रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेस विजयी
![रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेस विजयी](https://annapurnapost.prixacdn.net/media/albums/Bhab-bahadru-ra-Premkumari_20220516112009_oJUcp51K5v.jpg)
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन्।
कांग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिए।
भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो। अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी केन्द्रकी मिना बिकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत पाएका छन्।
आठ वटा वडा रहेको रघुगंगाको पाँच वटा वडा कांग्रेस र तीन वटा वडामा एमालेका उमेद्वार प्यानल सहित विजयी भएका छन्। रघुगंगा–१ बेगमा कांग्रेसका बिलबहादुर फगामी, २ भगवतिमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा कांग्रेसका पविन गर्बुजा, ५ झिँमा कांग्रेसका मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा (रिम) र ८ कुइनेमंगलेमा कांग्रेसका गमान छन्त्याल वडा अध्यक्षमा निर्वाचित भएका छन्।
१३ हजार ९४७ जना मतदाता रहेको रघुगंगा गाउँपालिकामा ६५ प्रतिशत अथवा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचित हुने ४२ पदका लागि १३५ जना उमेद्वार प्रतिस्पर्धामा उत्रिएका थिए। म्याग्दीको ६ वटा मध्य दुई वटा स्थानीय तह र ३० वटा वडाको मतगणना सकिएको छ।
मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित हुनुभएको छ। मतपरिणाम सार्वजनिक भएका ३० वटा वडा मध्य एमालेले १३, कांग्रेसले १२ र माओवादीले ४ वटा वडामा जित हाँसिल गरेका छन्। अव १५ वटा वडा र चार वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)