झस्काइरहने बाँदरमुढे

झस्काइरहने बाँदरमुढे

चितवन : एउटा कहालीलाग्दो घटना। ३९ जनाको घटनास्थलमै ज्यान गयो। पछि ६ जनाले ज्यान गुमाए। ७२ जना घाइते भए। त्यही बसका यात्रु थिए, देवेन्द्रपुरका ५० वर्षीय कृष्ण अधिकारी। जेठ २३ गते उनका लागि कालो दिन हो। 

जुन दिन सार्वजनिक बसमा चढेका सेनालाई लक्षित गरेर तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले माडीको बाँदरमुढे खोलामा एम्बुस थापेको थियो। यो घटना सम्झँदा अधिकारी झस्कन्छन्। त्यसबेला लागेको घाउभन्दा बढी न्यायका लागि लड्दा पाएको दुःखले उनलाई बढी पीडा दिएको छ। चाहेर पनि बिर्सन सकेका छैनन्। 

विस्फोटको घटनाले सधैं झस्काउँछ। घटना भएको १७ वर्ष पूरा हुँदा पनि उनी थाकेका छैनन्। त्यसबेलादेखिको न्यायको उनको लडाइँ अझै जारी छ।  घटनामा उनी आजसम्म पनि एकोहोरो लागिपरेका छन्। 

‘हामी युद्धमा संलग्न नभएकै मान्छे विस्फोटमा पर्‍यौं। यसको दोषी खै ?,’ उनले भने, ‘हामीले घटनालाई अतिरञ्जित बनाउन चाहेका छैनौं। हाम्रो लडाइँ न्यायसँग हो। प्रचलित कानुनमा टेकेर अदालतले अन्तर्राष्ट्रिय मापदण्डमा टेकेर निर्णय भएको दिनबाटै लडाइँ सकिन्छ।’

बाँदरमुढे पीडितका लागि राज्यस्तरबाट खासै सम्बोधन नभएको गुनासो गरेका छन्। घटना पीडितहरू औषधि उपचारबाट वञ्चित छन्। कतिपयले अझै पनि मानसिक रोगको औषधि सेवन गर्दै आएका छन्। बाँदरमुुढे घटनाको कुरा गर्दा माडी–९ राइटोलकी विष्णुुमाया विक रिसाउँछिन्। घटनाबारे कसैले उनलाई सोधे पनि आक्रोश र पीडाले सताउँछ। घटनाले दिएभन्दा न्याय र राहतको घाउले बढी पीडा दिन्छ, उनलाई। ‘आफू थला परेको छुु परिवार कसरी हेर्ने थाहा छैन। आश्वासनले नपालिने रै’छ,’ उनले भनिन्, ‘आफू बलियो भए अरूको आस गर्नुुपर्थेन होला। घटनाको कुरा झिक्यो कि रिस उठ्छ। कसैले केही गर्ने होइनन्। खाली आश्वासन मात्रै दिन्छन्। 

पोखरामा माइती भेट्न जाँदा  जान लाग्दा १३ महिनाकी छोरीसहित विष्णुुमाया बाँदरमुुढे घटनामा परेकी थिइन्। न्यायोजित लडाइँसँगै परिपूरर्णको माग गरेका छन्। सत्य निरुपण आयोगमार्फत समाधान हुनुपर्ने माग छ। बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १६ वर्ष हुँदा पनि द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन्। 

मानवअधिकारकर्मी सुशील प्याकुरेल भन्छन्, ‘सार्वजनिक यातायातमा नियोजित ढंगले धेरै तयारी गरेर नियोजित ढंगबाट विस्फोट गराइयो। कसले गरेको हो भन्ने थाहा छ। तर, यत्रो अपराधमा उसलाई केही हुन नपर्ने ? राज्यले दायित्व पूरा नगर्दा जनताले न्याय खोजिरहेका हुन्। हाम्रो संविधान हाम्रो कानुनअनुसार व्यवहार हुनुपर्‍यो नि।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा सदस्यको उम्मेद्वार हुँदा केही पीडित परिवारसँग लिखित ३ बुँदे सहमति गरेका थिए। एकता गरेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि सँगै थिए। घटनामा ज्यान गुमाउने परिवारमध्येका काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाको पठनपाठनको व्यवस्था सम्झौतामा उल्लेख छ। 

बाँदरमुढे घटनास्थलमा मृतकको सम्झनामा १० बिघा जग्गामा स्मारक, चिडियाखाना, नमुना संग्रहालय बनाउने सहमति गरेर दाहालले पीडितको माग सम्बोधन भएको बताएका थिए। तर, उक्त सहमति अहिलेसम्म कार्यान्वयन भएको छैन।मानवअधिकारकर्मी कनकमणी दिक्षित भन्छन्, त्यो घटना बारुदी सुरुङबाट भएको होइन बसलाई देखेर बटन दबाएर मारेको हो। यत्रो घटनामा आफन्त छिमेकी पर्दा स्थानीय नेताहरूको बोली सुनिएन। 

ना.१ ख ३२४५ नम्बरको बस २०६२ जेठ २३ गते बगईबाट हिँडेको बस ३ घण्टापछि बिहान पौने ८ बजे बाँदरमुढे खोलामा बिस्फोट भएको हो। बसमा १२० जना यात्रु थिए। घटनास्थलमा स्मारक छ। हरेक वर्ष मृतकको सम्झनामा दीप प्रज्वलन गर्छन् अनि फर्किन्छन्। न्यायको आस मरेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.