४ वर्षसम्म खुलेन सत्यतथ्य

४ वर्षसम्म खुलेन सत्यतथ्य

भोजपुर : २०७४ असार १२ गते अरुण गाउँपालिका–३ प्याउलीको मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको पोखरीमा ३ बालबालिका मृत भेटिएका थिए। तर, उक्त रहस्यमय घटनाको ४ वर्ष बितिसक्दा पनि दोषी अझै पत्ता लाग्न सकेको छैन। न्याय नपाउँदा पीडित परिवारको बिचल्ली भएको छ। असार १० गते साँझ ८ वर्षीय प्रदीप फुयाँल, १४ वर्षीया सुष्मा फुयाँल र १५ वर्षीय रञ्जित सापकोटा हराएका थिए।

अहिलेसम्म पनि न्याय नपाएपछि प्रदीपका बुवा चेतनाथ फुयाँल र उनकी पत्नी निर्मला गाउँबाट विस्थापित भइसकेका छन्। उनीहरू २०७४ असोजमा घरगोठमा ताल्चा र खेतबारी त्यसै छाडेर इटहरीको हलगडा झरे। ‘न्यायको आश गर्दागर्दै सास जाने भयो। गाउँमा बसे अझै कति कष्ट भोग्नुपर्ने हो। मनै अड्याउन गाह्रो भयो अनि तराई झरेँ,’ चेतनाथले भने, ‘मृत्यु कसरी भयो भन्ने पनि रिपोर्टसमेत दिएनन्। न कतैबाट न सहयोग न न्याय नै पाएँ।’ चेतनाथ बिहानबेलुकीको छाक टार्न र कान्छी छोरी पढाउन एक फर्निचरमा ज्यामी काम गर्छन्। 

त्यसैगरी घटनामा आफ्नो कान्छो छोरो रञ्जित गुमाएका मरेङडाँडाकै अर्का पीडित रवीन्द्र सापकोटाले राज्यले आश्वासन मात्र देखाएर झनै पीडा थपिदिएको सुनाउँछन्। तत्कालीन भोजपुरका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले न्यायको पहल गरिरहने बताए पनि अहिलेसम्म अन्य कुनै पक्षले वास्ता नगरेको उनको गुनासो छ।

न्याय र राहतको नाममा आश्वासन मात्र
न्यायको आशमा पीडित परिवार २०७४ भदौ तेस्रो साता शीतलनिवासस्थित राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन गृहमन्त्री जनार्दन शर्माको कक्षसम्म पुगे। त्यसबेला गृहमन्त्री शर्माले मृतक बालबालिकाको परिवारलाई काजकिरियाका लागि सरकारले जनही साढे ३ लाख दिने घोषणा गरेका थिए। तर, उनीहरूले त्यो रकम पाएनन्।

न्याय र राहतको प्रतीक्षामा बसेका पीडित परिवारले पटक–पटक सम्बन्धित निकायमा विन्ती बिसाए पनि बेवास्ता गरिएको रवीन्द्रको गुनासो छ। उनले भने, ‘सरकारले आश्वासन त दियो तर न राहत आयो न न्यायको कुनै बाटो नै खुल्यो, आशैआशमा मारे।’

प्रहरी अझै अनुसन्धानमै 
जिल्ला प्रहरी भोजपुरका डीएसपी राजकुमार राईले मृतक ३ बालबालिकाको मिसिलहरूका आधारमा ६५ जनाको कल डिटेल, सोधपुछ, ३ वटा लेखापढी गरिएको बताएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बालबालिकाको मृत्यु पानी डुबेर भएको पोस्टमार्टम रिपोर्ट निकालेको थियो। रिपोर्टपछि थप ल्याब टेस्टका लागि घटनास्थलको पोखरीको पानी र मृतक बच्चाहरूको श्वासनलीमा अड्किएको पानीका कण ब्युरोमा पठाइएको डीएसपी राईले बताए। 

घटनाको अनुसन्धान गर्न तत्कालीन अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तरकुमार कार्की र तत्कालीन भोजपुरका डीएसपी काजीकुमार आचार्य नेतृत्वको संयुक्त टोली खटे पनि प्रमाण जुटाउन सकेन। पछि २०७४ साउन १३ गते  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन डीएसपी दधिराम न्यौपानेको नेतृत्वमा स्थलगत अनुसन्धान टोली पनि आयो। उक्त टोलीले पनि कुनै प्रमाण फेला पार्न सकेन। पीडित परिवारसँग न्याय दिलाउने प्रतिबद्धता दिएका जनप्रतिनिधि पनि मौन देखिएका छन्। वर्षौं बितिसक्दा पनि राज्यबाट घटनाको कुनै ठोस प्रमाण र नतिजा दिन नसकेपछि घटनाको विषयमा जनप्रतिनिधिको पनि चासो हराएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.