खानेपानी आयोजनाको क्षमता बढाएर गुणस्तर सुधार
बेनी : बेनी बजारमा बितरण हुने खानेपानीको गुणस्तर सुधार र क्षमता बिस्तारको काम शुरु भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी उपभोक्ता संस्थाले बितरण गर्दै आएको खानेपानीको क्षमता बढाएर गुणस्तर सुधार गर्न आयोजना शुरु गरेको हो ।
४२ लाख ८१ हजार ८२० रुपैयाँ लागतमा दुई लाख लिटर क्षमताको नयाँ रिजर्भ ट्याङकी निर्माण भइसकेको छ।
एक लाख लिटर क्षमताको ट्याङकी चुहावट भएपछि त्यसलाई भत्काएर सोही ठाउँमा नयाँ ट्याङकी बनाइएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । ‘आयोजनाको हाल एक लाख लिटर क्षमताको एक वटा र दुई लाख लिटर क्षमताको एक वटा रिजर्भ टंकी छ,’ उनले भने ‘नयाँ टंकीमा पानी संकलन गरेर बजारभित्र बितरण गर्ने तयारी भएको छ।’
नयाँ ट्याङकी परिसरमा थप पाँच लाख रुपैयाँ खर्चेर पक्कि पर्खाल बनाएर सुरक्षित बनाइएको छ । पुम्दी र कोप्रेको मुहानबाट ल्याइने पानी शुद्धिकरण गर्न तीन करोड ७९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । नयाँ प्रबिधिको सेडिमेशन र सो साण्डफिल्टर ट्याङकी बनाउन लागिएको आयोजनाका निमित्त प्रमुख रामउद्गार यादवले बताए ।
‘बेनीमा बितरण हुने तीन वटै मुहानको पानी शुद्धीकरण हुन सकेको थिएन,’ उनले भने ‘सबै मुहानको पानीलाई प्रशोधन गरी गुणस्तरीय बनाउन शुद्धीकरण गर्न लागिएको हो ।’ दुई वटा नयाँ ट्याङकी निर्माण गर्न ठेक्का मूल्याङ्कनको चरणमा रहेको छ ।
आयोजनामार्फत कार्यान्वयन हुने गरी चालु आर्थिक वर्ष २०७८-७९ मा म्याग्दी नदीको पानी पम्पिङ गर्न ४० लाख रुपैयाँ बिनियोजन भएको इञ्जिनियर प्रदिप रेग्मीले बताए । बेनी नगरपालिकाको ७, ८ र २ वडाका एक हजार ७० घरधुरीलाई बेनी खानेपानी उपभोक्ता संस्थाको रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रति सेकेण्ड ३३ लिटरका दरले पानी आपुर्ति हुने क्षमता छ ।
दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी बितरण गर्दै आएको छ। २७ किलोमिटर दुरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपुर्ति हुने पानी पहिरो र बेनी–जोमसोम सडकका कारण प्रभावित भएको छ ।
बिकल्पमा म्याग्दी नदीबाट प्रतिसेकेण्ड १५ लिटरका दरले पानी तान्ने लक्ष्य सहित आयोजना निर्माण गर्ने बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । क्षमता बिस्तार र गुणस्तर सुधार गरेपछि बेनीमा पर्याप्त मात्रामा खानेपानी आपुर्ति गर्न सकिने बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रेग्मीले बताए ।
खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या छ । संस्थाले खानेपानी आयोजना निर्माण र क्षमता बिस्तार गर्न यसअघि नगर बिकास कोषबाट लिएको रु. एक करोड १४ लाख ३८ हजार ७२९ ऋण तिर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस !