महिला उच्च प्रहरीअधिकृत सम्मानित
काठमाडौं : नेपाल प्रहरीको उच्च ओहोदामा पुग्ने महिला प्रहरी अधिकारीलाई माइती नेपालले शुक्रबार सम्मान गरेको छ। माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र संस्थाका कार्यकारी निर्देशक विश्व खड्काले सम्मान गरेका हुन्।
सम्मानित हुनेमा अतिरिक्त प्रहरी महानिरीक्षक पूजा सिंह, प्रहरी नायव महानिरीक्षक मीरा चौधरी, किरण बज्राचार्य, किरण राना र दुर्गा सिंह छन्।कार्यक्रममा अध्यक्ष कोइरालाले महिलालाई राजनीति वा अन्य क्षेत्रमा सधैं उपपदमा मात्रै सीमित गर्ने क्रमलाई परिवर्तन गरेर प्रमुख पदमा पुर्याउने विषयमा पहल गरिनुपर्ने बताइन्।
प्रहरी संगठनमा महिला प्रहरीको सहभागितामा क्रमशः वृद्धि हुँदै गएको बताउँदै अतिरिक्त प्रहरी महानिरीक्षक सिंहले आज महिलाको सहभागिता र सक्रियताबिना नेपाल प्रहरी मात्र नभई कुनै पनि निकायको कल्पनासमेत गर्न नसकिने बताइन्।
आफूहरूले पदोन्नति हुने अवसर पाएको भनेको लैंगिक समानताका लागि मात्र भएको भन्न नमिल्ने उनले बताइन्। यो अवसर आफ्नो ज्ञान, सीप, दक्षता र विशिष्ठ क्षमताका
लागि पाएको बताइन्।
यो सहभागिता भोलिका दिनमा क्रमशः अझै वृद्धि हुँदै जाने विश्वास उनले गरिन्। नेपाल प्रहरीभित्र महिला सहभागिता कसरी वृद्धि गर्ने र उनीहरूको जिम्मेवारीको दायरालाई कसरी फराकिलो बनाउने भन्नेमा सबैले रचनात्मक भूमिका खेल्नुपर्ने बताइन्।
कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिला संगठित भएर एक अर्काको आधार बनेर अगाडि बढ्नुका साथै आफ्नो क्षमतालाई अझै धार लगाउँदै जानुपर्ने विचार व्यक्त गरिन्।
त्यसैगरी एबीसी नेपालकी संस्थापक अध्यक्ष दुर्गा घिमिरेले यो सम्मान नेपाली महिलाको रहेको र महिला अधिकारको आन्दोलनका कारण सफल भएको बताइन्।
राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले राज्य संरचनाको हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित भएको र महिलाले आफ्ना एजेन्डालाई आगामी दिनमा अझै बलियो बनाएर अघि बढ्नुपर्ने जनाइन्।