सुचारु हुन सकेन माथिल्लो मर्स्याङ्दी ‘ए’
बाढी पहिराले क्षति पुयाएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत लमजुङ जिल्लास्थित मर्स्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन।
गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै संरचना हालसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा विद्युत् उत्पादन हुन नसकेको हो। आयोजनाका अनुसार दुईवटै टर्बाइनलगायतका संरचनामा क्षति पुगेको छ। बाढीले क्षति पुगेका अन्य संरचना निर्माण भइरहेको छ।
यी दुवै टर्बाइन नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत् उत्पादन गर्न करिब तीन महिना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए। उनका अनुसार बाढीले आयोजनाको बाँधस्थलदेखि पावर हाउस र ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा क्षति पुगेको छ। बाढीले ११ केभीका १० खम्बा बगाएको थियो भने ३० ढालेको थियो । यतिबेला खम्बा राख्ने तथा मर्मत गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।
विद्युत् उत्पादन अवरुद्ध हुदाँ दैनिक झण्डै एक करोड रुपैयाको नोक्सान भइरहेको आयोजना जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए। आयोजनाका अनुसार बिजुली उत्पादन नहुँदा हालसम्म रु ७५ करोडभन्दा बढी नोक्सान भइसकेको छ। अझै तीन महिनासम्मै बिजुली उत्पादन गर्न लागेमा करिब एक अर्ब नोक्सान हुने बताइएको छ।
क्षतिग्रस्त विद्युत्–गृहका उपकरण चीनबाट आयात गर्ने तयारी भएको आयोजनाले जनाएको छ। त्यस्तै क्षति पुगेका आयोजनाका अन्य संरचनामा मर्मत कार्य जारी छ। विद्युत् उत्पादन थालेको आयोजनामध्ये यो जिल्लाकै दोस्रो हो ।
प्रतिक्रिया दिनुहोस !