माओवादी केन्द्रका महासचिव देव गुरूङ लमजुङबाट सिफारिस
बेंसीसहर : नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ पुनः प्रतिनिधि सभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिस भएका छन्।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो। उनी २०७४ को निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
२०६३ को अन्तरिम संसदबाट संसदीय राजनीति यात्रा सुरु गरेका गुरुङ २०६४ को पहिलो संविधानसभा चुनावमा कास्की-१ र मनाङबाट निर्वाचित भएका थिए। २०६९ सालमा मोहन बैद्य (किरण) सँगै तत्कालीन एकीकृत माओवादीबाट बाहिरिएका गुरुङले २०७० सालको दोस्रो संविधानसभा चुनाव बहिस्कार गरे।
२०७३ मा पुनः माओवादी केन्द्रमा फर्किएका गुरुङ २०७४ को निर्वाचनमा लमजुङबाट बाम गठबन्धनबाट निर्वाचित भएका थिए।
यसपटक पनि उनी गठबन्धनबाटै चुनावमा होमिन लागेका छन्। अघिल्लो चुनाव एमालेसँगको गठबन्धनमा लडेका गुरुङले यसपटक कांग्रेससँग मिलेर लड्दैछन्।
उनी सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलमा भएकाले गठबन्धनबाट उनले नै टिकट पाउने लगभग निश्चित छ।
गठबन्धनबाट उम्मेदवार भएमा उनले नेकपा एमालेका केन्द्रीय सदस्य एंव संविधानसभा सदस्य जमीन्द्रमान घलेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। घले नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्।
मओवादी केन्द्रले गुरुङसँगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस भएको छ। उनी २०७० मा माओवादी केन्द्र र २०७४ मा नयाँ शक्तिबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए।
समानुपातिकमा गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ, उर्मिला माझी र ऋषिराम पौडेलको नाम सिफारिस भएको छ। प्रदेशसभा (क) को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङ, हरिजङ तामाङ, मेखबहादुर भण्डारी र होमबहादुर विकको नाम सिफारिस भएको छ।
प्रदेश (ख) मा केन्द्रीय सदस्य बिमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ।
प्रदेश सभामा समानुपातिकमा जनजाति महिलामा सतिमाया तामाङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसंख्यकमा नन्दबहादुर कुमाल, दलित महिलामा जुना विक, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ, अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस भएको छ।
प्रतिक्रिया दिनुहोस !