लोकप्रिय बन्दै 'हरित अभियान'
बर्दिबास : चुरे संरक्षणका लागि नागरिक स्तरबाट सञ्चालन गरिएको 'हरित अभियान' महोत्तरीको बर्दिबासमा लोकप्रिय बनेको छ। चुरे दोहनले जलवायु परिवर्तनको असर देखिएको छ। वातावरण जोगाउन पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले हरित अभियान चलाएका छन्।
हालै बर्दिबासस्थित नगर कृषि कार्यक्रम आयोजनाअन्तर्गतको मोडेल एग्रो भिलेजमा साढे ८ सय आँपको बिरुवा रोपिएको छ। सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले सो बिरुवा उपलब्ध गराएको थियो। जलवायु परिवर्तनको भयावह स्थितिको सामना गर्न हरित अभियान प्रभावकारी बन्ने लक्ष्य लिइएको छ। वातावरणलाई सन्तुलित बनाइराख्न वृक्षारोपन महत्वपुर्ण हुने महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेको नेता पोखरेलको भनाई छ।
‘रुखले हामीलाई अक्सिजन दिन्छ। त्यसैले हरित अभियान मानव जीवनका लागि भेण्टिलेटर जस्तै हो,’उनले भने,‘जलवायु परिवर्तनका विश्वको एजेण्डा बनेको छ।’
यसै बर्ष ६० हजार बिरुवा रोपिसकिएको बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले जनाए। यहाँका सार्वजनिक जग्गाहरुमा आँप, लिची लगातका फलफूलका बिरुवा रोपिएको छ। अब बालुवा, गिट्टीभन्दा फलफूल बिक्री गर्नुपर्ने हरित अभियानको मुल मर्म हो।
मोडेल एग्रो भिलेजको ८५ बिगाह क्षेत्रफलमा करिब १० हजार फलफूलका बिरुवाहरु रोपिएको छ। रातु नदिको तटिय क्षेत्रमा ३० हजार बिरुवा रोपिसकिएको बर्दिबास नगरपालिकाले जनाएको छ।
वन फडानी, नदी दोहोन, चुरे दोहन भइरहेको छ। यसले गर्दा खानेपानीको मुहान भटाभट सुकिरहेको बर्दिबासका स्थानीय मकरलाल विश्वकर्मा बताउँछन्। वातावरण संरक्षणमा बर्दिबास, भंगहा र गौशालाका नागरिकहरु जुटिरहेका छन्।
हरित अभियानमा अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, पालिका खबरका अध्यक्ष शिव अधिकारीले हरित अभियानको प्रशंसा गरे। सञ्चार माध्यमले वातावरण संरक्षणलाई पनि मुल बिषय बनाएको उनीहरुले उल्लेख गरेका थिए।
प्रतिक्रिया दिनुहोस !