चल्यो रेल : प्रधानमन्त्री देउवा र मोदीले गरे नेपाल रेल्वेको उद्घाटन
नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल रेल्वेको उद्घाटन गरेका छन्। दुई देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गरिएको एक कार्यक्रममा संयुक्त रुपमा स्वीच थिचेर भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।
दुवै देशका प्रधानमन्त्रीले उद्घाटन कार्यक्रम आम जनतालाई देखाउनका लागि भारतको जयनगर र जनकपुरधाममा लाइभको व्यवस्थासमेत गरिएको छ। रेल्वेले जनकपुरधामस्थित स्टेसनमा गेट, पण्डाल निर्माण गरेको छ। उद्घाटन भएसँगै जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ।
रेल कुर्था पुगेपछि भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादवलाई चढाएर जनकपुरधामस्थित स्टेसनसम्म लैजादै छन्। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरसम्म चल्ने रेल दिनको दुई पटक गुडाइनेछ। यद्यपि शनिबार एक पटक मात्रै गुड्ने छ। त्यसपछि बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेसनमा पुग्नेछ। त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि प्रस्थान गर्नेछ। सो रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने कार्यतालिका छ।
कुर्थादेखि जयनगरसम्मका लागि जनरल बगीको ९० रुपैयाँ निर्धारण गरिएको छ भने एसीयुक्त बगीका लागि ४ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै एक स्टेसनबाट अर्को स्टेसनसम्मका लागि जनरल बगीका लागि २० रुपैयाँ एसी बगीमा १ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ। 
तस्बिर : रासस
भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–बिजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनमा आउन लागेको हो। डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत् दुवैबाट चल्ने यो दुवै विश्वमै नयाँ मोडेलका रेलको रूपमा तयार गरिएको निर्माण कम्पनी कोकर्णको दाबी छ।
डीपीसी १९०१ र डीपीसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन्। प्रतिघण्टा ११० किलोमिटरको स्पिडमा चल्न सक्ने रेल एक पटकमा १ हजार ३ सयसम्म यात्रु सवार हुन सक्नेछन्। एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउट बगीमा ७० वटा सिट रहेको छ। २० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र ४ वटा जनरल बगी छ। यो रेलले प्रतिकिलोमिटर दुई लिटर डिजेलको एभरेज दिनेछ। प्रत्येक बगीमा शौचालयको व्यवस्था गरिएको छ यसका साथै एसी बगीबाहेक अन्य जेनरेल बगीमा ठाउँठाउँमा पंखासमेत लगाइएको छ।
१९९४ मा ब्रिटिस कम्पनी सरकारले नेपालको जंगलबाट काठ ओसार्न लाइन विस्तार गरेको थियो। त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो। पछि भारत सरकारले १८ वटा बगीसहित वाष्प इन्जिन सहयोग गरेको थियो। २०५१ सालदेखि स्टिम इन्जिन युक्त रेल सञ्चालनमा आएको थियो। २०६१ माघदेखि रेल बन्द थियो। रेल्वे अहिले न्यारोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा निर्माण भइरहेको छ। परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना छ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारी भइसकेको छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम चलिरहेको छ।
दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सोलु करिडोर र डिजिटल पेमेन्ट कार्डको समेत उद्घाटन गरेका छन्।
प्रतिक्रिया दिनुहोस !