चुनावमा स्वास्थ्य सतर्कता

नेपालमा स्थानीय तहको निर्वाचनले हरेक कार्यकर्ता, जनप्रतिनिधि मात्र नभई सचेत मतदातामा समेत सरगर्मी चढिसकेको छ। यसै पनि वैशाख–जेठको मौसम, गर्मी नै छ। जलवायु परिवर्तन, जनसंख्या वृद्धि, वातावरण प्रदूषण, बाक्लो बस्ती तथा फोहोरमैलाका कारण तराई क्षेत्रमा निकै गर्मी छ। पहाडी भूभागमा पनि गर्मीले समस्या उत्पन्न गर्दैछ। बाह्रैमहिना सिरक ओढ्नुपर्ने काठमाडौंमा समेत अहिले गर्मी निकै बढेको छ। घामको पोलाइले घमौरा आई सताउँछ तथा पसिनाले शरीरलाई दुर्गन्धित बनाउँछ।
बढ्दो गर्मीसँगै जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यतिकै समस्या छ। त्यसैमा सरसफाइको कमी, बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानी व्यहोरा, सडेगलेका फलफूल, जथाभावी खाना र पानीमा ध्यान नदिँदा रोगहरूले आक्रमण नगर्ने कुरै भएन। टाइफाइड, झाडापखाला, भाइरल फ्लु, पेटको दुखाइ, रुघाखोकी, बान्ता हुने, जन्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा हुने, चिलाउने, धागोजस्ता चिरा आउने, एलर्जिक कन्जङटाइभाइटिस तथा आँखाको संक्रमणका बिरामीहरू बढिरहेका छन्। सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या तथा लु बढ्दै छ। गर्मी मौसममा टाउको दुख्ने, आलस्य हुने, बान्ता आउने, पानीको मात्रा कम हुने, बिरामी पर्ने आदि सम्भावना बढी हुन्छ।
गर्मी मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन्। गर्मी मौसममा धेरैजसो रोग फोहोर खाना र पानीबाट लाग्ने भएकाले पाचन प्रणालीमा असर पुर्याउँछ। गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हो। विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, गह्रौं पचाउन नसकिने खाद्य पदार्थ प्रमुखतः चिल्लोले ‘फुड प्वाइजनिङ’ हुने हुन्छ। पटक–पटक तीन पटकभन्दा बढी पातलो दिसा हुनुलाई झाडापखाला भनिन्छ। बान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ।
स्मरण रहोस्, रोग हाम्रो शत्रु हो । सावधानीको जरुरत पर्छ।
झिंगा, संक्रमित माटो र फोहोर हातले खानेकुरा बनाउँदा टाइफाइड रोग सर्न सक्छ। यसमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षणका साथ। बढी देखिने अर्को रोग आउँ हो। आउँ परेको बेलामा बिरामीलाई पटकपटक पातलो चिप्लो दिसासँगै रगत लाग्छ। ज्वरो आउने तथा पेट दुख्ने हुन्छ। बिरामीको दिसामा रगत मिसिएको सेतोमासी देखा पर्छ। पखाला, झाडा बान्ता, आउँ, टाइफाइड, हैजामा जति पानी खेर जान्छ त्यति नै पानी र लवण दिनु पर्छ।
अधिक पसिना आउने, बालबालिकालाई घमौरा आउने तथा ठूला मानिसमा समेत छालामा विभिन्न प्रकारका संक्रमण तथा समस्या देखा पर्छन्। बालबालिकामा घमौरा आउने बढी नै देखिन्छ। त्यसैमा बाक्ला कपडा लगाएर गुम्साउने चलनले पसिना आउने ग्रन्थीहरू थुनिन्छ। अनि घमौरा धेरै आई, बढ्दै जान्छ र पाक्छ। शरीरबाट पसिना बढी निस्कँदा तर सरसफाइमा ध्यान नदिँदा, गुम्सिँदा, धुँवाधुँलो टाँसिएर डण्डीफोर र फंगस संक्रमण हुन्छ। छालाबाट चिल्लो बढी निस्कन्छ। घाम कडा हुने भएकाले अल्ट्राभाइलेट ए र बी किरणले छाला चिलाउने र डढाउने गर्छ।
लु अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्छ। जसले लु लाग्न सक्छ। लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको कम हुन जान्छ। जसले समस्या उत्पन्न हुने र अंगहरूले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने, सिर्जित नकारात्मक असर हुन्छ। लुबाट बच्न पर्याप्त पानी पिउनुपर्छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा निस्कनु हुँदैन। निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्छ। पानीको बोतल साथैमा राखी पटकपटक पिउनु पर्छ। कडा घाममा नशालु पदार्थ सेवन गर्नु हुँदैन। गर्मीमा तराईमा लामखुट्टे धेरै लाग्छन्। जसले उच्च र तीव्र ज्वरो हुने डेंगु, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ। सेन्डफ्लाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने र कालाजर लगाउने हुन्छ। लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ। जसका लागि जुनसुकै उमेर र वर्गका मानिस पनि स्वास्थ्यप्रति सचेत हुनुपर्छ। भोजनमा सतर्कता, सफा शुद्ध वा पोटासियम परम्याग्नेटले धोएको खाना खानुपर्छ। जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुने गरी खाना खानु हुँदैन। स्मरण रहोस्, रोग हाम्रो शत्रु हो । सावधानीको जरुरत पर्छ।
प्रतिक्रिया दिनुहोस !
