वेल्स ६४ वर्षपछि विश्वकपमा
कार्डिफ : युद्धग्रस्त युक्रेनलाई स्तब्ध बनाउँदै वेल्स एसियाली राष्ट्र कतारमा यही वर्ष आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ। युरोपेली छनोटअन्तर्गत प्लेअफको फाइनलमा युक्रेनलाई १–० गोलले पराजित गर्दै वेल्स दोस्रो पटक विश्वकपमा छनोट भएको हो।
कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बनेको थियो। खेलको ३४औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरेका थिए। वेल्सका गारेथ बेलको फ्रिकिकलाई बचाउने क्रममा यार्मोलेन्कोले आफ्नै पोस्ट्मा गोल गरेका थिए।
खेलमा घरेलु टोलीलाई दबाबमा राखे पनि युक्रेनले वेल्सको बलियो रक्षापंक्तिलाई तोड्न नसक्दा हार स्विकार्न बाध्य भयो। रसियासँगको युद्धबाट गुज्रिरहेको युक्रेनले अघिल्लो साता भएको प्लेअफको सेमिफाइनलमा स्कटल्यान्डलाई ३–१ गोलले पराजित गर्दै प्लेअफको फाइनलमा स्थान बनाएको थियो। युक्रेनले फाइनलमा त्यही नतिजा दोहोर्याउन नसक्दा विश्वकपमा छनोट हुन सकेन। कार्डिफमा युक्रेनका एक सय जना समर्थकलाई वेल्स फुटबल संघले निशुल्क खेल हेर्ने अवसर उपलब्ध गराएको थियो। उनीहरूले आफ्नो राष्ट्रका लागि खेलको अन्तिमसम्म हुटिङ गरेका थिए।
वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो। सन् १९५८ पछि वेल्सले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको हो। यही वर्ष हुने विश्वकपमा वेल्स समूह ‘बी’ मा रहनेछ। यस समूहमा इङ्ल्यान्ड, अमेरिका र इरान छन्।