हाम्रो पासपोर्ट किन कमजोर ?
नेपाल जान टिकटका बारेमा नजिकका ट्राभल एजेन्ट मित्रसँग कुरा गरें। अहिले रसिया–युक्रेन युद्धले हवाई यातायातमा निकै असर परेको छ। त्यसैले पहिले जस्तै सिधै नेपाल जाने टिकटमा समस्या छ। यी जानकारी गराउँदै उनले अन्य दुई–तीन वटा युरोपेली मुलुकको ट्रान्जिट हँुदै नेपाल जानुपर्ने बताए। सो क्रममा कति देशले नेपाली पासपोर्टलाई ट्रान्जिट दिने तर कतिमा भिसा लगाउनु पर्ने बाध्यता देखाउनु भयो। यदि ब्रिटिस पासपोर्ट छ भने कुनै समस्या हुँदैन। नेपालको पासपोर्टलाई चाहिँ किन यस्तो ? कुनै दिन भर्खरै ब्रिटिस पासपोर्ट लिएका (नेपाली मूल) मित्रले सुनाएका थिए। दुईपटक टर्की घुम्न गएँ। दुवै भ्रमणको अनुभव कत्ति फरक छ, पहिले जाँदा टर्कीको एयरपोर्टमा अनेक सोधखोज र झन्झट व्यहोरें। बाहिर निस्किन पनि अनेकौं प्रश्नको जवाफ दिनु पर्यो। दोस्रोपटक जाँदा अचम्म ! कुनै रोकटोक छैन, सिधै पासपोर्टमा ढ्याप्प छाप लगाइदियो। सोधेको थिएँ, किन त्यस्तो फरक नि ? तब उनको सिधा जवाफ थियो– पहिले नेपाली पासपोर्ट पछि ब्रिटिस पासपोर्ट। आखिर के छ त्यस्तो पासपोर्टमा ?
लन्डनस्थित हेन्ली एन्ड पार्टनर्स कम्पनीले केही समयअघि गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक सर्वेक्षणमा संसारका १ सय ९९ देशका पासपोर्टको पहँुचको स्तर निर्धारण गरेको थियो। कुनै देशका नागरिकलाई आफ्नो पासपोर्टमा कुनै पनि मुलुकमा भ्रमण गर्न बिनाभिसा वा अनअराइभल भिसा दिने मुलुकको संख्याको आधारमा सर्वेक्षण गरिएको थियो। ती देशका पासपोर्टको सर्वेक्षणमा जापान सबैभन्दा माथि छ। १ सय ९३ मुलुकमा उसको देशका नागरिक बिनाभिसा भ्रमण गर्न पाउँछन्। संसारका केही नगन्य मुलुकमा मात्रै जापानी नागरिकले पहिल्यै भिसा लिएर भ्रमण गर्नुपर्ने अवस्था छ। सुरुको तीनवटा शीर्ष स्थानमा एसियाली मुलुकका पासपोर्ट पर्छन्– पहिलो जापान, दोस्रो सिंगापुर अनि तेस्रो दक्षिण कोरिया। त्यसपछि भने सबैजसो युरोपियन मुलुकका पासपोर्ट पर्छन्।
नेपालभन्दा कमजोर देशका पासपोर्ट बलियोको सूचीमा छन्। अब नेपाल सरकार र सरोकारवाला पक्षले नेपाली पासपोर्ट कमजोर हुनुका कारण खोज्नैपर्छ। साथै कारणको निदान पनि।
अर्को एसियाली मुलुक नेपाल भने १ सय ९९ मुलुकमा पुछारबाट आठौं स्थानमा छ, जुन देशको पासपोर्टले जम्मा ३८ वटा देशमा (१४ देशमा बिनाभिसा र २४ देशमा अनअराइभल भिसा) मात्रै बिनाभिसा इन्ट्री पाउँछ। नेपालभन्दा कमजोर पासपोर्ट भएका मुलुक थोरै छन्। अझ सौभाग्य भनौं वा दुर्भाग्य– धन्न वर्षौंदेखि युद्धले ग्रस्त अफगानिस्तान, सिरिया, प्यालेस्टाइन, सोमालिया, इराक, यमनजस्ता राष्ट्र छन्। ती मुलुक युद्धको चपेटाबाट बाहिर आएका भए हामीभन्दा माथि जाने देखिन्छ। दुई दशकअघि मात्रै पोर्चुगल र इन्डोनेसियाबाट करिब पाँच सय बर्ष उपनिवेश भएर स्वतन्त्रता भएको देश हो, टिमोर लेस्टे। त्यतिबेला नेपालका निजामती कर्मचारी, प्रहरी अनि सेना गएर स्वतन्त्र देश हुन मद्दत पुर्याएका थिए लेस्टेलाई। जुन देश नेपालभन्दा माथि ६०औं स्थानमा रहेर ९४ देशमा बिनाभिसा इन्ट्री गर्न पाउँछ। युद्धले तहसनहस अफ्रिकी देश सियरा लियोन, जहाँ नेपाली सेना र प्रहरीले यूएनअन्तर्गत रहेर त्यो देशमा शान्ति स्थापना कार्य गर्यो। भर्खरै तंगिँ्रदै गरेको त्यो देशका नागरिकले पनि बिनाभिसा ६४ देशमा इन्ट्री गर्न पाउँछन्। नेपाली पासपोर्टले भने जम्मा ३८ वटा देशमा मात्रै बिनाभिसा इन्ट्री गर्न पाउँछ। अब प्रश्न उठ्छ– हाम्रो पासपोर्ट किन यति कमजोर ?
नेपालको प्रतिनिधिसभामा नागरिकता विधेयक गत साता पास भयो। गैरआवासीय नेपालीलाई ससर्त नियन्त्रित अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ। विदेशमा बस्ने नेपाली जो त्यस देशको नागरिकता प्राप्त गरेका छन्, उनीहरूलाई नै लक्षित गरेर सो नागरिकताको व्यवस्था गरेको देखिन्छ। अमेरिका, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्डजस्ता शक्तिशाली पासपोर्ट भएका मुलुकमा रहने नेपाली यसमा पर्छन्। गैरआवासीय नेपालीले वर्षौंदेखि निरन्तर स्वदेशको नागरिकता गुमाउन नपरोस् भनेर माग गरे पनि सरकार र राजनीतिक पार्टीहरूले भने त्योभन्दा फरक व्यवस्था गरे। स्वदेशको पासपोर्टको हैसियत कमजोर हँुदा पनि बलियो देशका पासपोर्टधारी गैरआवासीय नेपालीलाई जन्मसिद्ध नेपाली नागरिकता अर्थात् नेपाली पासपोर्टबाट बन्चित गरेको देखिन्छ। आफ्नो देशको पासपोर्टको स्तरको यो हविगतलाई नेतृत्वले कत्तिको मनन् गरेको छ त ?
गजबलाग्दो कुरो के भने संसारभरबाट एक्लिएको वर्षौंदेखि नाकाबन्दी झेलेका उत्तरकोरियाको पासपोर्ट नेपालभन्दा माथि छ। बिनाभिसा ४० देशमा सिधै इन्ट्री गर्न पाउँछ यसले। मानवाधिकार हनन व्यापक भएको म्यान्मार होस् वा वर्षौंदेखिको भोकमरी, अनिकाल पीडित देश इथियोपिया (४६ देशमा), सुडानबाट छुट्टिएको देश साउथ सुडान (४४ देशमा) होस् वा अहिले टाट पल्टिन लागेको देश भनेर चर्चामा रहेको श्रीलंका (४२ देशमा) को पासपोर्ट, सबै नेपालभन्दा शक्तिशाली छन्। सोचनीय कुरा उनीहरू त्यस्तो अवस्थामा पनि यो स्तर अनि नेपालको पासपोर्ट चाहिँ किन यत्ति धेरै कमजोर ?
तब अन्य धेरै प्रश्न उठ्छन्– पासपोर्ट कति शक्तिशाली भनेर छुट्ट्याउने आधार के ? नेपाली पासपोर्टलाई किन विश्वास गर्न नसकेको होला ? के सरकारले यो कुरालाई नोटिसमा लिएको छ ? परदेशमा रहेका गैरआवासीय नेपालीबीच एउटा सोचाइले जबर्जस्त स्थान बनाएको छ, ‘व्यक्तिको प्रगति अथवा इज्जत बढेर मात्रै केही हँुदैन रहेछ, जबसम्म हरियो (नेपाली) पासपोर्टको इज्जत बढ्दैन।’ स्पेनबाट बेलायत फर्कन लाग्दा इमिग्रेसन अफिसर प्रतिप्रश्न गरिरहेको थियो– हातमा हरियो (नेपाली) पासपोर्ट थियो। उनले सिसाको सानो सूक्ष्मदर्शक यन्त्रजस्तो मेसिन राखेर भिसाको पेज निकै नजिकबाट चेक गरे। केही समयपछि उसले ढ्याप्प छाप लगाएर इन्ट्री गरिदियो। एकदमै दुःख लाग्यो, हरियो पासपोर्टप्रतिको अचाक्ली व्यवहार देखेर।
अर्को दृष्टान्त सम्झन्छु– सन् २०११ अक्टोबरमा नेपाल जाँदै गर्दा कतारको ट्रान्जिट पर्यो। त्यत्रा यात्रुमा एकजना भारतीय लाग्ने कतार एयरवेजका स्टाफले प्लेनभित्र छिर्न लाइन लागेका नेपाली प्यासेन्जरलाई हिन्दी भाषामा ‘तुम’ को लवजमा तल्लो स्तर थर्काए। सहन नसकेर बीचमा बोल्न खोज्दा सँगै गएका नेपाल प्रहरीका पूर्वअधिकृत साथीले रोके। त्यसबखत निरीह तवरले उभिइरहेका ती यात्रुलाई हेरें। हातमा हरियो पासपोर्ट खेलाइरहेका थिए। लाग्यो– हरियो पासपोर्टलाई गाली गरिरहेका छन्। भलै त्यही दिन नेपालका राष्ट्रपति डा. रामवरण यादव कतारको औपचारिक भ्रमणमा रातो कार्पेट टेक्दै कतारीहरूको सम्मान ग्रहण गर्दै थिए।
हरियो पासपोर्टलाई प्रत्येक विमानस्थलमा बडो सतर्कताका साथ हेरेको अनुभव हुन्छ। लाइन बसेका अन्य देशका यात्रु अगाडि पुगिसक्दा पनि अफिसरले नेपाली पासपोर्टलाई ओल्टाइपल्टाइ गरिरहेका हुन्छन्। त्यस भ्रमणमा नेपाल प्रहरीका पूर्वअधिकृत साथी र म सँगै थियौं। त्यो हिथ्रो एयरपोर्टको सेक्युरिटी पार गर्दै उहाँ छिरिहाल्नु भो, मलाई थप सोधपुछ गर्यो। बढी समय लाग्यो। उहाँले जिस्काउनुभयो, ‘त्यही भएर रातो (ब्रिटिस) पासपोर्ट चाहिन्छ।’ भनें, ‘यो तपार्इंको देश, मेरो देशमा पुगेपछि हेर्नु होला।’ नेपाल पुग्यौं, इमिग्रेसनको स्वदेशी लामो लाइनमा उभिरहेको थिएँ। साथी त अघि नै इमिग्रेसन पार गरेर हाँस्दै मलाई नै पर्खिबस्नु भएको रहेछ। अचम्म, नेपालमा पनि विदेशी पासपोर्ट चाहिँ फटाफट ?
आखिर किन त ? विदेशमा खेल्न हिँडेका खेलाडी खेलबीचमै हराउने, तालिम वा अध्ययनमा आएका कर्मचारी उतै हराउने, सांस्कृतिक कार्यक्रमका लागि टोली लिएर विदेश आउने, आधा फर्किने, आधा यतै अल्मलिने कारणले हुन सक्छ, नेपाली पासपोर्ट यति कमजोर भएको। एउटाको नामको पासपोर्टमा फोटो अर्काको राखेर उड्नेजस्ता घटना परिघटनाले त हरियो पासपोर्टको यो गति भएको होइन ? वास्तवमा पासपोर्ट भनेको एउटा सामान्य ‘ट्राभल डकुमेन्ट’ हो। खाली नियमनका लागि प्रत्येक देशले निश्चित नियम र सर्त पूरा गरेर अन्य देशका नागरिकलाई आफ्नो देश जान÷आउन सहज बनाएको न हो। आखिर हाम्रो देशको पासपोर्ट किन यति धेरै कमजोर भएको होला त ?
सन् २००७ तिर १ सय ६ स्थानमा रहेको हालको नेपाली पासपोर्ट ७८औं स्थानमा थियो। अहिले नेपालको भन्दा बलियो पासपोर्ट दरिएकामध्ये उत्तर कोरिया, इथियोपिया, क्याम्बोडिया, इरान आदि त्यसबखत नेपालभन्दा कमजोर पासपोर्ट भएको मुलुकमा पर्थे। अहिले ती बलियो भए। जति बढी मुलुकले बिनाभिसा आफ्नो मुलुकमा इन्ट्री गर्न दिन्छ, त्यति नै त्यो देशको पासपोर्ट बलियो मानिन्छ। त्यसको लागि त्यो देशको आर्थिक उन्नति, जनताको जीवनस्तर, विश्वसनीयताजस्ता कुराले फरक पार्छ सायद। सन्दर्भ उल्टो पनि देखिएको छ अरू देशको हेर्दा। त्यसैले पनि सरकार र सरोकारवाला पक्षले नेपाली पासपोर्ट कमजोर हुनुको कारण खोजि गर्नु आवश्यक छ साथै कारणको निदान पनि।
इतिहासको अध्ययन गर्दा करिब एक सय वर्ष अगाडि कुनै दिन यही देशको पासपोर्ट बोकेर गत महिना मात्रै राष्ट्रिय विभूति घोषणा भएका राजा जयपृथ्वीबहादुर सिंह ३१औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथिको रूपमा निम्ता पाएर अमेरिका पुगेका थिए। त्यो समयमा उनी त्यहाँ पुग्ने एक्ला नेपाली हुन्, सम्भवतः पहिलो नेपाली। त्यसैगरी उनै सिंह राणा सरकारको अवरोधको बाबजुद नेपाली भएरै सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म करिब साढे ५ महिना युरोपमा मानवतावादबारे चर्चा गर्न निम्तो पाएर सम्पूर्ण युरोप भ्रमण गरे। तर एक सय वर्ष पछाडि हाम्रो पासपोर्टको यस्तो हविगत किन ?
दक्षिण कोरियासम्बद्ध प्रसंग उल्लेख गर्न उपयुक्त लाग्यो– ६० को दशकमा नेपाल र दक्षिण कोरियाको आर्थिक हैसियत उस्तै थियो। कोरिया युद्धबाट पिल्सिएका धेरै कोरियाली खानीमा काम गर्न जर्मनीतिर लागे। यसै सिलसिलामा दक्षिण कोरियाली राष्ट्रपति पार्क चुङ हि सन् १९६४ डिसेम्बर १० मा जर्मनीको औपचारिक भ्रमणमा जाँदा त्यहाँ रहेका कोरियालीले जर्मनीको दुइसबर्गमा राष्ट्रपतिलाई स्वागत गरे। त्यतिबेला रुँदै सोधेका थिए रे, ‘हाम्रो देश पनि यस्तै विकसित कहिले हुने ? अनि हाम्रो स्तर पनि कहिले बढ्ने ?’ त्यतिखेर तत्कालीन राष्ट्रपति र फस्र्ट लेडी (उहाँकी श्रीमती) युक योङ सु भक्कानिएर रोएका थिए रे, त्यसपछि उनले चाँडै म देशको अवस्थामा सुधार ल्याउनेछु र कोरियाको स्तर अरू विश्वको दाँजोमा पुर्याउँछु भनेर प्रण गरेका थिए रे। सन् ६० को दशकमा सँगै रहेको दक्षिण कोरिया अहिले कहाँ पुगिसक्यो ? के हाम्रा देशका राष्ट्रप्रमुख अनि सरकार प्रमुख र फस्र्ट लेडी र अन्य सरोकारवाला मन्त्री र अधिकारीहरूले दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति पार्क चुङ हि र फस्र्ट लेडी युक योङ सु ले जसरी परदेशमा मजदुरी गर्ने आफ्ना देशका जनतासँगै भक्कानिएर नेपाललाई पनि बाँकी विश्वकै स्तरमा पुर्याउँछु भनेर प्रतिबद्धता जनाउन सक्लान् ?
- श्रेष्ठ बेलायतको ह्याम्प्सायर पुलिस कास्टेबुलरीका सल्लाहकार हुन्।