एकै दिन २० हजार परीक्षार्थी पर्यटक पोखरामा

एकै दिन २० हजार परीक्षार्थी पर्यटक पोखरामा

पोखरा : पर्यटकीय हिसाबमा अहिले विदेशी वा स्वदेशी कुनै पनि पाहुना आउने मौसम होइन। तर यति बेला पोखराका पर्यटकीय र अरु होटलहरु पाहुनाले खचाखच भरिएका छन्। लोकसेवा आयोग गण्डकी प्रदेशले खुलाएको जागिरका लागि जाँच दिएका देशभरबाट आएका परीक्षार्थीका कारण यहाँका होटल भरिएका हुन्।

 
पर्यटकीय केन्द्र लेकसाइडका मध्यमस्तरकादेखि बजार क्षेत्र पृथ्वीचोक, न्युरोड, महेन्द्रपुल, बसपार्क लगायत ठाउँका होटलमा परीक्षार्थी बसेका छन्। प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको थियो। आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा खुलाएको दरखास्तमा आवेदन गरेका झन्डै २० हजार परीक्षार्थीले शनिबार लिखित परीक्षामा भाग लिँदैछन्।
 
देशका ७७ वटै जिल्लाबाट दरखास्त परेको आयोगका प्रवक्ता उपसचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए। सुदूरपूर्वको प्रदेश नम्बर १ देखि, प्रदेश २, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्मका व्यक्तिले गण्डकी प्रदेशको लोकसेवाको खुलाएको जागिरका लागि दरखास्त दिएका थिए। लोकसेवाले स्थानीय तह ८७२ जना र ३१ जना प्रदेशका लागि कर्मचारी माग गरेको थियो। मागअनुसार कात्तिक २६ देखि मंसिर ८ गतेसम्म एक चरणको परीक्षा भइसकेको जानकारी आचार्यले दिए।
 
आयोग प्रवक्ता आचार्यका अनुसार शनिबार झन्डै २० हजार परीक्षार्थीले जाँच दिंदैछन्। ९३ वटा परीक्षाकेन्द्रमा जाँच हुन लागेको जानकारी उनले दिए। ‘एउटा केन्द्रमा २ सयदेखि साढे २ सय परीक्षार्थी हुनेछन्’, उनले भने। उनले भनेको संख्याका परीक्षार्थी एउटा केन्द्रमा हुँदा ९३ केन्द्रमा जाँच दिनेको संख्या १९ हजारभन्दा धेरै हुन्छ।
 
आयोगले खुलाएको दरखास्तमा कुल ८५ हजारको दरखास्त परेको थियो। कात्तिक २६ देखि ८ गतेसम्म र शनिबारका ९३ केन्द्र गरी ३ सय ५० भन्दा बढी परीक्षा केन्द्रबाट आयोगले परीक्षा लिइसकेको र लिन लागेको हो। आचार्यका अनुसार एकजना आवेदकबाट आयोगले दरखास्त शुल्क दलित वा महिलाबाट १ सय ५० र खुलामा ३०० लिने गरेको छ। त्यसरी लिँदा गण्डकी प्रदेश सरकारलाई आयोगको परीक्षा शुल्कबाट ४ करोड १ लाख २२ हजार रुपैयाँ राजस्व आम्दानी भएको आचार्यले जानकारी दिए। आयोगले अनलाइनबाट फारम भर्ने, कनेक्ट आइपिएसबाट शुल्क तिर्ने र प्रवेश पत्र आफैंले प्रिन्ट गर्न मिल्ने व्यवस्था मिलाएको थियो।
 
नेपालको संविधानले गरेको रोजगारीको हक अनुसार देशभरका नागरिकले जुनसुकै प्रदेशको आयोगमा खुलाइएको जागिरमा पनि आवेदन दिनसक्ने व्यवस्था वमोजिम यसपालि ७७ जिल्लाबाटै दरखास्त परेको हो। त्यही परीक्षा दिन देशभरबाट युवाहरु पोखरा आउँदा यहाँका होटलले पाहुना पाएका हुन्। प्रदेश सरकारको उपस्थिति भएपछि खुलेको आयोगले खुलाएको रोजगारीको अवसरले राजधानी पोखरालाई देशभरका युवालाई आकर्षित गरेको छ।
 
पश्चिमाञ्चल क्षेत्रीय होटल संघ (हान) पोखराका अध्यक्ष लक्षमण सुवेदीले लेकसाइडका साना होटलहरुमा परीक्षार्थी र शैक्षिक भ्रमण आएका विद्यार्थी पाहुना बनेको जानकारी दिए। उनका अनुसार शुक्रबार भएकाले अरु होटलले पनि केही पाहुना पाएका छन्।
 
लोकसेवा आयोगले गरेको १ हजारजनाभन्दा कमको दरखास्त आह्वानमा एकै दिन झन्डै २० हजार परीक्षार्थी सामेल हुन आउँदा पोखराका होटलले पाहुना पाए पनि यसले अर्कोतिर देशभरको बेरोजगारीको तथ्य पनि सार्वजनिक गरेको छ। शनिबारको परीक्षाका लागि आयोगले प्रदेशका विभिन्न कर्मचारीहरुलाई परिचालन गरेको छ। एउटा परीक्षा केन्द्रमा १५ देखि २० जना कर्मचारी खटिनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.