जबरा सर्वोच्च पुग्छन्, त्यसै फर्कन्छन्
अन्नपूर्ण : गोलाद्वारा पेसी तोकिन थालेपछि सर्वाेच्चमा न्यायाधीशहरू मंसिर १५ देखि नियमित काममा छन्। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने अदालत आउँछन्। मुद्दा हेर्दैनन्। त्यसै फर्कन्छन्।
नेपाल बार, सर्वोच्च बार एसोसिएसनलगायत बार एकाइमा आवद्ध कानुन व्यवसायी आन्दोलनमा उत्रेको डेढ महिना नाघिसक्यो। राजनीतिक दल, पूर्वन्यायाधीश फोरमलगायत अन्य पेसागत संघ–संगठनले निकासका लागि जति आग्रह गरे पनि प्रधानन्यायाधीश जबरा टसमस छैनन्। उनी अदालत आउँछन्, हाजिर गर्छन्। कामै नगरी फर्कन्छन्।
आजभोलि कानुन व्यवसायीहरू बिहानै सर्वोच्च अदालत पुग्छन्। तर, इजलासमा प्रवेश गर्दैनन्। मूल गेटमा धर्ना दिन्छन्। जबराको राजीनामा माग गर्दै नाराबाजी गर्छन्। सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसी यसअघिका २८ जना प्रधानन्यायाधीशलाई ‘न्याय बेचेको वा न्याय दिन इन्कार गरेको’ जस्तो गम्भीर आरोप नलागेको बताउँछन्। ‘प्रधानन्यायाधीश नागरिकको मौलिक हकको संरक्षक र अभिभावक दुवै हो,’ उनले भने, ‘सर्वोच्च नचलेको एक महिना बढी भइसक्यो उहाँले (प्रधानन्यायाधीश जबरा)ले अवसरको सदुपयोग गर्नै जान्नु भएन।’
दिउँसो सुनुवाइ
प्रधानन्यायाधीश जबराबाहेक अन्य न्यायाधीशहरूले मंसिर १५ गतेदेखि नियमित मुद्दा सुनुवाइ गरिरहेका छन्। पेसी तोक्ने अधिकार कटौती भएपछि जबरा तनावमा छन्। उनले तोकेको इजलासमा ८ कात्तिकदेखि अन्य न्यायाधीशले बहिष्कार गरेका थिए। ३८औं दिन (मंसिर १५)मा अन्य न्यायाधीशहरू इजलासमा बसी विभिन्न मुद्दाको सुनुवाइ सुरु गरेका छन्। जबरा भने गोला प्रक्रियाबाट पेसी व्यवस्थापन सुरु भएपछि मुद्दा हेरेका छैनन्।
उच्च अदालत र जिल्ला अदालतमा माघ २ गतेदेखि गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन हुने सर्वोच्चले जनाएको छ। सर्वोच्च अदालत, बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले २ घण्टाको धर्नापछि मुद्दाको सुुनुवाइ हुने बताए। ‘मध्यान्ह १२ बजेपछि कानुन व्यवसायीको धर्ना सकिन्छ। त्यसपछि जबराबाहेकको बेन्च बस्छ,’ उनले भने, ‘प्रधानन्यायाधीशको बर्हिगमन नभएसम्म आन्दोलन रोकिँदैन।’ उनले गत कात्तिक २९ गते विज्ञप्ति जारी गर्दै न्यायपालिकाको एकै परिवारभित्र रहेका समस्याको हल गर्न संवादको मार्ग रोज्न आह्वान गरेका थिए।
त्यस्तै, जबरा दिनहुँ अदालत आइरहेको तर, मुद्दा नहेरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए। ‘प्रधानन्यायाधीश आफैंले मुद्दा हेर्नुभएको छैन। अन्य न्यायाधीश ज्यूहरूले मुद्दाको सुनुवाइ गरिरहनुभएको छ।’ नेपाल बार एसोसिएसनले गोला प्रक्रिया र इजलासमा सहभागी नहुन जबरालाई आग्रह गर्दै आएको छ। अन्य न्यायाधीशहरू पनि जबरासँग बेन्च सेयर गर्न अनिच्छुक छन्। जसले गर्दा उनलाई इजलासमा सहभागी भई मुद्दाको सुनुवाइ गर्न सकस परिरहेको छ।
सर्वोच्च अदालत अहिले दुर्भाग्यपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउँछन्, पूर्वमहान्यायाधीवक्ता बद्रीबहादुर कार्की। ‘इमानको शपथ लिएको व्यक्तिमा निष्ठा र इमान्दारिता नदेखिए सबैभन्दा पहिले राजीनामा नै मागिने हो,’ उनले भने, ‘समस्याको निकास दिन प्रधानन्यायाधीश जबरा असफल भएकाले राजनीतिक दलले निकास दिने अपेक्षा छ।’
प्रतिक्रिया दिनुहोस !