मिथिला बिहारी नगरपालिका मेयर उम्मेदवार मण्डलको घरमा चोरी
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका मेयर उम्मेदवारको घरमा चोरी भएको छ। नेकपा माओवादी केन्द्रबाट मेयर उम्मेदवार रहेका सूर्यनारायण मण्डलको घरमा लुटपाट भएको हो।
मण्डलको जनकपुरधाम उप–महानगरपालिका वडा नं. ८ स्थित नमूना बस्तिको घरमा रात्रिकालिन समयमा चोरी भएको हो। मण्डलको घरमा रहेको दराज, बाक्सको ताल्चा सहितका सामग्री फुटाएर नगदसहित गरगहना लगेको पीडित परिवारले जनाएको छ। घरमा कोही नभएको मौका छोपेर चोरहरुले मुख्यद्वार र ढोकाहरुको ताल्चा फुटाई चोरी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मण्डलको घरबाट कानमा लाउने गहना, सुनको हार, मंगलसुत्र, पायल, कानको टप, सुनको सिक्री र नगदसहित १५ लाख बराबरको सामग्री चोरेको लगेको छिमेकी आफन्त देवनारायण मण्डलले जानकारी दिए। मण्डल निर्वाचनको समयमा चुनावी मैदानमा ओर्लिएपछि स–परिवार गाउँ गएको बेलामा भएको चोरीको सुक्ष्म अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
मिथिला विहारीमा माओवादी केन्द्रबाट मेयरमा मण्डलले २ हजार ७ सय ५४ मत ल्याएर शीर्ष स्थानमा छन्। उनको निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्र यादवले २ हजार ६४६ मत ल्याएर पछ्याइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !