भगवती कोत मन्दिर पुनःनिर्माण
बेनी : म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका-२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण गरेको हो ।
विभागसँग ठेक्का सम्झौता गरेको मिलिजुली-किवेष्ट जेभीले नयाँ मन्दिर निर्माणको काम सम्पन्न गरेको जनाएको छ । मन्दिर पुननिर्माणका लागि मिलीजुली-किवेष्ट जेभीले करसहित ६९ लाख ३० हजार ५६६ रुपैयाँमा २०७७ फागुन २३ गते ठेक्का सम्झौता गरेको थियो । वडा अध्यक्ष रिम कटुवालले करिब पाँच महिनामा मन्दिर पुननिर्माण सकेर ठेकेदार फर्किएका बताए।
‘मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भुकम्प प्रतिरोधी बनाउने गरी पुनःनिर्माण भएको छ,’ उनले भने ‘भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरि ढुंगा र काठकै सामग्री प्रयोग गरेका छन् ।’ पुरानै शैलीमा निर्माण भएको मन्दिरमा सिमेन्ट र रडको प्रयोग गरिएको छैन ।' चुना, सुर्की, गिट्टी र बालुवा प्रयोग गरेर पर्खाल बनाइएको कम्पनीका प्रतिनिधी राजिब ढुङ्गेलले बताए ।
बाइसे चौबिसे राज्यका पालामा १७ औं शताब्दीमा भगवतिमा मन्दिर निर्माण भएको थियो । भगवति कोत म्याग्दीका पुराना र ऐतिहासिक कोतको सूचीमा अगाडी छ । चैते र वडा दशैँको अवसरमा विषेश पुजा हुने हुने भगवती कोतमा अन्य समयमा दैनिक नृत्य पुजा हुन्छ । भगवती कोत शक्तिपिठ हो । दशैको पुजामा यहाँ बली चढाउने चलन छ ।
धौलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिर परिसरबाट कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोटसँगै अन्नपुर्ण र निलगिरी हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न जोड दिइएको स्थानीयबासी समेत रहेका जिसस प्रमुख देबेन्द्र कटुवालले बताए ।
जिल्ला सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवती कोतमन्दिरमा पुग्न बेनी-गलेश्वर-पिप्ले-भगवती सडकको सहज पुहँच छ । पैदलयात्रा मार्फत पनि पुग्न सकिन्छ ।
तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिने यो मन्दिरको इतिहास नेपाल एकिकरण हुनुअघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औं शताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसँग जोडिएको इतिहास छ ।
प्रतिक्रिया दिनुहोस !