बाम गठबन्धन नबन्दासम्म मुलुकले निकास पाउँदैन : उपाध्यक्ष शाक्य
बेसीसहर : नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन नबन्दासम्म मुलुकले निकास नपाउने बताएकी छन्।
नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर बामपंथी सरकार निर्माण गर्नुपर्ने बताइन्। उनले अब कम्युनिस्ट पार्टीको नाममा स-सना पसल थापिरहँदा बामपन्थी सरकार नबन्ने र मुलुकले गति पनि लिन नसक्ने बताइन्।
'यो सरकार रहँदासम्म देशमा भ्रष्टाचार रोकिन्न, महङ्गी घट्दैन, न त सम्वृद्वी नै आउँछ', शाक्यले भनिन्, 'हेर्नुहोस त एमसीसी पास गरेर अमेरिकी सेना भित्राउँदैछन। यो सिधै चाइनामाथि धावा बोल्न हो।'
मुलुकमा संघीयता सही ढङ्गले सञ्चालन गर्न नसक्दा व्यवस्था माथिनै प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता ब्यक्त गरिन। उनले भनिन, 'हिजो सबैले देशलाई संघीयतामा लैजाउँ भनेर संविधानमै सात प्रदेशको व्यवस्था गरियो। तर अहिले व्यस्थापन गतिलो नगरेर व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी भैरहेको छ, यो कार्य गलत छ। संघीयता सही ढंगले सञ्चालन गर्नसके नागरिकले विकास र सम्वृद्धि छिटो पाउनेछन।' उनले हिजोका दिनमा प्रदेश सरकार राम्रोसँग सञ्चालन गरेको र प्रदेशलाइ बलियो बनाउन संघसंग निरन्तर लडिरहेको भन्दै उपहासचिव एंव गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको प्रशंसा गरिन्।
उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आगामी चुनावमा बामपन्थी शक्ति एक हुन नसकेपनि गठबन्धन विरुद्ध एमाले एक्लै लड्न उच्च मनोवलका साथ तयार हुनुपर्ने बताए। उनले गण्डकी प्रदेशमा अहिलेपनि एमाले पहिलो शक्तिको रूपमा रहेको बताउँदै आगामी चुनावमा अझ बलियो बनेर आउनुपर्ने बताए। उनले पुँजीवादको अवशेषको रूपमा रहेको कांग्रेसको पछि लागेका कम्युनिस्ट पार्टीहरू समाजवादी बन्न नसक्ने आरोप लगाए। उनले अब छिट्टै एमालेबाट अन्यपार्टीमा लागेका, माओवादी, समाजवादीमा रहेकाहरूलाई पार्टीमा भित्र्याउने बताए।
नेता गुरूङले स्थानीय चुनावमा पार्टीभित्र केही अन्तर्घात भएको बताउँदै उनीहरूलाई आगामी चुनावपछि कारबाही गरिने बताए।
प्रतिक्रिया दिनुहोस !