कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई गण्डकीको मासिक ५ हजार
![कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई गण्डकीको मासिक ५ हजार](https://annapurnapost.prixacdn.net/media/albums/Gandaki-edt_20211126084954_35HpjkWUaK.jpg)
पोखरा: गण्डकी सरकारले कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार रुपैयाँ प्रदान गर्न थालेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार कार्यक्रमको सुरुआत गरे । सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकको तथ्यांक संकलन गरी रकम दिन थालेको हो । पहिलो दिन ३९ मृतकका ६० जना बालबालिकालाई पहिलो चरणको राहत वितरण गरिएको मन्त्री मेखलाल श्रेष्ठले बताए ।
मापदण्ड बमोजिम कागजात पूरा भएपछि क्रमशः वितरण गर्ने सरकारले जनाएको छ । कात्तिक मसान्तसम्मका लागि ११ लाख ५ हजार रुपैयाँ निकासा भएको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले बताए । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अभिभावकविहीनलाई संरक्षण गर्ने दायित्व प्रदेश सरकारको रहेको बताए । उनले भने, ‘हामी बाटोघाटो बनाउँछौं, त्यसका अतिरिक्त सामाजिक क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेका छौं ।’
यस्तै गण्डकी प्रदेशलाई सडक मानवमुक्त घोषणा गरिएको छ । प्रदेश सरकारको अभिभावकत्वमा ११ वटै जिल्लाका प्रशासन कार्यालय, प्रहरी कार्यालय, ८५ वटै पालिका तथा मानव सेवा आश्रमको सहकार्यमा सडक आश्रित सहयोगापेक्षी मानवमुक्त गण्डकी प्रदेश घोषणा गरिएको हो । सडक मानव व्यवस्थापनका लागि सरकारले मानव सेवा आश्रमसँग सम्झौता गरेको छ । सम्झौता बमोजिम सरकारले प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउनेछ । मुख्यमन्त्री पोखरेलले यो सुरुआत भएकाले सफल बनाउन प्रदेशवासीको सहयोग जरुरी रहेको बताए । उनले भने, ‘हामीले दिएको यो रकमले सबै खर्च पुग्छ भन्ने होइन, पवित्र काममा सरकारसँगै छ है भन्नका लागि पनि सुरुवात गरेका हौं ।’
सरकारले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान पनि बिहीबारै सुरु गरेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई १६ दिने अभियानका रुपमा विश्वभर मनाइन्छ । यो वर्ष नेपालको नारा ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ छ । फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले सरकारले नागरिकलाई महसुस हुने गरि काम गर्दै आएको बताए । ५ महिनाको अवधिमा कुनै बाटो बन्ने पुल बन्ने काम हुन नसके पनि सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको उनको भनाइ थियो । कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ प्रदान गर्ने कार्यविधिसमेत तयार भइसकेको मुख्यमन्त्रीले बताए ।
कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले सामाजिक विकासका क्षेत्रमा प्रदेश सरकारले चालेका कदमको प्रशंसा गरे । मानव सेवा आश्रमका अध्यक्ष राजु अधिकारीले सभ्य र जिम्मेवार समाज निर्माणको अभियानमा तीनै तहको सरकारबाट सहयोग हुँदै धारणा राखे ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)