सार्वजनिक यातायातमा सावधानी

दसैंमा संक्रमण कम देखिए पनि फर्कनेको लर्काे, जाडोको सुरुआतले संक्रमणको अर्काे लहर देखिनेमा शंका छ।
कोरोना महामारीले अघिल्ला दसैंै खल्लो बनाएकोमा यसपटक भने सबैले मन, धन र तन खुलाएर बिताए। धेरै नागरिकले कोरोना खोप पाएकाले जटिलता र मृत्यु नगन्य भएपछि लकडाउन रहेन। सबै पसल खोल्न र जीवन चलायमान भए पनि सरकार जनस्वास्थ्य मापदण्ड पालनामा निरन्तर सावधानी र निगरानीमा जोड दिइरहेको छ। तथापि व्यापारीलाई बेच्न र उपभोक्तालाई किन्न मात्र ध्याउन्न छ। सार्वजनिक यातायातमा खुट्टा टेक्ने ठाउँ छैन। भीड थामी नसक्नु छ। खोप लगाएका निर्धक्क छन्, कान तथा चिउँडोमा मास्क हुन्छ। अब चाडबाडपश्चात् संक्रमण फैलने हो कि भन्नेमा सबै सशंकित छन्। जोगिएर चाडबाड मनाउनुको विकल्प थिएन तथापि त्यसो देखिएन।
कोरोना तथा रोगमैत्री चाडबाड
चाडबाडकै नाममा जीवनशैली अनियमित र मनाउने तरिका अस्वस्थकर भइदिँदा विभिन्न स्वास्थ्य समस्याबाट आजकल हामीहरू जगडिरहेका छौ। पाहुना, साथीभाइ घरमा भएकाले आवश्यक मात्रामा पनि सुत्दैनौ। बिहान चाँडै उठेर व्यायाम तथा घुमफिर गर्ने काम पनि खुसी साथै छोड्छौं। चाडबाडमा यस्ता नियमित र स्वस्थकर कुराले महत्व गुमाउनु र हाम्रा लागि जरुरी नभएपछि स्वास्थ्य समस्या निम्त्याउँछ। त्यस्तै राति ८ बजेअघि खाना खाने र १० बजेभित्र सुत्ने सम्भावना पनि कम रहन्छ। घरपरिवारलाई दिने समय पनि दिन सकिँदैन। हामीले गरिरहेका बानी अपनाएका जीवनशैलीले हिजोसम्म स्वस्थकर खाना र जीवनशैलीका बारेमा
शिक्षा दिने
अभिभावकप्रतिको विश्वास डगमगाउँछ। जसले बालबालिकालाई समेत नकारात्मक असर पार्दछ। चाड मनाउने भनेको एकदमै रक्सी खाने, धूमपान गर्ने, मासु खाने एकसाथै आउँछन्।
खानेकुराको परिमाण पनि बढ्छ। रक्सीसँगै सेवन गरिने खानेकुरा पनि नुन र तेल बढी भएका तयारी खानाकै प्रचुरता बढ्छ। निष्क्रिय धूमपान गर्न बाध्य पनि भइन्छ र बन(ाइन्छ। रक्सी सेवन तब यात्राले सडक दुर्घटनाले अस्पतालका आकस्मिक कक्ष भरिने गर्छन्। ट्राइग्लिसिराइड, युरिक एसिड, सुगर, उच्च रक्तचाप, मोटोपनाजस्ता दीर्घरोगको मात्रा र गाम्भीर्यता ३० देखि ५० प्रतिशत माथि गएको हुन्छ। जसको स्तर ठीकमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही न केही नोक्सान भइसकेको हुन्छ। उपभोग गर्ने मासु अस्वस्थ भइदिनाले १ सय ६० प्रकारका रोगहरूले आक्रमण गर्न सक्छन्।
सार्वजनिक यातायात
महिनौंसम्म बस सञ्चालन ठप्प भएर आत्तिएका सञ्चालक, मजदुर तथा यात्रुहरू लकडाउनपछि खुलेको निर्णयबाट खुसी थिए। तथापि स्वास्थ्य सुरक्षाको चुनौती थपियो। लकडाउनबाट व्यवसाय चौपट भएर धान्नै नसकेर मात्र बस चलाउन थालिए पनि सबैलाई कोरोना भाग्यो भन्दै स्वास्थ्यको ख्यालै गरिएका छैनन्। सवारी चलेपछि राजधानीभित्रै तथा बाहिरसँग मानव सम्पर्क बढ्दै जाँदा संक्रमितले देशै चौपट पार्ने डर छ। हरेक दिन बस सञ्चालन अघिको पूर्वसर्तस्वरूप बसभित्र पालना गर्नुपर्छ। जसअनुसार स्यानिटाइजर राख्ने, यात्रुबीच स्वास्थ्य मापदण्ड, भाडा लिनेदिने बेला दूरी कायम, मास्क प्रयोग, फुटकर तयार तथा नगद कम प्रयोग, मास्कबिना यात्रुको यात्रा नगराउने, अनुगमन गरी कारबाहीको दायरामा ल्याउने नियम कागतमै सीमित भए।
यातायात साधनमा ज्यान जोखिम, अकाल मृत्यृ, अपांगता एकातिर छ। अर्कातर्फ यसबाट स्वास्थ्यमा पार्ने अनेकन समस्या कहालीलाग्दो रूपमा छन्। क्षमताभन्दा बढी यात्रु राख्ने, सेवा प्रदान गर्न नसक्ने गाडीहरूको प्रयोग भइराख्नु, साधन चल्न अनपयुक्त बाटोहरूमा गाडी चलाउनु, हावा प्रवेशको सुविधासमेत नभएका गाडीहरूको प्रयोग हुनु समस्या हुन्। यसैगरी चल्न सक्ने क्षमता निर्धारण बिनै चल्नु, सिन्डिकेटले गर्दा यात्रुलाई छनोटको अधिकार नहुनु, प्रतिस्पर्धा कानुनको उपहास गर्नु, सामान र यात्रुलाई एउटै साधनमा राख्नु समस्या हुन्।
यसैगरी यातायात व्यवसायीको सामाजिक उत्तरदायित्व मानवीय व्यवहार नहुनु गाडीका छतमा यात्रु, पुराना गाडीको प्रयोग, समय पद्दतिको अनुसरण नगर्नु, ट्राफिक प्रहरीलाई सहयोगी नभई शत्रुका रूपमा लिनु, मापसे गरी सवारी चलाउनुले यात्रु हैरान छन्। सिट नभए पनि उभिन बाध्य पार्ने, सीमित नाम मात्रका सिट राख्ने, पछाडि फर्केर अस्वस्थकर सिट राख्ने र बस्न बाध्य बनाउने, दिसापिसाब गर्न नपाउने ठाउँमा खाना र नास्ताका लागि सवारीसाधन रोक्ने, अनावश्यक प्रतिस्पर्धा र उछिन्ने कार्यले यात्रुको स्वास्थ्यमा नकारात्मक असर पार्दछ। यात्रुलाई दुःख, झन्झट र हैरानी दिने नै नेपाली यातायातको पर्याय बनेको छ।
संक्रमण घटेको भन्दै हेलचेक्र्याइँ
सहचालक जोरसँग नकराउने, धेरैले समाउने ह्यान्डल, चुकुल, डन्डी पटकपटक स्यानिटाइजर गर्ने, भाषण, गीत गाउने नारा लगाउने काममा संलग्न नहुने, जुठो नखाने, अंकमाल नगर्ने, गुम्म परेको कोठामा नबस्ने, कुनै पनि सतह, शंकास्पद ठाउँ, शौचालय, भर्याङका डन्डी, टेबल, सोफा नछुने, यदि छाइहाले आँखा, नाक र मुख नछुने र हातधुनेजस्ता नियम पालना गर्नैपर्छ। पैसामा थुक लगाएर नगन्ने, फुटकर मिलाएर भाडा यात्रुले दिने। यातायात व्यवस्था विभागले कोभिड—१९ संक्रमण रोकथामका लागि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै फेस सिल्ड वा भाइजरको प्रयोग अनिवार्य गरेको छ।
दसैंमा संक्रमण कम देखिए पनि फर्कनेको लर्को, जाडोको सुरुआतले संक्रमणको अर्काे लहर देखिनेमा शंका छ। जाडोमा उपत्यकामा पनि झ्यालढोका थुनेर एउटै कोठामा बस्ने सुत्नेले संक्रमण बिस्तारमा सघाउनेछ। चाडबाडमा धेरै व्यक्ति एउटै कोठामा कोचिएर घण्टौंसम्म सामूहिक पूजा, भोजलगायत गफिने, तास खेल्ने, धूमपान, मदिरा र तयारी खाना सेवन गर्ने गरिन्छ। दसंै आफैंमा १५ दिनसम्मको सामूहिक मेला वा पर्व नै हो। दसंैसँगै पर्वको रौनकभन्दा पनि कोभिड—१९ संक्रमणको त्रास चुलिएको छ।
जतिसुकै भने पनि दसंैतिहार मान्न जाने र आउनेहरूको संख्यामा दैनिक बढोत्तरी छ, जसले एक स्थानबाट अर्काे स्थानमा कोभिड भाइरस पुगिरहेको छ। विशेषत रात्रिबसमा झ्यालढोका बन्द गर्ने, हावा ओहोरदोहोर नहुने, एसी चलाउने, मास्क नलगाएर सुत्नेले थप संक्रमणको सम्भावना बढाउँछ। त्यसैमा माइक्रोबस लगायतका साना गाडीमा लामो यात्रा झन् जोखिमपूर्ण रहन्छ। एकजनाले रात्रिबसमा भएका ९० प्रतिशतसम्म व्यक्तिमा कोभिड सार्न सक्छ। किनभने १५ मिनेटभन्दा बढी घण्टौंको निकटता, झ्यालढोका थुनिएको, एसी सञ्चालन आदिले संक्रमण बढाउने हो।
त्यसै पनि यातायात स्वास्थ्यका महत्वपूर्ण आयाममा एक जनाको स्वास्थ्यका कारणले अर्काको स्वास्थ्यमा प्रभाव पार्न नहुने, यातायात साधनका कारणले मानव स्वास्थ्यमा प्रभाव पार्न नहुने, यात्रा स्वस्थ हुनपर्ने, विशेष अवस्थामा रहेकाका लागि उपयुक्त सवारी व्यवस्था हुनु, सामान्य दुर्घटना भएका अवस्थामा प्राथमिक उपचारको उपलब्धताको व्यवस्था पर्दछन्। हरेक नागरिकले मानव स्वास्थ्यमैत्री यातायातका साधन प्रयोग गर्ने चाहना हुनु स्वाभाविक मात्र नभई उनीहरूको अधिकार पनि हो। यात्राका लागि तिरेको रकम कुनै ठाउँमा पुग्न मात्र नभएर स्वास्थ्य संरक्षणका लागि पनि हो। यातायात स्वास्थ्यमा यात्रुको शारीरिक, मानसिक, सामाजिक, वातावरणीय, व्यावसायिक एवं आर्थिक आयामसमेत रहन जान्छ।
अन्तमा, प्रहरीको आ“खा छलेर टनाटन यात्रु कोच्ने यातायात सञ्चालक तथा जसरी पनि पुग्नु छ भनेर कोचाकोच गरेर चढ्ने यात्रु दुवैले बानी सुधार्नपर्छ। केही समय पहिले निस्किने र खाली बस केही समय कुरेर एसएमएस अपनाएर यात्रा गर्ने बानी बसाल्नु पर्छ। सार्वजनिक यातायात प्रयोग गर्दा कोरोनालाई नहेपौं, यो महामारी हो, व्यथाले च्यापेर, अप्ठेरो भएर पनि अस्पतालमा आईसीयू या भेन्टिलेटरसमेत नपाउँदाको दुःख, मृतक आफन्तको परम्परागत रूपमा शतगत गर्न नपाउँदाको पीडा सम्झेर पनि हरेक समय र स्थानमा सतर्क बनौं।
लेखक डा. बुढाथोकी नेपाल चिकित्सक संघका कोषाध्यक्ष हुन्।
प्रतिक्रिया दिनुहोस !
