कृषिले फर्काएको सन्तानका खुसी
‘हाम्रो भोगाइको लेख मात्र होइन किताबै बन्न सक्छ’, कुराकानीको सुरुमै सूर्योदय नगरपालिका—११ का रूपनारायण आचार्यले भने, ‘हाम्रा पालामा पढ्नलाई अहिलेजस्तो वातावरण कहाँ थियो र ?’ विद्यालयको औपचारिक शिक्षा सुरु गर्दा उनी ९ वर्षका थिए। नजिकैको भवानी आधारभूत विद्यालयमा भर्ना भएका उनले ३ कक्षा माथि औपचारिक शिक्षा लिने अवसर नै पाएनन्।
विद्यालय गएकै दिनदेखि रूपनारायणलाई बाबु कृष्णलाल आचार्यले भैंसीलाई दैनिक पानी खुवाउने जिम्मेवारी सुम्पेका थिए। १ बजेको खाजा खाने छुट्टीमा उनी विद्यालयमै किताब छोडेर भैंसीलाई पानी खुवाउन जान्थे। पानी खान फुकाएका भैंसी गोठमा फर्कन मान्दैनथिए। त्यसैले उनको १ बजे पछिको पढाइ छुट्थ्यो। ‘विद्यालयबाट भागे शिक्षकको पिटाइ, भैंसी नचराए बाबुको पिटाइ खानुपथ्र्यो’, अतीत सम्झँदै उनले भने।
घरमा त अध्ययनको वातावरण पाएनन्, पाएनन्। १४ वर्षको उमेरमा उनलाई आफन्तको साथ लगाएर आसाम पठाइयो। त्यहाँ उनले कृषिमा काम गर्नु पथ्र्यो। पढाइको कुनै अवसर प्राप्त भएन। १५ वर्ष जति आसाममा बसेर घर फर्केपछि उनले वैवाहिक जीवन सुरु गरे। दुई छोरालाई उनले आफूले भोगेको पीडाको अनुभूति गर्न दिएनन्। स्नातक तहसम्मको अध्ययन गरेपछि दुवै छोरा राम्रो कमाइ हुने काममा लागेका छन्।
झापा र इलाममा दन्त क्लिनिक चलाएका आचार्यका जेठा छोरा नवीनले भने, ‘बाबु आमाले वातावरण दिएकैले गरिखाने बाटो देखियो। खेती किसानीमा आमा बुवा नघोटिनु भएको भए हामीले आफ्नो बाटो बनाउने अवसर पाउने थिएनौं।’
परीक्षाको दिन एक घण्टा लामो बेसी खेतमा एक मेलो काम सकेर स्कुल गएको अनुभव बोकेका माघेकै मुक्तिनाथ आचार्यले पनि कडा मेहनत गरेर चार सन्तानलाई उच्च शिक्षा दिलाए। घरायसी श्रममा लाग्नु परेको कारण आचार्य द्वयको जस्तो कथा बोकेकाहरूले गाईपालन र व्यावसायिक तरकारी खेती गरेर नै आफ्ना छोराछोरीलाई शिक्षा दिए।
मुक्तिनाथले सुनाए, ‘हाम्रो पालामा काम गरेर बचेको समय पढाइलाई हुन्थ्यो, हाम्रा छोराछोरीका पालामा पढेर रहेको समयमा घरको काम सघाउनमा हुन थाल्यो। यो नै दुई पुस्ताबीचको सबैभन्दा ठूलो परिवर्तन हो।’
मुक्तिनाथ सम्झन्छन्, ‘त्यतिबेला पढाइ प्राथमिकतामा थिएन। गरेर खाने कुरामा सबैको ध्यान थियो।’ जो खेती गर्छ त्यही गतिलो भन्ने मनोविज्ञान भएको समाजमा आचार्य परिवारका दुई सदस्यले मात्र होइन उनीहरूको उमेरका सबैको प्राथमिकता गाईपालन र खेतीपाती नै थियो।
इलाम नगरपालिका—४ मलातेका विष्णुप्रसाद दुलालले पनि सोचेजस्तो अध्ययनको अवसर पाएनन्। ठूलो परिवारको बोझले उनले सजिलोसँग आफ्नो अध्ययन अघि बढाउन नपाए पनि छोरालाई भने कम्प्युटर साइन्स पढाए। डेरी उद्योगमा घोटिएर कमाएको पैसा पहिले सन्ततिको शिक्षामा खन्याएका दुलाल अहिले छोराको आम्दानी देखेर रमाइरहेका छन्। ‘आफूले पढ्न नपाएपछि त्यसको महŒव अझै बढ्दो रहेछ’, दुलालले भने।
विद्यालय तहको पढाइ सकेपछि छोराले ओभरसियर पढ्न रहर गरेको थाहा पाएर उनले भारतको बैंगलारमा ओभरसियर पढाए। पछि छोरा विकासको रोजाइ सूचना प्रविधि बन्यो र उच्च अध्ययनका लागि उनी अस्ट्रेलिया गए। साढे तीन वर्षदेखि उनी त्यहीँ अध्ययनरत छन्।
धीत मरुन्जेल अध्ययन गर्ने अवसर नपाएका दुलालले छोराका लागि भने शैक्षिक वातावरण बनाउने प्रयास गरिरहे। बाबु डिल्लीप्रसाद छोराछोरीले पढुन् भन्ने चाहन्थे। उतिबेला १४ जना छोराछोरीसहितको जम्बो परिवारमा हातमुख जोर्नकै समस्या थियो। प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनले पढाइको लागि कामबाट बचेको समय मात्रै उपयोग गरेका थिए। उनी सुनाउँदै थिए, ‘डेढ घण्टा हिँडेर महेन्द्र रत्न बहुमुखी क्याम्पस जान्थेँ, गाडी चढ्नै पैसा थिएन। चौथो पिरियड छोडेर पुवा खोला बजारमा केटाकेटीलाई ट्युसन पढाउथेँ।’
पेट भर्न पनि समस्या थियो त्यतिबेला। ५४ वर्षीय दुलाल अहिले त्यही दुःख छोराको भागमा नपरोस् भनेर सचेत छन्। ‘घरमा खाना थिएन। बोहोनी गर्नुपर्ने थियो। सुठुनी, इस्कुस, पिँडालु आदि खाएर छाक टार्ने अवस्था थियो’, दुलालले आफ्नो उमेरको व्यथा सुनाए।
‘१९ जनाको परिवार थियो। भाउजू र बुहारीले तेस्रो पटक पकाएर खाने गरेका थिए। फलफूलले पेट भरेर रहेको खानाले चित्त बुझाउनुपर्ने दैनिकी नै बनेको थियो’, दुलालले भने, ‘सानो छ भनेर काम नगर्ने त कुरै आउँदैन थियो। उनलाई घरका आफूभन्दा ठूलाले जेठ र असारमा फर्सी र स्कुसको मुन्टा खाएर सुतेको सम्झना छ।’
दुलालको अवस्था अहिले त्यस्तो छैन। परिवारबाट छुट्टिएर घरमै दूध प्रशोधन उद्योग सुरु गरेपछि अहिले सुखका दिन आएका छन्। रसुवामा पर्यटकको भारी बोकेर गुजारा चलाउने तुलु तामाङ २७ वर्षपहिले इलाम आए। यती डेरीका सञ्चालकले कतै पहाड चढ्दै गर्दा तामाङलाई चीज कारखानामा कामदारको रूपमा काम गर्न प्रस्ताव राखे। जीवन चलाउन गाह्रो भएका उनलाई त्यो प्रस्ताव अवसर जस्तै लाग्यो। उनकै पछि लागेर इलामको पशुपतिनगरमा रहेको यती डेरीमा २०५२ सालदेखि काम सुरु गरे। उनले सुनाए, ‘एक्लै कमाउन आएको, मसँग केही थिएन।’
खासै लेखपढ नगरेका उनलाई रसुवाको यार्सा—९ ले मेहनत गर्न सिकाएको रहेछ। जहाँ उनी जन्मे र आफ्नै माटोमा पौठेजोरी खेल्न सिके। उनले भने, ‘चार, पाँच दिन स्कुल गएको छु।’ सूर्योदय नगरपालिका—३ तिनखुट्टे आएपछि १४ वर्ष यती डेरीमै बिताए। त्यहीँ सुखदुःख भोगे। मेहनत गरे। धेरै कुरा सिक्ने मौका पनि पाए। यती डेरी बन्द भयो। त्यति बेलासम्ममा उनले घरजम गरिसकेका थिए।
व्यावसायिक कृषिले प्राथमिकता पाएपछि विद्यालय छोड्ने विद्यार्थीको संख्या घटेको फिक्कल माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगा महतले बताए।
यती डेरीले चीज उत्पादन गर्ने गरेको थियो। काम गर्ने उद्योग बन्द भएपछि २०६६ सालमा लक्की डेरीको सुरुवात गरे। सुरुमा चीज कारखाना चलाउने भन्दै आफ्नो उद्योगमा दूध बेच्न प्रस्ताव गर्दा स्थानीय किसानले उनलाई पत्याएनन्। स्थानीय सुन्दरपानी दूध सहकारीलाई फकाएर ४० लिटर दूध खरिद गरेर उनले तीन किलो चीज बनाए। त्यो दिन नै तामाङको जीवनको ठूलो घुम्ती सावित भयो। सानो भाँडामा दूध तताएर चीज बनाएको सम्झना अहिले पनि आलै रहेछ। भन्दै थिए, ‘त्यसबेला विश्वास जित्नै गाह्रो थियो।’ उनले छिमेकीसँग पकाउने भाँडो मागेर ल्याएका थिए। त्यो भाँडो उनले केही पछि फर्काइदिएका थिए।
अहिले अवस्था परिर्वतन भएको छ। उनको कारखानामा दूध बिक्री गर्ने किसानले दैनिक ५५ रुपैयाँभन्दा माथि दाम पाउँछन्। तुलुको कारखानामा दैनिक तीन हजार लिटर दूध जम्मा हुने गरेको छ। उनको कारखानामा मासिक कारोबार ४० लाखभन्दा माथि हुने गरेको छ।
कक्षा १२ सम्मको अध्ययन सकेर छोरा वाङ्चु तामाङ कारखानामै सहयोग गर्दैछन्। वाणिज्य विषय अध्ययन गरेका वाङ्चुले अब कारखानाको काम रेखदेख गर्दै अध्ययनलाई अघि बढाउने योजना बनाएका छन्। शून्य लगानीमा सुरु गरेका उनले काम गरेको एक महिना पछि मात्रै ४० हजारको क्रिम सेप्रेटर मेसिन जोडेका थिए। अहिले उनीसँग १ करोड ५० लाखभन्दा माथिको सामग्री कारखानामै छ। उनले नेपालमै पहिलो पटक खुर्सानी, टिम्मुर, धुवाँलगायतको ‘फ्लेवर’मा चीज उत्पादन गर्दै आएका छन्। ‘छोराले जहाँ पढ्न चाहन्छ त्यहाँ पढाउन सक्छु तर मेरो श्रम हेरेर अध्ययन गरोस् भन्ने चाहना छ’, तामाङले सुनाए।
सन्दकपुर गाउँपालिका—४ शेर्पा गाउँ सोतीबारीका बालकृष्ण गुरुङले अभाव र गरिबीसँग जुध्दै कक्षा १० सम्मको अध्ययन गरे। त्यसपछि उनी पढाइलाई रोकेर घरबारको काममा लागे। २०५२ सालदेखि उनलाई छुर्पी बनाउने रहर लाग्यो। उनले सुनाए, ‘टोलङमा मही पारेर घिउ बनाउने, ढुंगाले किचेर छुर्पी बनाउने काम सुरु गरियो।’ घरमा भएका तीन माउ गाईको दैनिक १० लिटर दूधको छुर्पी बनाउन सुरु गरे। व्यवसायबाट सामान्य फाइदा हुन थाल्यो। उनी व्यवसायलाई वृद्धि गर्न थाले। बालकृष्ण कृषि फर्मको स्थापना गरेर व्यवसायलाई उनले व्यवस्थित गर्दै गए। दूध प्रशोधनका लागि सामग्री खरिद गरेपछि समय मात्रै बचत भएन आम्दानीमा समेत वृद्धि भएको उनको अनुभव छ।
अहिले उनी आफ्नै फर्ममा दैनिक ७० लिटर दूध उत्पादन गर्ने गरेका छन् भने स्थानीय कृषकबाट ८० लिटर दूध खरिद गर्ने गरेका छन्। फार्मबाट वार्षिक तीन लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए। यही उद्यमले उनको आर्थिक अवस्था सुधार हुँदै गयो। एक छोरा दुई छोरीको पठनपाठनका लागि व्यवसायको कमाइले साथ दियो। पढाउन समस्या भएन। छोरा युवराज गुरुङ, छोरीहरू अञ्जना र अनुशा गुरुङलाई स्नातकसम्मको अध्ययन गराए। गुरुङले भने, ‘अहिले उनीहरू आफैं केही गर्ने अवस्थामा पुगेका छन्, यो सबै व्यवसायको देन हो।’ गुरुङ आफूले जस्तै छोराछोरीले घरको काममा घोटिनु नपरोस् भन्नेमा सचेत थिए। त्यसैले छोराछोरीलाई घर बाहिर राखेर पढ्ने वातावरण बनाए। ‘दुःख गरेर भए पनि छोराछोरीलाई गुनासो गर्ने अवसर दिइनँ’, उनले भने।
एक लाख रुपैयाँको काठ काट्ने मेसिन र चिया टिप्ने मेसिन ४० हजारमा खरिद गरेर व्यवसायमा निस्केका सूर्योदय नगरपालिका केराबारीका सुरेन राईले सोचे जति पढ्न नपाए पनि छोरालाई भने निजी विद्यालयमा पढाइ रहेका छन्। आफूले कक्षा १० सम्म अध्ययन गरे पनि सन्तानलाई राम्रो शिक्षा दिन उनलाई कृषिमा भित्रिएका साना मेसिनले साथ दिएको छ। केराबारी गाउँमा कृषिका मेसिन चलाएर छोराछोरीको भविष्य उजिल्याउने युवा प्रशस्त रहेको स्थानीय रमेश राई बताउँछन्। उनीहरू मेसिन चलाएर दैनिक २ हजार ५ सयसम्म कमाउँछन्।
व्यावसायिक कृषिले प्राथमिकता पाएपछि विद्यालय छोड्ने विद्यार्थीको संख्या घटेको फिक्कल माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगा महतले बताए। उनका अनुसार १७—१८ वर्ष उमेरका पाँच प्रतिशत विद्यार्थीले कक्षा १२ अध्ययन पछि विद्यालय छोड्ने गरेका छन्। अघिल्लो पाँच वर्षको तुलनामा यो न्यून संख्या हो। उनले भने, ‘व्यावहारिक समस्याकै कारण विद्यालय छोड्नेको संख्या थोरै छ।’
करफोक माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद आचार्यका अनुसार तल्ला कक्षामा भन्दा पनि कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीले विद्यालय छोड्ने गरेका छन्। उनका अनुसार गत वर्ष कक्षा १० का तीन जना विद्यार्थीले विद्यालय छोडे। त्यही वर्ष कक्षा ११ पढेका १० जना विद्यार्थी कक्षा १२ मा भर्ना नै भएनन्। कक्षा १२ मा भर्ना भएका ६० जना विद्यार्थीमध्ये ४० जनाले मात्रै परीक्षामा भाग लिए। उनले भने, ‘पहिलेको तुलनामा विद्यालय छोड्नेको सख्या न्यून नै हो, व्यावसायिक कृषिमा परिवार लागेकाले पनि तल्लो तहमा भने घरको काम गरेर विद्यालय छोड्ने विद्यार्थी छैनन्
भने पनि हुन्छ।’
अभिभावकमा बढ्दो चेतना र कृषिमा आएको साना यान्त्रीकरण प्रयोगको कारण सुध्रिएको आर्थिक अवस्थाले बालश्रमको प्रयोग घटेको बाल अधिकारको क्षेत्रमा कार्यरत मानव अधिकार मञ्चका कर्मचारी भक्त थामी बताउँछन्। उनका अनुसार इलाममा प्रत्यक्ष रूपमा श्रम गरेर जीवन चलाउने बालबालिका अहिले भेटिँदैनन्। यसको मुख्य कारण कृषि कर्ममा देखिएको व्यावसायिकता नै हो।
प्रतिक्रिया दिनुहोस !