राडुकानुलाई झड्का

राडुकानुलाई झड्का

ओन्टारियो : अमेरिकी (यूएस) ओपन टेनिसको उपाधि रक्षाको अभियानमा रहेकी बेलायतकी नम्बर एक टेनिस स्टार इम्मा राडुकानुले अर्को झड्का बेहोरेकी छन्। यूएस ओपन टेनिसको तयारीका लागि क्यानेडियन ओपनमा प्रतिस्पर्धा गरेकी राडुकानु पहिलो खेलमा पराजित भएकी हुन्। 

नवौं वरीयताकी राडुकानु २६औं वरीयताकी इटालीकी क्यामिला जियोर्गीसँग ७–६(७–०)६–२ ले स्तब्ध बनेकी हुन्। जियोर्गी नेसनल बैंक (क्यानेडियन) ओपनको साविक विजेता पनि हुन्। राडुकानुले दोस्रो सेटको सुरुवातमा अग्रता लिए पनि जियोर्गीसँग उनको केही लागेन।

 ‘इमान्दारिताका साथ भन्नुपर्दा यो निकै उत्कृष्ट खेल थियो’, राडुकानुले भनेकी छन्, ‘म तीव्र गतिमा खेल्ने खेलाडीहरूसँग खेल्न चाहन्छु। किनभने उनीहरूसँग खेल्दा मेरो खेल पनि भिन्न किसिमको हुन्छ।’ राडुकानु गत साता वासिङ्टन ओपनको क्वार्टरफाइनलमा पुगेकी थिइन्।  

उनी रसियन टेनिस सुन्दरी लुडमिला सामसोनोभासँग पराजित भएकी थिइन्। यूएस ओपन यही अगष्ट २९ बाट अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ। गत वर्ष अविश्वनीय प्रदर्शन गर्दै उनले उपाधि जितेकी थिइन्। 
वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपनमा उत्कृष्ट प्रदर्शन गर्ने अभियानमा राडुकानु छिन्। ‘वासिङ्टन डिसीमा खेल्दा र जित आत्मसाथ गर्दा निकै खुसी महसुस हुन्छ’, उनले भनेकी छन्, ‘विम्बल्डनलगायत केही प्रतियोगिता खेल्न पाइनँ। यसले गर्दा यूएस ओपनको उपाधि रक्षा गर्न ममाथि दबाब बढेको छ।’ 

महिला एकल टेनिसको ग्रान्डस्लाम जित्ने बेलायतको ४४ वर्ष लामो प्रतिक्षा समाप्त गर्दै राडुकानुले गत वर्ष यूएस ओपनको उपाधि जितेकी थिइन्। सन् १९७७ मा भर्जिनिया वेडले विम्बल्डन जितेपछि बेलायतका कुनेै पनि महिला खेलाडीले ग्रान्डस्लामको उपाधि जित्न नसकेको अवस्थामा उनले त्यो खडेरी तोडेकी थिइन्। 

छनोट खेलाडीका रुपमा यूएस ओपनमा प्रवेश पाएकी राडुकानु ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी समेत बनेकी थिइन्। सन् २००४ पछि ग्रान्डस्लाम जित्ने राडुकानु सबैभन्दा कान्छी खेलाडी पनि हुन्। सन् २००४ मा रुसी टेनिस सुन्दरी मारिया सारापोभाले विम्बल्डन जित्दै ग्रान्डस्लाम जित्ने सबैभन्दा कान्छी खेलाडीको कीर्तिमान बनाएकी थिइन्। राडुकानुले १८ वर्षको उमेरमा पहिलो ग्रान्डस्लाम जितेकी हुन्। 

राडुकानुको जन्म क्यानडामा भएको थियो। उनको परिवार रोमानियाको बुकारेस्टबाट क्यानडा पुगेको थियो। उनी दुई वर्षको मात्रै हुँदा उनको परिवार बेलायत बसाइँ सरेको थियो।  उनीसँग अहिले पनि क्यानडा र बेलायतको नागरिकता छ। राडुकानु रोमानियाकै पूर्व विश्व नम्बर एक सिमोना हालेपको खेलबाट प्रभावित भएर टेनिसमा होमिएकी हुन्। उनले पाँच वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.