म्याग्दीमा कांग्रेस नेताको स्वतन्त्र उमेद्वारी फिर्ता
![म्याग्दीमा कांग्रेस नेताको स्वतन्त्र उमेद्वारी फिर्ता](https://annapurnapost.prixacdn.net/media/albums/Netra-mahat_20221012132030_os6Z1AerGz.jpg)
बेनी : म्याग्दीको प्रदेश सभा क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उमेद्वारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिएका महतले गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारीलाई समर्थन गर्ने घोषणा गरे।
पार्टीका नेताहरुको प्रतिवद्धता, जिल्लाका नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुको आग्रह अनुसार उमेद्वार फिर्ता लिएर गठबन्धनको उमेद्वारलाई जिताउने अभियानमा जुट्ने महतले बताए।
पार्टीले आफ्नो त्याग र योगदानको उपेक्षा गरेको भन्दै महतले आइतबार स्वतन्त्र मनोनयन दर्ता गराएका थिए। महतको योगदानको कदर र उनको उचित सम्मान गर्ने नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबी)ले बताए।
नेपाली कांग्रेस म्याग्दीका पूर्व सहसभापति रहेका बेनपा–१ रत्नेचौरका महत म्याग्दीमा पुराना कांग्रेस नेताका रुपमा चिनिन्छन्। उनले अवसर नपाएको गुनासो गर्दै अघिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि स्वतन्त्र मनोनयन दर्ता गरेर फिर्ता लिएका थिए।
गठबन्धनका तर्फबाट म्याग्दीमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), प्रदेशसभा क्षेत्र (क) मा माओवादीका हरि भण्डारी र क्षेत्र (ख) मा माओवादीकै रेशम जुग्जाली (सुविन) उमेद्वार बनेका छन्।
एमालेबाट प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेश (क) मा देवेन्द्रबहादुर कटुवाल र (ख) मा यामबहादुर गर्बुजा उमेद्वार बनेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)