राप्ती प्रादेशिक अस्पतालका चिकित्सक आन्दोलित
दाङ : राप्ती प्रादेशिक अस्पतालमा तेस्रो दिन पनि चिकित्सक आन्दोलित छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बिनोद सिंहमाथि दुर्व्यवहार भएपछि अस्पताल तनावग्रस्त बनेको हो । घटनापछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु दोषीलाई कारवाहीको मागसहित आन्दोलनमा उत्रिएका छन् ।
प्रादेशिक अस्पतालसहित तुलसीपुरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आइतबार विरोध गर्दै सडकमा निस्केका छन्। उनीहरुले बजार परिक्रमा गरी विरोध जनाएका छन् ।
घटना भएको तेस्रो दिनसम्म पनि घटनामा संलग्न दोषी पक्राउ पर्न नसकेको भन्दै उनीहरु आक्रोसित बनेका हुन्। दोषी पक्राउ नपर्दासम्म अस्पतालका आकस्मिक, डायलासिस र प्रसूति सेवाबाहेक अरु सेवा बन्द गरिएको सघंष मितिका सम्योजक डा. ॐ अर्यालले बताए । उनले दोषीलाई कारवाही नहुँदा आन्दोलन जारी रहने बताए।
चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध हुँदा अस्पताल आउने बिरामीले सास्ती पाएका छन् । अस्पतालमा अन्य सेवा बन्द गरेर उनीहरु आन्दोलित हुँदा उपचारका लागि अस्पतालमा आएका बिरामीहरु त्यसै फर्किन बाध्य भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनामा संलग्न दोषी उम्कन नसक्ने बताए । शुक्रबार दिउँसो २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहितका युवाहरूले डा. सिंहमाथि दुव्र्यवहार गरेका थिए ।
अस्पतालमा विवाद भएपछि परियारसहितको टोलीले डा.सिंहलाई मोसो दलेपछि अहिले अस्पताल तनावग्रस्त बनेको छ ।दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सेवा नरोक्न आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !