गठबन्धनलाई धक्का : 'एस'का मकवानपुर जिल्ला अध्यक्षको राजीनामा
हेटौंडा : स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरुमा गुट, फुट र विद्रोहको चर्चा चलिरहँदा मकवानपुरबाट एक पार्टीका अध्यक्षले राजीनामा दिएका छन्। नेकपा (एकीकृत समाजवादी), मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिएका हुन्।
अध्यक्ष पोखरेलसहित जिल्ला सचिवालय सदस्य उत्तम न्यौपाने, बिरेन्द्र डिसी र अरु पालिका स्तरका नेताहरुले समेत पार्टी परित्याग गरेका छन्। अध्यक्ष पोख्रेल र जिल्ला सचिवालय सदस्य उत्तम न्यौपाने, बिरेन्द्र डिसीसहित तीन दर्जन नेताहरुले बुधबार पार्टी परित्याग गरेका हुन्।
एक विज्ञप्ति जारी गर्दै पार्टी त्याग गरेको जानकारी गराएका अध्यक्ष पोखरेलले अहिले तत्काल अरु पार्टीमा नजाने र स्वतन्त्र रहने समेत घोषणा गरेका छन्। पोखरेलले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदम चित्त नबुझेको हुँदा उक्त कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी उनले पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
पार्टी परित्यागको जानकारी सहित लेखिएको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनको नाममा जे जसरी अँध्यारो कोठामा बसेर षड्यन्त्र भयो, एउटा निर्वाचित निकायलाई भोलि भ्रष्टाचारको अखडा बनाउने नियतप्रति असहमति जनाउँदै यसको विरोधसहित पार्टी परित्याग गरेको छु।’ ८ महिना आगाडि एमालेबाट भएको बिद्रोह केवल कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्तिको महत्वकांक्षा, पद प्रतिको चरम इच्छा र सोच मात्र नरहोस् भन्ने आफ्नो इच्छा रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
हाल निर्माण भएको गठबन्धनले पार्टी निर्माण गर्न नसक्ने अध्यक्ष पोखरेलको ठहर छ। निर्वाचन पश्चात् देशव्यापी रुपमा पार्टी कमजोर हुने हुँदा नेपालको कम्युनिष्ट आन्दोलन समेत क्षत-विक्षत हुने दाबी गर्दै उनले पार्टीबाट अलग भएको जानकारी गराएका हुन्।
सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि मनहरी, राक्सीराङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको भन्दै पार्टी त्यागेको बताए। परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बाइपास गरिएको भन्दै पार्टी परित्याग गरेको उनले बताए। पोखरेल र डीसी नेकपा एमाले विभाजन भएपछि नेकपा (एस)मा आबद्ध भएका थिए।
विज्ञप्तिमा जे भनिएपनि स्थानीय तह निर्वाचनमा पार्टीबाट टिकट नपाएकोले पार्टी त्याग गरेको हुनसक्ने आशंका गरिएको छ। अध्यक्ष पोखरेल हेटौंडा उपमहानगरपालिकाको मेयर पदका आकांक्षी थिए, भने डिसीले पनि पार्टीमा आकर्षक अवसर पाउने आश गरेका थिए। टिकट बाँडफाँट र इच्छाएको पदमा अरुको उम्मेदवारी दर्तासँगै उनीहरु पार्टीबाट अलग हुने चर्चा चलेको थियो। दुबैले तत्काल कुनै पनि पार्टीमा नजाने समेत बताएका छन्।