बझाङमा भागबण्डा मिल्यो, तीन पालिकामा कांग्रेस नेताको असन्तुष्टि
![बझाङमा भागबण्डा मिल्यो, तीन पालिकामा कांग्रेस नेताको असन्तुष्टि](https://annapurnapost.prixacdn.net/media/albums/satta-gathabandan-kendra-vs-sthaniya_20220419090039_FGNRrDDWES.jpg)
बझाङ : लामो छलफलपछि सत्तारुढ गठबन्धनले बझाङमा नगर तथा गाउँपालिकाको भागबण्डा मिलाएको छ। लामो समयको छलफलपछि दलहरु सहमतिको टुङ्गोमा पुगको माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य जनक बुढाले बताए।
बैठकमा अन्तिम सहमति पत्रमा हस्ताक्षरको तयारी भइरहेको उनले बताए। सिट बाँडफाँटमा सहमति भइसकेको र हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्ने उनको भनाइ छ। २ नगरपालिका र १० गाउँपालिका रहेको बझाङमा सत्तारुढ दलहरुबी चुनावी तालमेल भएको छ।
प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसको भागमा ७ प्रमुख र ६ उपप्रमुख परेका छन्। माओवादी केन्द्रको भागमा २ प्रमुख र ४ उपप्रमुख परेका छन् भने एकीकृत समाजवादीको भागमा ३ प्रमुख र २ उपप्रमुख परेका छन्।
नेपाली कांग्रेसको भागमा दुई नगरपालिकासहित ५ गाउँपालिका परेका छन्। जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका कांग्रेसले पाएको छ। एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ। माओवादी केन्द्रले दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ।
तीन पालिकामा कांग्रेस असन्तुष्ट
यसैबीच कांग्रेसले तीन पालिकामा असन्तुष्टि जनाएको छ। आफूले मागेका र सहजै जित्नसक्ने आँकलन गरेका पालिका नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेको एक नेताले बताए। कांग्रेसले तल्कोट गाउँपालिका, थलारा गाउँपालिका र दुर्गाथली गाउँपालिका आफूले पाउनुपर्ने माग राख्दै आएको थियो।
गठबन्धनका कारण आफ्नो किल्ला भत्किएको अर्को पार्टीलाई भोट दिनुपर्ने अवस्था आएको भन्दै कांग्रेस नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)