एमालेले जितेको धनुषाको विदेह नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवारको यस्तो हार्दिकता
जनकपुरधाम : धनुषाको विदेह नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेबाट मेयर पदका उम्मेदवार बेचन दास र उपमेयरमा आशा देवी झा निर्वाचित भएका हुन्।
एमालेका दासले ४ हजार ४१२ मत ल्याए विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का राजकिशोर यादव (रोहिता)ले ३ हजार ४२६ मत प्राप्त गरे।
यसैगरी एमालेबाट आशादेवी झाले ४ हजार ६५९ मत प्राप्त गरेर विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी सञ्जना अधिकारीले २ हजार ८२७ मत पाइन्।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा दास नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। एमाले र माओवादीको एकतासँगै बनेको नेकपाबाट दुई पार्टी अलग हुँदा दासले एमाले रोजेका थिए।
निर्वाचित मेयर दास र उपमेयर झालाई पराजित एकीकृत समाजवादीका यादव र अधिकारीले फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए। केन्द्रमा दुई पार्टीबीच कटुता भए पनि स्थानीय तहमा भने हार्दिकता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !