दसैंमा नेपथ्यको ‘नैनताल’ कोसेली
काठमाडौं : २०औं शताब्दीलाई सर्वाधिक प्रभाव पार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकु रणमैदानको अग्रभागमा खटिए। घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दै गर्दा उनीहरू रंगीबिरंगी सपनाहरूको संसार बनाउने काम पनि गर्थे। भय र सपनाबीचको यो कल्पनाबाटै अनगिन्ती गीतहरू पनि जन्माएका थिए। त्यस्ता लडाकु युद्धभूमिबाट फर्किएर आउँदा अनुभव र पैसा बोकेर मात्र आएनन्, राम्रा गीतहरू पनि नेपाली समाजलाई कोसेली ल्याइदिए। ती कोसेलीमध्येकै एउटा सिर्जना हो नेपथ्यको कान्छो प्रस्तुति नैनताल।
‘नैनताल... नैनताल घुमिआयो रेल
बुलबुलेमा तेल... नैनताल’
आम प्रचलनमा त्यति नआएको ‘नैनताल’ लाहुरेहरूले भारतको ‘नैनीताल’लाई दिएको नाम हो भने बुलबुले भन्नाले कपालको ‘जुल्फी’ बुझिन्छ। यस गीतलाई नेपथ्यले आफ्नो दसौं एल्बममा रेकर्ड गर्दाको क्रममा सन् २०१५ नै थियो। गीत आधिकारिक रूपमा हालसम्म सार्वजनिक नभए पनि नेपथ्यले विभिन्न मञ्चमा यसलाई प्रस्तुत गर्दै आएको छ।
आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन्। यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरूसँग भेटेका थिए। यसरी तयार भएको यो गीत पहिलोपटक लन्डन सहरको ओ टु एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो। त्यो कन्सर्ट ताका गोर्खा परम्पराको इतिहासले दुई सय वर्ष टेकेको अवसर पनि जुरेको थियो। त्यसै संयोगमा नेपथ्यले सम्पूर्ण गोर्खा सैनिक परिवारलाई समर्पित गर्दै यो गीत प्रस्तुत गरेको थियो। ‘हाम्रो लोक संस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो वर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौंदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,’ अमृत भन्छन्। यस गीतले विशेष गरेर भारतीय गोर्खा रेजिमेन्टहरूमा उतिबेला निकै लोकप्रियता आर्जन गरेको वरिष्ठ संगीतकार विक्रम गुरुङ सुनाउँछन्। लोकप्रिय आधुनिक नेपाली गीतहरूका सर्जक गुरुङ स्वयं पनि गोर्खा परिवारसँग जोडिएका व्यक्ति हुन्। ‘नैनताल गीत मैले पहिलोपटक देहरादूनमा सुनेको थिएँ,’ सन् १९६३ ताकाको सम्झना गर्दै गुरुङ भन्छन्, ‘मेरा बाबा र परिवारसँगै म ब्यारेकमै बस्थेँ। सायद म प्राथमिक विद्यालय जाने उमेरको थिएँ। त्यसैबेला सुनेको त्यो गीतका अनेक संस्मरणहरू अहिले पनि मीठो याद बनेर मेरो सम्झनामा बसेको छ।’
उनका अनुसार विभिन्न जमघट र समारोहमा यो गीत गाइँदा गोर्खा सिपाहीका भएभरका कम्पनीको आवाज र नृत्य एकसाथ देख्न पाइन्थ्यो। यसरी यो गीतले सिंगो माहोललाई जीवन्त पारिरहेको हुन्थ्यो। कुनै कुनै विशेष समारोहहरूमा यस गीतलाई फौजीले प्रयोग गर्ने न्याउली बाजा (ब्यागपाइपर) को आवाजबाट प्रस्तुत गरिएको पनि गुरुङले उतिबेला देहरादूनका ब्यारेकतिरै सुनेका थिए।
‘आज पनि कतैतिर नैनतालको धुन बज्दा मेरा पैँतालाले स्वस्फूर्त भुइँ ठोक्न थाल्छ,’ गुरुङ भन्छन्, ‘मेरो बाल्यकाललाई यसरी प्रभावित पारेको त्यो मीठो गीतलाई नेपथ्यले परिमार्जन गरी आम नेपाली श्रोतालाई सुनाउन लागेको जानकारी पाउँदा असाध्यै खुसी लागेको छ।’
यस गीतले समेटेको कालखण्ड र त्यसको आस्वादलाई जीवन्तता दिने प्रयासस्वरूप यसको रेकर्डिङ पनि पुरानै प्रविधि अर्थात् ‘वन टेक रेकर्डिङ’ मार्फत गरिएको थियो। डिजिटल रेकर्डिङ सुविधा आउनुअघिको यो प्रविधिमा गायक र वाद्यवादकले एकसाथ गाउँदागाउँदै र बजाउँदाबजाउँदै एकैपटक रेकर्ड सम्पन्न गरिन्छ। यसरी रेकर्ड गरिने गीत तुलनात्मक रूपमा कम सफा सुनिने भए पनि कृतिमतारहित अनि बढी जीवन्त हुने तर्क संगीतका पारखीहरू गर्छन्।
अमृतले यस गीतलाई पुरानै शैलीले रेकर्ड गर्ने इच्छा जाहेर गर्दा आफू आश्चर्यमा परेको यसका रेकर्डिस्ट एवं ‘साउन्ड इन्जिनियर’ इमन शाह बताउँछन्। ‘अमृत दाइ र नेपथ्यको यो सोच मेरो निम्ति अवसर र चुनौती दुवै बन्न पुग्यो,’ शाह भन्छन्, ‘ब्यान्डका सदस्य र तिनका साजहरूलाई थुप्रै माइकहरूसहित एउटै कोठामा राखेर एकैपटकमा रेकर्ड गर्नुको आफ्नै चुनौती हुन्छन्। यसको न्यूनतम आवश्यकता भनेको पूर्ण रूपमा अभ्यस्त ब्यान्ड, प्राविधिक रूपमा सम्पन्न ठूलो स्टुडियो कोठा र यस्तो कामको भावना बुझ्ने संगीतकर्मी, प्राविधिक र व्यवस्थापनको सामूहिक बुझाइ नै हो।’ अहिलेका डिजिटल प्रविधिजस्तो यसको आवाज असाध्यै सफा नहोला भन्ने शाहलाई लागेको छ। भन्छन्, ‘तर, साउन्ड इन्जिनियरका रूपमा धुनसँगै ब्यान्डका साथीहरूबीचको सामीप्यलाई समेट्न सक्नुलाई मैले उल्लेख्य ठानेको छु।’