बटुकको खोजीमा ३०३ वर्ष पुरानोे विद्यालय
काठमाडौं : ‘तपाई आफ्नो सन्तान गुरुकुललाई दिनुस्, हामी असल नागरिक दिन्छौं’, देशकै जेठो राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले देशभरका अभिभावकलाई आह्वान गर्दै भनेका छन्। नयाँ शैक्षिक सत्र–०७९ का लागि विद्यालयले बटुक मागेको हो।
महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित गुरुकुलमा कक्षा आठ र नौं मा भर्ना खुलेको विद्यालयका प्रधानाध्यापक पौडेलले जानकारी दिए। ‘एक लेख, एक पुस्तक र एक बटुक दिन सबै शिक्षाप्रेमीसँग हामीले माग गरेका छौं’, उनी भन्छन्, ‘पुस्तक बटुकलाई पढाउँछौं। शिक्षासँग सम्बन्धित लेख राखेर स्मारिका प्रकाशित गछौं।’
नेपालको ३०३ वर्षे प्राचीन शैक्षिक धरोहर नेपालको पहिलो गुरुकुलमा देशैभरका बटुकहरू पढ्न आउने गरेका छन्। अहिले ६ प्रदेश, २७ जिल्लाका एक सय ५० विद्यार्थी गुरुकुलमा भविष्य खोजिरहेका छन्। यहाँ अहिले मटिहानी बाहिरका ६० जना छन्। उनीहरू स्कुलकै होस्टलमा बस्छन्।
‘पूर्ण समावेशी, मिनी नेपालको रुपमा रहेको गुरुकुल आवासीय छ’, प्रधानाध्यापक पौडेलले भने, ‘संस्कृतसँगै आधुनिक विषय नेपाली, अंग्रेजी, विज्ञान, गणित, सामाजिक शिक्षाजस्ता विषयहरू अध्यापन गराइन्छ।’ वेद, साहित्य, व्याकरण, ज्योतिष, न्यायदर्शन, कर्मकाण्ड र अनिवार्य संस्कृतजस्ता प्राचीन विषयहरू पढाइने गरेको उनले बताए। आवासीय रुपमा रहेको विद्यालयमा कक्षा आठदेखि १२ सम्मको पठनपाठन निःशुल्क गराइँदै आएको छ।
देव तथा पितृ कार्यका लागि विगत चार वर्षदेखि महर्षि फाउन्डेसनको सहयोगमा दैनिक रुद्राभिषेख गराइँदै आएको प्रधानाध्यापक पौडेलले बताए। ‘यहाँबाट कर्मकाण्डका लागि दक्ष जनशक्ति उत्पादन गरिन्छ’, उनले भने, ‘आचरण, अनुशासन र नैतिकवान जनशक्ति उत्पादनमा हामीले प्रसिद्धि कमाएका छौं।’ बालागुरु षडानन्दले यही विद्यालयमा ज्ञान आर्जन गरेर प्रसिद्धि कमाएका थिए। प्रविधिमैत्री पठनपाठन, प्राचीन पुस्तकहरूले भरिएको पुस्तकालय, अतिरिक्त क्रियाकलापजस्ता विषयमा विद्यालयले जोड दिँदै आएको छ।
निकट भविष्यमा विद्यालयले प्राविधिकधारका विषय पनि पठनपाठन गराउने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए। उनले देशैभरका अभिभावकसँग आफ्ना सन्तान गुरुकुलमा पठाउन आग्रह पनि गरे।
मंसिर पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण पश्चात् गुरुकुलको विकासमा राज्यको ध्यान पुगेको छ। देशको जेठो विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेटिएको छ। एक सय २० वर्ष पुरानो घाँघर शैलीमा निर्मित विद्यालय भवन पुनर्निर्माणका लागि मधेश प्रदेश सरकारबाट झन्डै एक करोड छुट्याएको छ।