बाआमालाई चिसोबाट कसरी जोगाउने ?

बाआमालाई चिसोबाट कसरी जोगाउने ?

काठमाडौं : चिसो बढेको छ। यो बेला विभिन्न रोगले सहजै आक्रमण गर्न सक्ने चिकित्सक बताउँछन्। अझै वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा अझै बढी ध्यान दिनुपर्ने सुझाव उनीहरू दिन्छन्। 

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेल भन्छन्, ‘जाडोबाट बा–आमा बचाऔं। समयमै सावधानी नअपनाउँदा चिसोकै कारण ज्यान जाने जोखिम यो उमेरसमूहमा बढी हुन्छ।’

सामान्यतः शरीरको तापक्रम ९६ देखि ९८ डिग्री फरेनहाइट हुन्छ। ९६ डिग्री फरेनहाइटभन्दा कम भए शरीरमा शीतांग (हाइपोथर्मिया) हुने चिकित्सक बताउँछन्। विशेषज्ञ कँडेलका अनुसार वृद्धवस्थामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दै जान्छ। शरीर चिसो भएको अवस्थामा होससमेत हराउन सक्छ।

हिउँ पर्ने हिमाल र शीतलहर चल्ने तराईमा चिसोपनले गर्दा शीतांगलगायत स्वास्थ्य समस्याको जोखिम हुन्छ। समुदायमा आधारित तथ्यांक नभए पनि शीतलहरबाट हरेक वर्ष वृद्धवृद्धाको ज्यान जाने गरेको डा. कँडेल बताउँछन्। 

नेपालमा ६० वर्ष नाघेका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिन्छ। यो उमेरमा रोगसँग लड्ने क्षमता पनि ह्रास हुँदै गइरहेको हुन्छ। राष्ट्रिय जनगणना २०६८ अनुसार ६० वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या २१ लाख ५३ हजार ३ सय ३० छ। सय वर्ष र सोभन्दा माथिका ३ हजार ५ सय ६६ नागरिक छन्। 

ललितपुर च्यासलस्थित बहालमा घाम ताप्दै बत्ती कात्दै ज्येष्ठ नागरिक। तस्बिर : सुनीता डंगोल

जाडोले मुटु, फोक्सोसहित भित्री अंगका साथ बाहिरी भागलाई बढी असर गर्छ। मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, ‘सामान्य रुघाखोकी, रक्तचाप बढ्नेदेखि कडा निमोनिया, मस्तिष्कघात, हृदयघात भएर ज्यानसमेत जान सक्छ।’

भाइरसको भय 
कोरोना भाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१ वर्ष नाघेका २६ ज्येष्ठ नागरिकलाई एकै दिन (शनिबार) कोरोना संक्रमण भएको छ। जसमध्ये सात जना ८० वर्ष नाघेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कोभिड फोकल पर्सन डा. नीरज बमका अनुसार कोरोनाबाट संक्रमित ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको बताउँछन्। ‘कोभिडको संक्रमण पनि ज्येष्ठ नागरिकमा देखिन सुरु भएको छ। अस्पताल भर्ना हुने क्रम बढ्दै गएको छ’, डा. बम भन्छन्। 

त्रिवि शिक्षण अस्पतालमा घाम ताप्दै ज्येष्ठ नागरिक। तस्बिर : दीपेन श्रेष्ठ

मुलुकमा डेल्टा संक्रमण बढी देखिएको छ। ओमिक्रोन भेरियन्ट फैलँदै गएकाले यसको जोखिम झन् चुलिएको छ। 

इन्फ्लुएन्जा भाइरसको जोखिम पनि कायमै छ। चिसो मौसममा यसको संक्रमण उच्च हुने डा. बम बताउँछन्। यो श्वासप्रश्वासमा समस्या पार्ने भाइरस हो। यसमा मृत्युदर भने कम छ। तर, सचेत हुनुपर्ने चिकित्सक बताउँछन्। 

निमोनियाको जोखिम
जाडोका बेला फोक्सोमा संक्रमण हुने जोखिम हुन्छ। फोक्सोका कोषहरू सुनिन्छन्। श्वासप्रश्वासमा बाधा पुग्छ। जसलाई निमोनिया भनिन्छ। यो सरुवा रोग हो। हावाका माध्यमबाट एकबाट अर्को व्यक्तिमा सर्छ। विभिन्न किसिमका ब्याक्टेरिया, भाइरस र फंगसका कारणले यो हुने गर्छ। 

सामान्य रुघाखोकी, रक्तचाप बढ्नेदेखि कडा निमोनिया, मस्तिष्कघात, हृदयघात भएर ज्यानसमेत जान सक्छ। त्यसैले यो समयमा विशेष ख्याल गर्नुपर्छ। 
डा. प्रकाशराज रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ

संक्रमणको जोखिम समूहमा ज्येष्ठ नागरिक एवं दीर्घरोगीहरू पर्नुहुन्छ। भ्रम वा डरका कारण पनि कतिपय खोप लगाउन आउनु भएको छैन। निर्धक्कसँग खोप लगाउन आग्रह गर्छु। 
डा. विवेककुमार लाल, प्रमुख, परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग

जाडोमा झोलिलो खुवाउने क्रममा सुपमा नुनको मात्रा बढी भएर उच्च रक्तचापको समस्या हुन सक्छ। तेलमा तारेको, भुटेको खानेकुरा खाँदा स्वास्थ्य जोखिममा पर्न सक्छ। तेल, घिउ र नुनको मात्रामा पनि ध्यान दिनुपर्छ। उमेर र शारीरिक अवस्था हेरेर खानपानमा ख्याल गर्नुपर्छ। 
डा. रमेश कँडेल, वरिष्ठ ज्येष्ठ नागरिक रोग विशेषज्ञ

ज्येष्ठ नागरिकहरूमा कोरोना संक्रमण पुनः देखिन सुरु भइसकेको छ। अस्पताल भर्ना हुने क्रम बढ्दै गएको छ। सजग रहनुहोस्। सुरक्षा मापदण्डको पालना गर्नुहोस्। 
डा. नीरज बम, वरिष्ठ छाती रोग विशेषज्ञ 

डा. बमका अनुसार निमोनियाविरुद्धको खोप पनि विज्ञ चिकित्सकको सिफारिसमा ज्येष्ठ नागरिकलाई लगाउन सकिन्छ। खोप लगाउनुअघि विज्ञ चिकित्सकसँग सरसल्लाह गर्नु राम्रो हुन्छ। यसका साथै ब्याक्टेरियाको संक्रमणले ज्येष्ठ नागरिकलाई टाइफाइड, आउँ, हैजा, क्षयरोगको जोखिम हुन्छ। 

फंगसको डर
फंगसलाई ढुसी भनिन्छ। फंगस पनि भाइरसजस्तै विभिन्न किसिमका हुन्छन्। नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलका अनुसार फंगसहरू बाहिरी वातावरणमा यत्रतत्र हुन्छन्। भाइरसजस्तै फंगसले पनि शरीरभित्र प्रवेश गरेर असर गर्छन्।

कोरोनाको लक्षण देखिएको तीन साताभित्र कतिपय व्यक्तिमा कालो ढुसीको संक्रमण पाइएको छ। डा. पौडेल भन्छन्, ‘फोहोरमैला, धुलो, कुहिएका फलफूल, पातपतिंगर भएको स्थानमा कालो ढुसीको संक्रमणको जोखिम बढी हुन्छ।’

यो नाकको प्वालबाट शरीरभित्र प्रवेश गर्छ। नाक वरिपरि रहेका साइनससँग फंगसको भेट हुन्छ। साइनसलाई प्रभावित गर्दै आँखाको पछाडि पुगेर त्यहाँका नसाहरूलाई आक्रमण गर्ने डा. पौडेल बताउँछन्। आँखा चलाउने नसाहरूलाई क्षति पुर्‍याउँछ। आँखाबाट दृश्य हेर्न सहयोग पुर्‍याउने नशा (अप्टिक नर्भ )लाई नष्ट गर्छ। मस्तिष्कको तल्लो तहमा पनि असर गर्ने डा. पौडेल बताउँछन्। 

दीर्घ रोगको दर्द
दीर्घ रोगीलाई जाडोले बढी पिरोल्छ। जसमा एचआईभी संक्रमित, रक्तचाप, मधुमेह, मिर्गौला, क्यान्सरको औषधि सेवन गरिरहेकाहरू पर्छन्। यसबाहेक अल्जाइमर्स, डिमेन्सिया, पार्किन्सन्सलगायत समस्याले पनि सताइरहेको हुन्छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, ‘माघ महिना सकिएपछि बूढाबूढीले यसपालिको खड्को टर्‍यो, चिसो जितियो भनेर जाडोलाई कालसरह ठान्ने गरेको पाइन्छ।’ 

काठमाडौं धुम्बाराहीमा अक्सिजनको सहायतामा घरमै उपचाररत ९५ वर्षीया भक्तकुमारी बन्जारा। तस्बिर : दीपेन श्रेष्ठ

७० वर्ष नाघेकाहरूले त जाडो समयलाई कालको संज्ञा दिने गर्छन्। वरिष्ठ छाती रोग विशेषज्ञ डा. बमका अनुसार ६० वर्ष नाघेपछि उमेर बढ्दै जाँदा रोग प्रतिरोधात्मक क्षमतामा पनि ह्रास आइरहेको हुन्छ। ‘अहिले पनि कतिपय ज्येष्ठ बाआमाले रोगको कारण पीडा भोगिरहनुभएको छ। अहिले पनि कोभिड वार्डमा ज्येष्ठ नागरिक भर्ना हुनुभएको छ’, उनी भन्छन्।

डा. कँडेलका अनुसार कोठालाई न्यानो बनाउने क्रममा कोइला बालेर सुत्ने, ग्यास हिटर बाल्दा निसास्सिएर ज्यानसमेत जाने गरेको छ। यसमा सचेत बन्नुपर्छ।

लगाऔं खोप
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लाल चैतसम्म सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी रहेको बताउँछन्। खोपमा ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको डा. लालको भनाइ छ। हालसम्म जनसंख्याको पूर्ण ३१ प्रतिशतले पूर्ण मात्रा र ३९.४ प्रतिशतले एक मात्रा खोप लगाएका छन्। 

खोप लगाउँदा संक्रमणबाट हुने गम्भीर जटिलता वा मृत्यु हुनबाट जोगाउँछ। डा. लाल भन्छन्, ‘संक्रमणको जोखिम समूहमा ज्येष्ठ नागरिक एवं दीर्घरोगीहरू पर्नुहुन्छ। गलत धारणा, भ्रम वा डरका कारण पनि कतिपय खोप लगाउन आउनु भएको छैन’, डा. लाल भन्छन्, ‘सामान्य व्यक्तिलाई दुई डोज खोप दिँदा एन्टिबडी जुन दरमा बन्छ, दीर्घरोगीलाई दुई डोज खोप दिँदा सामान्य व्यक्तिमा झैं एन्टिबडी नबन्न सक्छ। त्यसैले सामान्य व्यक्तिको लेबलमा एन्टिबडी ल्याउन पनि थप मात्रा खोप दिनुपर्ने हुन्छ।’ 

राष्ट्रिय खोप सल्लाहकार समितिले पनि कोरोनाविरुद्ध दुई मात्रा लगाएका दीर्घरोगी र ६० वर्ष नाघेका सबैलाई तेस्रो डोज दिन सिफारिस गरेको छ। कहिलेदेखि खोप दिने भन्ने मिति यकिन भइनसकेको डा. लाल सुनाउँछन्। कोरोना विरुद्धको खोप लगाएको तीन महिनापछि थप मात्रा दिन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि आग्रह गरेको छ।

कोभिड–१९ जस्तै कालो ढुसीबाट जोगिन पनि मास्क लगाउनुपर्छ। कुनै पनि प्रकारका फोहोर, कसिंगर, धुलो आउने स्थान (भवन निर्माण) वरिपरि जाँदा वा काम गर्दा मास्क र पञ्जा लगाउनुपर्छ। कुहिएका फलफूल एवं तरकारी फ्याँकी हाल्नुपर्छ। घर बाहिर वा फोहोरमा काम गर्दा डिस्पोजेबल पन्जाको प्रयोग गर्नुपर्छ।

गरौं स्याहारसुसार
बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवनशैली र रोजगारीका लागि युवा बिदेसिँदा ज्येष्ठ नागरिक एक्लिएका छन्। वृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सके स्याहार पुग्छ। फरक पुस्ताबीचको अन्तक्र्रिया पनि बढ्छ। हेरचाह, स्याहारसुसार र उपयुक्त वातावरण नहुँदा ज्येष्ठ नागरिक बिरामी पर्ने जोखिम बढी हुन्छ। एकल तथा विधुर, शारीरिक एवं मानसिक रूपमा अशक्त, परित्यक्त, असहाय एवं आफ्नो परिवार वा संरक्षक नभएका बाआमा बढी जोखिममा रहेको चिकित्सकको भनाइ छ। 

डा. कँडेलका अनुसार ससाना बालबालिकाझैं बाआमालाई पनि शरीर न्यानो हुने कपडा लगाइदिनुपर्छ। ‘खुट्टामा मोजादेखि शरीरमा न्यानो कपडा, मफलर (गलबन्दी), बाक्लो टोपी लगाइदिनुपर्छ’, उनी भन्छन्, ‘बाक्लो लुगा नभएको अवस्थामा पत्रपत्र गरेर धेरै लुगा लगाउँदा पनि हुन्छ। जाडोका बेला शरीरलाई न्यानो बनाइराख्नुपर्छ। चिसो पानीले नुहाउनु हुँदैन।’ 

बाआमाको शारीरिक एवं मानसिक अवस्थाको ख्याल गर्दै मनतातो पानीले नुहाउनुपर्छ। वा मनतातो पानीमा नरम कपडा भिजाएर शरीर पुछिदिँदा उपयुक्त हुने चिकित्सकको सुझाव छ। 

बाहिर मात्र नभई ज्येष्ठ नागरिकलाई शरीरभित्रबाट न्यानो पार्न खानपानमा पनि ध्यान दिनुपर्छ। डा. कँडेलका अनुसार मनतातो झोलिलो खानेकुराको मात्रा बढाउनुपर्छ। सुप खुवाउन सकिन्छ। तर, सुपमा नुनको मात्रा बढी भएर उच्च रक्तचापको समस्या पनि हुन सक्छ। असहाय, अशक्त, एकल बाआमालाई स्थानीय तहमा पनि दिवा सेवा केन्द्र (क्लब)को व्यवस्था गरेर पनि स्याहारसुसार गर्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.