म्यानुअल एक्सरे सञ्चालन गराउने प्राविधिक कर्मचारीसमेत नहुँदा कार्यालय सहयोगीले उक्त कार्य गर्दै आएका छन्।
यस्तै गर्भवतीलाई सुत्केरी गराउन सिएस शल्यक्रियासम्बन्धी स्रोत, साधन तथा जनशक्तिको अभाव रहेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा रेशम पोखरेलले बताए। उपलब्ध भएको अल्ट्रासाउण्ड (भिडियो एक्सरे) मेसिनले पनि राम्रो काम नर्दा त्यो सेवासमेत प्रभावित बन्दै गएको चिकित्सक बताउँछन् ।
दैनिक २०–२५ जनाले उपचार सेवा लिने जिल्ला अस्पतालको सेवा प्रभावकारी बनाउन भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत नेपाल रेडक्रसले प्रि–फेब्रिकेटेड मोडलको भवन बनाईदिएको थियो। भवन बने पनि स्रोतको अभाव देखिएको छ। सेवा प्रवाहका लागि मेडिकल सुपरिटेन्डेन्ट एक, चिकित्सक पाँच, स्टार्फ नर्स पाँच, अनमी चार, एचए तीन, सि–एमए तीन, ल्याब असिस्टेन्ट तीन र कार्यालय सहयोगी १० जनाको दरबन्दी रहेको अस्पताल प्रशासनले जनाएको छ ।
सरकारी सुविधाबाट प्रदान गर्नुपर्ने निःशुल्क औषधिसमेत अभाव हुँदै गएको चिकित्सकले बताएका छन् । अस्पताल सञ्चालनमा आवश्यक औषधिसहितको उपकरण व्यवस्थापन गरिदिन प्रदेश सरकारसमक्ष आग्रह गरिसकिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भुवन केसीले जानकारी दिए ।
पर्यटकीय एवं धार्मिक क्षेत्र गोसाइँकुण्डका साथै रसुवागढी अन्तर्राष्ट्रिय नाका भएको जिल्ला अस्पताललाई सुविधायुक्त बनाउन प्रदेश सरकारसमक्ष पहल गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुइँकेलले बताए। विसं २०४२ देखि सञ्चालनमा आएको रसुवा जिल्ला अस्पतालमा अहिलेसम्म सुविधायुक्त हुन नसकेकाले आफूहरुले दु:ख पाएकाे स्थानीय बासिन्दाले गुनासो गर्छन्।
प्रतिक्रिया दिनुहोस !