आउन थाले पर्यटक

आउन थाले पर्यटक

चितवन : गत साता सौराहाको होटल पार्क सफारी होटलमा विदेशी पर्यटकको  समूह देखिए। लगातार दुई वर्षदेखि आगमन प्रायः ठप्प भएको सौराहा आएको विदेशी पर्यटक देख्दा व्यवसायी दंग परे। दक्षिण एसिया र युरोपेली मुलुकबाट २० जना आएका थिए। लकडाउनपछि चितवन घुम्न आएको विदेशी पर्यटकको पहिलो समूह हो। कोरोनाको जोखिमले थिलथिलो परेको व्यवसायमा विदेशी समूह देखिँदा व्यवसायीलाई  आशा जगाएको छ। ‘पर्यटन व्यवसायमा निराशापन छाएको बेला यसरी विदेशी आउँदा हामीलाई ठूलो आशा जागेको छ’, पार्क सफारी होटलका सञ्चालक महेश खनालले भने, ‘बाह्य पर्यटक आउनु भनेको वातावरण सहज हुन थालेको भन्ने ठानेका छौं।’ 

कोभिडको जोखिमका कारण लगातार दुई वर्ष पर्यटकीय गतिविधि ठप्प थियो। लकडाउनले होटल व्यवसाय नराम्ररी प्रभावित बन्यो। सुनसान बनेको होटलमा फाट्टफुट्ट भए पनि पाहुना आउन थालेपछि व्यवसायी खुसी छन्। सरकारले पहल गरिदिए व्यवयाय सहज हुने उनीहरूको भनाइ छ। 

लामो समय व्यवसाय सञ्चालन नहुँदा व्यवसायी निराश छन्। फाट्टफुट्ट आउने आन्तरिक पर्यटकको भरमा चित्त बुझाएर बसेका छन्। शुक्रबारबाहेक अन्य दिनमा चहलपहल शून्यजस्तै हुन्छ। व्यवसाय नचलेपछि बैंकको ऋणको ब्याज तिर्न उनीहरूलाई हम्मे परेको छ। अब पर्यटक बढ्नेमा आशा जागेको होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मीले बताए। ‘वातावरण केही सहज भएसँगै व्यवसाय चल्छ भन्ने लागेको छ’ उनले भने।  

सरकारले विदेशी पर्यटकको आवागमनलाई व्यवस्थित गर्न अन अराइभल भिसा दिने निर्णय गरेसँगै व्यवसायी खुसी भएका छन्। होटल सेन्ट्रल पार्कका सञ्चालक श्याम महतले अनअराइभल भिसाको व्यवस्थाले पर्यटन प्रवद्र्धन हुने बताए।  ‘यसले पर्यटक आउनलाई धेरै सहज बनाउँछ,’ उनले भने ‘यसले पर्यटक बढ्नेछन्।’ 

तर उडान संख्या कम भएका कारण हवाई भाडा झन्डै दोब्बर महँगो छ। यस कारण पनि नेपाल आउने पर्यटकको संख्या कम छ। हवाई भाडादर कम भए मात्रै विदेशी पर्यटकका लागि सहज हुने क्षेत्रीय होटल संघ चितवन च्याप्टरका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए। ‘उडान संख्या बढाएर भए पनि भाडा कम हुने व्यवस्था भए बल्ल पर्यटनमा सहज हुन्छ।’

साउन र भदौमा  १ सय ७८ जना विदेशीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरे। यीमध्ये ९८ जना सार्क मुलुकका थिए। गत आर्थिक वर्षमा ९२ हजार २ सय ९ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए। यीमध्ये २  हजार ६ सय ८जना विदेशी थिए। तीमध्येका पनि १ हजार ३ सय ६४ जना सार्क मुलुकबाट आएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।  

चितवनमा सौराहा, जगतपुर, पटिहानी र मेघौलीमा पर्यटकीय होटल छन्। वन्यजन्तु अवलोकनका लागि पर्यटक आउने गर्छन्। सानाठूला गरेर चितवनमा झन्डै १ सय ६० वटा होटल छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.