सामाजिक विकास कार्यालय स्थापना
कुश्मा : पर्वतमा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहनेगरी कार्यालय स्थापना गरिएको हो।
सदरमुकाम कुश्मा बजारस्थित वडागाउँमा रहेको साविक भुकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) रहेको भवनमा यो कार्यालय स्थापना गरिएको हो। विशेषगरी शिक्षा, संस्कृति, जेष्ठ नागरिक, महिला तथा बालबालिका, अल्पसंख्यक, पिछडिएका वर्ग, सामाजिक सुरक्षा, श्रम तथा रोजगार लगायतका क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको हो।
उक्त कार्यालयको गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ उद्घाटन गरेका छन्। सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नगरेको बताए।
प्रदेश सरकारका सेवाहरु हरेक जिल्लाबाट प्रवाह गर्नका लागि कार्यालय सञ्चाालन गरिएको भएपछि स्थानीय तहका अधिकार खोस्न खोजेको आरोप लागेको उनको भनाई थियो। उनले पछि परेका समुदायका लागि राज्य रहेको अनुभुती हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताए। मन्त्री श्रेष्ठले पिछडिएको समुदायलाई राज्यको पहुँचमा ल्याउन प्रदेश सरकारले आफ्ना गतिबिधिहरु गरिरहेको दावी गर्दै नागरिकलाई जति राज्यका सेवा सुविधा द्रुत र सर्वसुलभ रुपमा प्रदान गर्न सरकार लागिपरेको बताए।
पछिल्लो पटक बनेको संविधान जनतकाको सहभागितामा बनेको भन्दै उनले अहिलेको संघीयताको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले कर्मचारीहरुलाई नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेगरी काम गर्न निर्देशन समेत दिएका हुन्। कर्मचारीले हरेक ठाउँमा देखाउन समस्या राजनीतिक कारणले भएको भन्दै दोसारोपण गर्दा जनताले सुविधा पाउनबाट वञ्चित हुने गरेको उनको भनाई छ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेलले लक्षित वर्गले प्रत्यक्ष फाईदा पुग्नेगरी कार्यालयले काम गर्नुपर्नेमा जोड दिए।कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले प्रदेश सरकारले राजनीति गर्नका लागि मात्र कार्यालय विस्तार गर्न नहुने बताउँदै नागरिकहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्। उनले संघ र प्रदेश सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरिरहेको आरोप समेत लगाए।
फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा संघीयताको सफल कार्यान्वयनमा जटिलता थपिएको बताए। स्थानीय तहका अधिकार क्षेत्रभित्र रहेका कामहरु पनि संघ र प्रदेशले गर्दा दोहोरोपना बढेको बताउँदै आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री लगायतले कार्यालयको सेवा चुस्त र प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस !