नेपाल आइडलमा एलेक्स
![नेपाल आइडलमा एलेक्स](https://annapurnapost.prixacdn.net/media/albums/Nepal-Idol-Pokhara-Alex2_20211008025704_gaH4ObXlaF.jpg)
पोखरा : ९ वर्षअघि नेपाल आएका थिए एलेक्स। बेलायतबाट घुमफिर गर्दै आइपुगेका उनलाई नेपाल यति मन पर्यो कि यतै बस्न थाले। यहाँका संस्कृति मन पर्यो, मान्छे मन पर्यो उनलाई। अझ पोखराको मोहनीमा त उनी भुतुक्कै भए। गीत संगीत उनको रुचिको विषय हो। संगीतका लागि यहाँका वातावरण प्रेरक ठानेका एलेक्स आफूलाई नेपाली भन्न रुचाउँछन्। भन्छन्, ‘मेरो नाम एलेक्सबहादुर नेपाली हो।’
गितार बजाउनु, धुन भर्नु र गुन्गुनाउनु एलेक्सको दिनचर्या हो। नेपाली गीत रचेका छन्। गाएका पनि छन्। अब उनलाई धोको छ एल्बम निकाल्ने। एल्बमको अन्तिम तयारी गरिरहँदा एलेक्सलाई थाहा भयो—गायन रियालिटी सो नेपाल आइडलको अडिसन सुरु भएको छ। उनले पनि नाम भरे। बिहीबार पोखरा लेकसाइडको हेरिटेज होटलमा उनी अडिसनका लागि गितार बोकेर पुगेका थिए। दौरा सुरुवाल र ढाका टोपीमा सजिएका उनी पालो पर्खिरहँदा अन्नपूर्णसँग भेट भयो। नेपाल आइडलको प्रतियोगिका रुपमा अगाडि बढ्नेभन्दा पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नु उनको उद्देश्य रहेछ। ‘जर्जले के भन्नुहुन्छ खै ? उनले अंग्रेजी लजवमै बोले।
नेपाल आइडलको सिजन ४ का लागि बिहीबार पोखरामा अडिसन थियो। त्यहाँ एलेक्सभन्दा अगाडिको पालोमा थिइन् वर्षा श्रेष्ठ। जो भारतदेखि यही अडिसनका लागि आइपुगेकी हुन्। उनको घर त नवलपरासी हो। तर भारतको पटनामा बसेर पढ्छिन्। आफ्नै गुरुको साथ लागेर उनी पोखरा आइपुगेकी हुन्।
वर्षालाई सानैदेखि गीतसंगीतमा रुचि थियो। आमाले उनको रुचिमा हौसला थपिन्। संगीत नै पढ्ने धोका पूरा गर्न पटनाको क्याम्पसमा भर्ना गरिदिइन्, जहाँ अहिले वर्षा स्नातक तह पहिलो वर्षमा पढ्दैछिन्। संगीत नै उनको मुख्य विषय हो। शास्त्रीय संगीतको अध्ययन गरिरहेकी उनी सुगम संगीतमा रुचि राख्छिन्। नेपाल आइडलको अडिसनमा कुन्ती मोक्तानको गीत ‘म त हिँड्छु, मेरै बाटो, खुट्टा तान्दै गर...’ गाउने अन्नपूर्णलाई सुनाइन्।
हेटौंडाकी शान्ति प्रसाईं अडिसनको पालो कुर्नेहरुकै माझमा थिइन्। आफैँ भने गाउन आएकी रहेन छिन्। साथ ल्याएकी थिइन् छोरी। छोरीको गायन धोको पूरा गर्नै हेटौंडादेखि पोखरा आएको उनले सुनाइन्। नेपाल आइडलको अडिसन यसअघि नेपालगन्जमा भएको थियो। अब काठमाडौंमा खुला अडिसन हुनसक्ने एपीवान टेलिभिजनका निर्देशक सुरेश पौडेलले जानकारी दिए। एपीवान टेलिभिजनकै कार्यक्रम हो ‘नेपाल आइडल’।
नेपाल आइडल अडिसनका लागि टेलिभिजनले डिजिटल माध्यमबाट फर्म खुला गरेको थियो। ५ हजार जनाले फर्म भरेको जानकारी पौडेलले दिए। उनकै भनाइमा देशका प्रमुखहरुका अडिसनबाट ७०/८० जनाका दरले छनोट गर्ने योजना छ। पौडेलले मंसिरमा नेपाल आइडलको प्रसारण एपीवान टेलिभिजनबाट हुने जानकारी पनि दिए। नेपाल आइडल सिजन ४ मा शम्भुजीत बास्कोटा, सुगम पोखरेल र सुवाणी मोक्तान निर्णायक छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)