ऐंठन भोगिरहेछ गाउँ
एउटा मान्यता छ– परिवारका सदस्य शनिबार छुट्नु हुँदैन। हामी त्यही भएर आइतबार मात्रै हिँड्ने भनी असोज ३० गते गाउँमै रह्यौं। बरु जेठा दाजु सैतबहादुरसँग चिसोपानी पञ्चमी बजार गयौं। दसैंको भोलिपल्ट भए पनि चहलपहल खासै थिएन। काठमाडौं फर्किन दमकसम्म गाडीको कुरा गर्यौं। वडाध्यक्ष (माङ्सेबुङ गाउँपालिका–६) प्रदीप साङपाङसँग भेट नगरी कसरी फर्किनु ? कतै व्यस्त रहेको खबर पाएपछि अग्रज सुदीप राईसँग उहाँकै घर गएँ। केहीबेरमा प्रदीप राई (एवाई) आइपुग्नुभयो। त्यसपछि काइला दाजु अशोक पनि निनामहाङ लिएर सुदीप दाइकै घरमा आइपुग्नुभयो। त्यहाँ गफिएर फर्किंदा वडाध्यक्षसँग भेट भयो। उहाँसँग सरकारी कामकाजको भाषाबारे कुरा भयो।
घर आइपुग्दा साँझ पर्न लागेको थियो। बादल मडारिरहेको थियो। सिस्नो टिप्न के पसेको थिएँ, पानी पर्न थाल्यो। त्यत्तिकै फर्किनुपर्यो। त्यसो त गाउँ पुगेदेखि नै घाम चर्को थियो। फर्किने बेला पानी परेपछि बाटोको अवस्था के होला भनेर चिन्ता लाग्नु स्वाभाविकै थियो। किनकि, दमक–चिसोपानी–रवि (फाल्गुनन्द) सडक उद्घाटन भएको झन्डै २० वर्षमा पनि पक्की बन्न सकेको छैन। बर्खा लागेपछि रतुवा खोलाले छेक्छ। त्यति मात्रै होइन, पहाडी बाटो हिलाम्मे हुन्छ।
हामी फर्किएको दिन भने त्यति हिलाम्मे भइसकेको रहेनछ। माङमालुङ, नवमी, चतुरे, मानपुर, खलंगे हुँदै लारुम्बा (माङ्सेबुङ)सम्म ओर्लिंदा यात्रा ठीकै रह्यो। लारुम्बा ओरालो पुछारबाट गाडी चिप्लिँदै, घस्रिँदै, नाच्दै गर्न थाल्यो। दोभानमा खोलाको बाटो हिँड्नु नपर्ने भएछ। पुल बनेर देब्रे किनारको बाटो गाडी गुड्न थालेछन्। तर, झरी परेकाले बाटो चिप्लो भएर कम सास्ती परेन। मर्चेबुङभन्दा माथ्लो ठाउँबाट खोलाकै बाटो आउनुपर्यो। खोला निकै धमिलो थियो। जति जंघार तर्यो उति पानीको बहाव बढेजस्तो भान भइरहेथ्यो। कतै बाढीले बगाउने पो हो कि भन्ने पीर। पुल भेटिन्जेल धन्न बाढी आइहालेन। सडक संरचना नबन्दा पुल हेर्दै
गाडीले यसपटक पुलबाटै ल्यायो। तर, त्यहीछेउ बाटो यति अप्ठेरो रहेछ कि कम्ता सास्ती खेप्नु परेन। कतिपय गाडी फसेर हैरान बनायो। हामीभन्दा अगाडिको गाडीले त यात्रु उतारेछ, त्यसलाई खोल्सोको बाटो कटाउन पाँच–सातवटा गाडीका मान्छेले होस्टेमा हैंसे गर्नुपर्यो। त्यो ठाउँ कटेपछि भने बाटो सहज रहेछ। अलिक वरदेखि त बेलडाँगीसम्म कालोपत्रे सडक। त्यसपछि भने गाडीमा ढुक्कले सरर।
०००
हामी गछियामा थियौं। बेमौसमी वर्षा रोकिएन। सोमबारको वर्षाले भित्र्याउन लागेको धान नष्ट पार्यो। अन्नपूर्ण पा(ेस्ट्को कात्तिक २ गते ‘कुबेलाको वर्षाले ठूलो मात्रामा धान नष्ट’ शीर्षकमा मुख्य समाचार छापियो। सोमबारसम्म बाली नष्ट गरेको खबर आइरहेको थियो। मंगलबार त बाढीपहिरोले मानवीय क्षति भएको खबर आउन थाल्यो। राजमार्गहरू ठाउँ–ठाउँमा अवरुद्ध भएको, पहिरोले पुरिएको, बाढीले बगाएको खबर फैलिइरहेको थियो।
बत्ती आउने–जाने भइरहेको थियो। समाचार कम्पाइल गरें। डाटा खोलेर मोबाइल हटस्पटमार्फत सहकर्मीलाई मेसेन्जरमा पठाएँ। त्यसपछि त डाटा पनि चलेन। दुहबी सबस्टेसन डुबानमा परेछ। प्रदेश १ का मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत जिल्लामा मंगलबार साँझदेखि ३८ घण्टा विद्युत् आपूर्ति ठप्प भयो। बिजुली नआउँदा बिहीबार बिहानसम्म इन्टरनेट चलेन। इन्टरनेट नहुँदा कहाँ के भइरहेको छ भनेर बेखबर हुनुपर्यो। मोबाइल ब्याट्री नभएर स्विच अफ भइसकेको थियो।
गृह मन्त्रालयले मंगलबारसम्म १९ जिल्ला प्रभावित भएको प्रेस विज्ञप्ति निकालेको थियो। सुनसरी र डोटीमा २/२, कालीकोट र डडेलधुरामा १/१ जनाको ज्यान गएको उल्लेख थियो। मन्त्रालयको कात्तिक ३ गतेको विज्ञप्तिमा देशभर ७७ को मृत्यु, २६ बेपत्ता, २२ घाइते भएको जनाइएको थियो। अन्नपूर्ण पोस्ट्ले कात्तिक ३ गते ‘बाढीको बबन्डर’ र त्यसको भोलिपल्ट ‘४० जिल्लामा बाढी र पहिरो’ शीर्षकमा मुख्य समाचार प्रकाशन गर्यो। ८७ को मृत्यु, २८ बेपत्ता र १२ घाइते भएको समाचारमा उल्लेख थियो।
०००
बिहीबार बत्ती आएसँगै इन्टरनेट चल्यो। फेसबुकमा कतिपय आफन्तले कल गरेका रहेछन् त कतिपयले म्यासेज छाडेका । गाउँको खबर बुझ्न वडाध्यक्षलाई फोन गरें। कुराकानी हुन सकेन। घरका कसैसँग सम्पर्क भएन। अग्रज ज्योति राईले पहिरोले क्षतविक्षत बनाएको खबर सुनाउनुभयो। पछि जेठा दाइसँग पनि फोनमा कुरा भयो। अरूसँग पनि सम्पर्क हुँदै गयो। बत्ती र इन्टरनेट चलेपछि बाढीपहिरोको फोटो र भिडियोहरू फेसबुकमा छ्यासछ्यास्ती आउन थाले। मनमा प्रश्न उब्जियो– योभन्दा अर्को ठूलो विपत्ति पनि हुन्छ र ? जताततै पहिरो गएको छ। बाटाघाटा अवरुद्ध छन्। घोर्ले भीरलाई पनि पहिरोले नछोडेको सुन्दा अचम्म लाग्यो।
पहिरोले घर पुरिँदा चिसोपानी गैरी गाउँमा एकै परिवारका चार र चिसोपानी पञ्चमी बजारमा पाँचथरपट्टि ११ जनाको ज्यान गयो। मेरा अग्रज सुमन राई र उहाँका साडुदाइ ठाकुर याक्खा बेपत्ता हुनुभयो। उहाँहरू स्थानीय स्वास्थ्यचौकीमा कार्यरत हुनुहुन्थ्यो। बिरामीको उपचार गर्न कुरुम्बा (पाँचथरपट्टि)तिर जाँदा न बोलाएको ठाउँमा पुग्नुभयो न त फर्केरै आउनुभयो। उहाँहरूले बोकेको छाता भने भेटिएको खबर सुरुमै आयो। बाढीपहिरो गएको ठाउँमा नेपाली सेना, सशस्त्र प्रहरी र कुकुरसहित नेपाल प्रहरीको टोली पुगेर पनि खोज्यो भन्छन्। तर, तीन साता बित्दा पनि बेपत्तै हुनुहुन्छ। भाउजू राममाया (रमा) र अरू परिवारजनलाई धैर्य गर्ने शक्ति मिलोस्।
माग उही हो– पीडितहरूलाई सरकारले हेरोस्। विस्थापितले राहत पाऊन्। घरबार गुमाएकालाई उचित बसोबासको व्यवस्था होस्।
वडाध्यक्ष साङपाङका अनुसार गैरी गाउँमा पहिरोले दुई घरको नामनिसानै छैन। ९–१० घर बस्न नमिल्ने भएको छ। करिब ४० स्थानीयवासी विस्थापित भएका छन्। विस्थापितहरू पञ्चमी बजारमा आश्रय लिएर बसिरहेका छन्। आमाछोरा दुई जना घाइते भएका थिए। छोरा डिस्चार्ज भएर फर्किएका छन्। आमा दमकमा आफन्तकहाँ स्वास्थ्यलाभ गरिरहेकी छन्। स्थानीय सरकार (माङसेबुङ गाउँपालिका)ले विस्थापितहरूलाई खाद्यान्न उपलब्ध गराएको छ। गाउँपालिकाले नै मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराएको छ। घर पूर्णक्षति भएको परिवारलाई राहतस्वरूप ३० हजार र आंशिक क्षतिलाई २० हजार दिइने भएको छ। संघीय सरकारका तर्फबाट मृतकका परिवारलाई दुई लाख रुपैयाँ दिन कागजात तयार पार्ने काम भइरहेको छ। चिसोपानी पञ्चमीबाट दमकसम्म साना गाडी चल्न थालेका छन्।
बजारमा इलामपट्टि चार–पाँच घरमा बस्नै नसकिने भएको छ। अरू घर पहिरोको जोखिममा छन्। हेल्थ पोस्टलाई पनि पहिरोले क्षति पुर्याएको छ। यही वडाका अरू ठाउँमा पनि केही स्थानीयवासी विस्थापित भएका छन्। पाँचथरतिर छिमेकी गाउँ कुरुम्बा, सिक्तेम्बा र पाङतुवामा पनि क्षति पुगेको छ। बाढीपहिरोले यसरी देशका विभिन्न भागमा बर्सेनि ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ। तर, विस्थापितहरूलाई उचित राहत पुग्दैन। उनीहरूको पुनःस्थापना/स्थानान्तरणको कुरा उठे पनि काम हुँदैन। जोखिमपूर्ण बस्तीहरूको भौगर्भिक अध्ययन भएन पनि भूगर्भविद्को सुझाव कार्यान्वयन हुँदैन। प्रधानमन्त्री शेरबहादुर देउवाले हालै अक्करमा ओर्लिएर माङसेबुङ (इलाम) र मिक्लाजुङ (पाँचथर)का पीडितका कुरा सुने। केही प्रतिबद्धता जनाए। कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण पनि पीडितसँग भेट गर्न गए। तर, उनले माङसेबुङ र मिक्लाजुङका पीडितका कुरा सुन्न पाएनन्। कुरा उही, माग उही हो–पीडितहरूलाई सरकारले हेरोस्। विस्थापितले राहत पाऊन्। घरबार गुमाएकालाई उचित बसोबासको व्यवस्था होस्। जोखिमपूर्ण ठाउँहरू पहिचान गरी बस्ती स्थानान्तरण गरियोस्। जनता ऐंठन भोगिरहेका छन्।